६ वैशाख २०८१ बिहीबार
अन्य

सरुवा रोगबाट यसरी बचौं

वैशाख महिनासंगै गर्मीै मौसम सुरु भएको छ । यो मौसम सरुवा रोगहरुको लागि अनुकुल मौसम पनि मानिन्छ । भाइरसदेखि जीवाणुहरु यसै मौसममा सक्रिय हुने भएकोले यो मौसममा बर्षेनी अनेकौं सरुवा रोगहरुको संक्रमण हुन्छ । नेपालको सन्दर्भमा सफाइको अभाव,जनस्वास्थ्यको सचेतनाको अभावको कारण नेपालमा अहिले पनि गर्मी मौसममा देखिने सरुवा रोगहरुको जोखिममै छ । गर्मी मौसममा सरुवा रोगको जोखिमबाट कसरी बच्ने भन्ने बिषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान बिभाग संयोजक डा.शेर बहादुर पुनसंगको संक्षिप्त कुराकानी।

 गर्मी मौसमका सरुवा रोगहरु के के हु्न्?
यो मौसममा बिभिन्न प्रकारका सरुवा रोगहरु छन् । हेपाटाइटिश अर्थात् टाइफाइड,डेंगु,स्क्रवटाइफस,काठमाडौं भ्यालीमा स्क्रवटाइफस,झाडापखला,टाइफाइड र मलेरिया,हात्तीपाइले,जापानिज इन्सुपलाइटिस,चिकनगुनियाँ,कालाजार लगायत हुन् । पत्ता नलागेका अन्य रोगहरु छन् । सवै रोग हामी कहाँ पत्ता लगाउन सक्ने अवस्था छैन । गर्मीै लाग्दै गर्दा स्क्रव टाइफस फाट्टफुट्ट देखिरहेको छ । पहाड र तराईमा देखिंदै आएको स्क्रवटाइफस यो बर्ष काठमाडौ भित्रै देखिन थालेका छन्।

 यी रोगहरु कसरी सर्छन् ?
 भाइरसस या किटाणु बिभिन्न माध्यमबाट मानिसको शरिरमा प्रवेश गरेमा यी रोगहरु सर्छन् । यी जिवाणु या भाइरस सिधै मानिसको शरिरमा प्रवेश गरेमा,लामखुट्टले टोकेमा,दुषित पानी खाएमा यी रोगहरु सर्छन् । जस्तो कि साल्मोनेला,सिजेला र कलेरा नामका जिवाणु दुषित खाना या पानीबाट मानिसमा सर्छ । साल्मोनेला टाइफी या साल्मोनेला प्याराटाइफीले टाइफाइड सार्छ।

हेपाटाइटिश ए र इ भाइरस जुन दुषित खाना या पानीमै बस्छन् यी शरिरमा प्रवेश गरेमा पनि हेपाटाइटिश सर्छ । मुसाको शरिरमा बस्ने माइटस नामक परजीविले ओरेन्टिया सुसुगामी नामक किटाणु सार्दा स्क्रवटाइफस हुन्छ । हात्तीपाइले,जापानिज इन्सुपलाइटिश,मलेरिया,डेंगु भने लामखुट्टेले सार्छन् । यही मौसममा सक्रिय हुने मौसमी फ्लु भने इन्फुलुन्जा ए वान , ए वान,इन्फुलुन्जा ए थ्रि,एच टु भाइरस हावाको माध्यमबाछ सर्छ । यी भाइरस बिरामीले छोएको या प्रयोग गरेको सामाग्री छोएमा पनि सर्छन् । चिकनगुनियाा र कालाजार तराईमा पाइने भुसुनाको टोकाइबाट सर्छ।

यी रोगहरु देशभरै सक्रिय छन् या कुनै क्षेत्रमा मात्र ?
लामखुट्टेबाट सर्ने रोगहरु मलेरिया,डेंगु,जापानिज इन्सुप्लाइटिश,हात्तीपाइले चिकनगुनियाँ,कालाजार जस्ता सरुवा रोगहरु बिगतमा तराईका जिल्लामा बढी देखिन्थे । पछिल्लो समय विश्व तापमानमा आएको परिवर्तन,बसाइ–सराइँ र सहरीकरणको कारण पछिल्लो समय पहाडतिर पनि फैलिरहेको देखिन्छ।

 यी सरुवा रोगहरुको प्रभाव सहरमा बढी कि गाउँमा ?
 यी रोगहरुले गाउँवासी भन्दा सहरवासी बढी प्रभावित हुन्छन् । गाउँमा पातलो वस्ती भएकोले एकैपटक सवैतिर सर्दैन । तर पानीको मुहानै दुषित भएको खण्डमा सवैतिर सर्न सक्छ । तर सहरमा बाग्लो बस्ती भएको कारणले सरुवा रोग फैलियो भने धेरै मानिस प्रभावित हुन्छन् । गाउँमा सर्ने सम्भावना कम हुन्छ तर उपचारको पहुँच कम भएकोले सामन्य सरुवा रोगको कारण ज्यानै जाने गरेको देखिन्छ । सहरमा जताततै अस्पताल र क्लिनिक भएकोले छिटो उपचार पाएको कारण सरुवा रोगकै कारण मृत्यु हुने सम्वभावना रहंदैन । यी रोगमा सहरवासी बढी जोखिममा छन्।

 किन बढी राजधानीवासी जोखिममा ?
 धेरै जसो सरुवा रोग दुषित पानीको कारण सर्ने हुनाले राजधानीको पानीको स्रोत पुर्ण शुद्ध नभएको कारण यहाँ सरुवा रोगको जोखिम बढी छ ।आफ्नै धाराको पानी खाएको भन्दै झाडापखाला लागेर आउँछन्,हिंजो अस्ति मात्र परिवारकै छ÷सात जना एकै पटक झाडापखाला लागेर अस्पतालमा आएका थिए ।

आजै धाराको पानी खाएर झाडापखाला भयो भनेर आएका थिए। जारको पानीमा जुन स्थापित कम्पनी छ, त्यस्तो कम्पनीबाट सिधै आएको पानीबाट जोखिम देखिन्न । कतिपय व्यापारीले जारको पानीमा नक्कली सिल गरेर पठाउने गरेको कारण जारको पानीप्रयोग गर्नेहरुमा झाडापखाला देखिन्छ । पानी सुरक्षित खान सकेमा हामी यस्ता धेरै रोगबाट बच्न सक्छौं ।काठमाडौका पानीका स्रोतहरु पुरानै संरचनामा आइरहेको र ती संरचनाहरुमा वीच–वीचमा ढल फुटेको देखिन्छ । ती ढलको पानी र केही पर खाने पानीको पाइप पनि फुटेको खण्डमा खाने पानीको पाइप दुषित बन्छ र यी रोगहरु सरेको देखिन्छ।

गर्मीै मौसमको सरुवा रोगको जोखिममा को को छन् ?
 बाहिर गएर जुन पायो त्यो पसलमा खाना खाने मजदुरहरु,जागिरेहरु,वासी खाना खानेहरु,धाराको पानी नउमालीकन पिउनेहरु,नामै नसुनेका कम्पनीको जारको पानी पिउनेहरु नै जोखिममा छन् । झाडापखाला लागेका व्यक्तिलाई भान्छामा पसे भनेपनि उनीहरुबाट यो सर्ने सम्भवाना हुन्छ । सवै खाने कुराको कुरा हो । दुषित पानी,दुािषत खायो भने यी रोग सर्ने सम्भावना बढी हुन्छ।

जारको पानी सुरक्षित भनिन्छ नि ?
 कतिपय स्थापित जारहरु सुरक्षित होलान् र तर कतिपय जारको पानी पसलेले नक्कली सिल गरेर बिक्री गर्ने देखिन्छ । जारकै पानी खाको भन्दै झाडापखाला लागेर आउनु भनेको जार सुरक्षित नहुनु हो । यस्तो अवस्थामा मुख्य पानी लिनु भन्दा पहिल्यै नै राम्रोसंग बुझ्नु पर्यो।

 यी रोगबाट कसरी बच्ने ?
सवै भन्दा पहिला आफ्नो पक्षबाटै चनाखो हुनु पर्यो । मुख्य कुरा यो मौसममा सवै भन्दा बढी दुषित खाना र पानीबाटै सर्नेै भएकोले आफै सचेत हुनु पर्यो । तर कतिपय जनताहरु पानी उमालेर खाने अवस्थाका पनि पाइएकोले सरकारले ती समुहलाई सफा पानी पुर्याउने जिम्मा सरकारले लिनु पर्छ ।

कसरी व्यवस्थापन गर्ने सरकारको दायित्व हो । राजधानीमा कुनै पनि पानी पुर्ण सुरक्षित छैनन् । जारको पानी स्थापित कम्पनी छ भने त्यस्तोले समस्या ल्याएको छैन । कसैकसैले सिधै ट्याकंरको पानी सिल गरेर घर–घर पठाएको देखिन्छ । उपभोक्तामा जारको पानी सुरक्षित छ भन्ने मानसिकता देखिन्छ । यो अवस्थामा पानी सफा हुनु पर्यो,सकेसम्म यो मौसममा उमालेरै पानी खाएको राम्रो । खाना सफा र ताजा खानु पर्यो । यी कुरा आफुले व्यवहार लागु गर्नु प¥यो । जस्तो कि हेलचेक्राइँ गरेर जथाभावी खाने कुरा खानु भएन।

सरुवा रोगहरुको समयमै उपचार भएनन् भने ?
 हामी कहाँ झाडापखाला , पेट दुख्ने रोगलाई सामान्य रुपमा लिने प्रबृत्ति देखिन्छ । तर यी रोगहरुको समयमै उपचार भएनन् भने जटिलता हृुँदै ज्यान समेत जान सक्छ । सवै भन्दा पहिला मिर्गौला फेल गराउँछ । जस्तो कि झाडापखाला भयो भने शरिरमा जलबियोजन भएमा मिर्गौला फेल हुन्छ । मिर्गौला शरिरको मुख्य अंग हो । मिर्गौला बिगे्रपछि शरिरका अन्य महत्वपुर्ण अंगहरु प्रत्यक्ष-अप्रत्यक्ष रुपमा प्रभावित भएर मानिसको मृत्यु हुन्छ ।
 यस्तो झाडापखाला राजधानीमा मात्र हो कि ? उपत्यका बाहिर पनि ?

उपत्यका बाहिर राजधानीमा भन्दा कम हुन सक्छ । किन कि त्यहाँका पानीको स्रोतहरु सफा राख्ने परम्परा पनि छ र सफा पनि छन् । गाउँमा देउता बिग्रिन्छ भन्ने परम्पराको बहानामा पनि पानीको मुहान सफा राखेको देखिन्छ । जस्तो मूल फुटेको ठाउँमा देउता हुन्छ भन्ने मान्यता छ । यति हुँदा–हुँदै पनि पानीको मुहानमा कसैले दिसा ग¥यो या दिसा गरेको हात धोयो भने मुहान संक्रमित हुन्छ । कारणवस मुहान फोहोर भयो भने एकै पटक सवैतिर झाडापखाला फैलियो भने गाउँ नै महामारी फैलिन सक्छ।

 हावाको माध्यमबाट सर्ने रोग नि ?
 प्रि मनसुनबाट मनसुन सुरु हुने बेलामा लाग्छ । यो पनि मौसमी फ्लु हो । यस्तो मौसममा बाहिर जाँदा माक्स लगाउने,सावैजनिक स्थल बस या सौचालय छोइएमा हात धुने,हान धुनु अघि नाक या मुख नछुने । हात नधोइकन हातमुख छोएमा भाइरसहरु सरेर फ्लुको संक्रमण हुन सक्छ । मौसमी फ्लुको संक्रमण भइरह्यो भने बिरामीलाई निमोनियाको संक्रमण भई दीर्घरोगी हुने र मृत्युसम्म हुन सक्ने भएकोले सकेसम्म फ्लुको संक्रमणबाट जोगिनु पर्छ । यसको लागि उत्तम उपाय भनेको आजभोलि अस्पतालहरुमा फ्लु बिरुद्धको भ्याक्सिन पाइन्छ । त्यो एक पटक लगाएपछि बर्षदिनसम्म आक्रमण गर्दैन् । त्यो पनि लगाउन सकिन्छ।

 लामखुट्टेवाट सर्ने रोगहरुबाट बच्ने कसरी नि ?
तराईमा सक्रिय लामखुट्टे पहाडी क्षेत्रमा समेत फैलिंदै गएको हुनाले यसको जोखिम सवैतिर छ । मुख्य लामखुट्टले बृद्धि बिकास गर्ने स्थानमा पानी जम्नै नदिने,दिउँसै सक्रिय हुने एडिस लामखुट्टेले डेंगु र चिकनगुनियाँ सार्ने भएकोले शरिर पुरै छोप्ने लुगा लगाउने,पानी जम्न नदिने,घरवरिपरि सफा वातवरण राख्नु पर्छ ।अहिले बजारमा मलम पनि निस्केको छ ,त्यो लगाएमा पनि लामखुट्टेले टोक्दैन ।
 अन्य सरुवा रोगहरु जो परजीवि र किराभुसुनाले टोकेर सर्छन्,यीबाट कसरी बच्ने ?

तराईमा प्रचलित सरुवा रोगहरु कालाजार भुसुनाको टोकाइबाट सर्ने भएकोले झुल लगाएर सुत्ने,घरमा प्वालहरु नराख्ने गरेमा टोकाइवाट बच्न सकिन्छ । झाडीमा नबस्ने,त्यस्तो स्थानमा जाँदा नांगो खुट्टाले नटेक्ने,घरवरिपरी सफा राखेर मुसा बस्न नदिने गरेमा यी रोगबाट बच्न सकिन्छ ।

 

प्रकाशित: २९ वैशाख २०७५ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App