७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुन प्रकरणमा भिडियो देखाउँदा इजलासमै चर्काचर्की

विराटनगर – सुन तस्करी र सनम शाक्य हत्या प्रकरणसँग जोडिएका श्रव्यदृश्य सामग्री इजलासमा देखाउन प्रतिवादीतर्फका वकिलहरूले अवरोध गरेका छन्। शुक्रबार मोरङ जिल्ला अदालतमा वादीतर्फका वकिलहरूले बहस गरिसकेपछि प्रमाणका रूपमा देखाउन लागिएका श्रव्यदृश्य सामाग्रीलाई प्रतिवादी वकिलहरूले अवरोध गरेका हुन्।

गोरेले सनम शाक्यको हत्या गर्नुअघि सुन हराएको विषयमा सोधपुछ गरेको र यातना दिन लागेको भिडियो इजलासमा ५ मिनेट देखाएपछि प्रतिवादी पक्षका वकिलहरूले अवरोध गरेका थिए। उनीहरूले श्रव्यदृश्य सामग्री देखाउन अवरोध गरेपछि दुवै पक्षका वकिलबीच केहीबेर चर्काचर्की भएको थियो। प्रतिवादीतर्फका वकिलहरूले प्रमाणका श्रव्यदृश्य सामग्री देखाउन माग नगरेकाले देखाउनै नपर्ने जिकिर गरेका थिए। वादीतर्फका सरकारी वकिलहरूले प्रमाणका रूपमा श्रव्यदृश्य सामग्री देखाउन पाउनुपर्ने अडान लिएका थिए। दुवै पक्षबीच चर्काचर्की हुन थालेपछि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माले भिडियो नदेखाए पनि प्रमाणकै रूपमा राखिने भनेपछि भिडियो देखाउन बन्द गरिएको थियो।

इजलासमा बहसकै रूपमा श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बताए। उनले अभियोगपत्रमा दिएको बयानविपरीत अदालतमा अभियुक्तहरूले बयान दिएपछि अभियोगपत्रलाई प्रमाणित गर्न श्रव्यदृश्य सामग्री देखाउन लागिएको थियो। पाठकका अनुसार अभियुक्तहरूले अदालतमा बयान फेरेपछि अभियोगलाई पुष्टि गर्न प्रमाणका लागि थप सामग्री प्रस्तुत गर्न लागिएको थियो। उनका अनुसार गोरेले सुन हराएको विषयमा यातना दिएको भिडियो खिचेर सुन मालिकलाई सुनको खोजी भइरहेको देखाउने गरेका थिए। सुन लागनाीकर्तालाई हराएको सुन खोज्दा यातना दिएको र फोनबाट सम्पर्क गर्दा कुराकानी गरेका विषय पनि प्रमाणका रूपमा पेस गर्ने सरकारी वकिलको योजना थियो। यस्तै अनुसन्धान टोलीले बयान लिँदा यातना नदिएको र दबाबमा पनि नपारेको पुष्टि गर्न भिडियो सामग्री देखाउन खोजिएको थियो। पाठकले भने, ‘अदालतमा बयान दिँदा सुन तस्करीमा संलग्न नभएको, हत्यामा संलग्न नभएको, लास गायब पार्न सहयोग नगरेको भन्नेहरूलाई उनीहरूले नै गरेको कुराकानीको अडियो, यातना दिएको भिडियो आदि देखाएर पुष्टि गर्ने हाम्रो योजना थियो।’ तर, प्रतिवादीतर्फका वकिलहरूले प्रतिवादीबीच द्वन्द्व बढ्ने भन्दै अवरोध गरेको पाठकले बताए। आफूहरूले इजलासमा पेस गरेको अडियो र भिडियोले प्रतिवादीबीच कुनै किसिमका द्वन्द्व हुने स्थिति नरहेको पाठकको भनाइ छ।

यता प्रतिवादीतर्फका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता यदुनाथ खनालले संविधानमा गोपनीयताको हकको व्यवस्था रहेकाले सार्वजनिक स्थलमा व्यक्तिको गोपनीयता भंग हुने खालका सामग्री देखाउन नहुने बताए। उनले मुद्दाका विषयमा छानबिन समितिले छानबिन गरिरहेको, अझै धेरै अभियुक्तहरू फरार रहेको, थुनछेक प्रयोजनका लागि सिडी, भिडियो पनि प्रमाणित गर्नुपर्ने भएकाले नदेखाउन आग्रह गरिएको उल्लेख गरे। उनले भने, ‘सिडी देखाउनु पर्दैन, बहस अघि बढाऊँ भनेर हामीले भन्दा त्यसै हेर्ने, हेर्ने भनेर होहल्ला गरियो।’ भिडियोका कुरा अभियोगपत्रमै उल्लेख भइसकेकाले बहस छिटो सक्न भिडियो र अडियो देखाएर एउटै कुरा नदोहो-याऊँ भन्ने प्रतिवादीतर्फको आशय रहेको खनालले दाबी गरे।

प्रतिवादीतर्फको बहस आइतबारदेखि
साढे ३३ किलो सुन र सनम शाक्य प्रकरणको मुद्दामा जारी बहस सरकारी वकिलहरूले शुक्रबार सकेका छन्। बिहीबारदेखि सुरु भएको बहसमा सरकारका तर्फबाट ७ जना वकिलले बहस गरेका थिए। आठजना वकिलले बहस गर्ने तयारी गरिएको भए पनि उपन्ययाधिवक्ता हिमालय त्रिताल बहसमा सहभागी भएनन्। सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता गोपाल रिजाल, चिरञ्जीवी पराजुली, उपन्यायाधिवक्ता मनोज आचार्य, जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद सापकोटा, पुण्यप्रसाद पाठक, सहन्यायाधिवक्ता रोहित पोखरेल र पदम बस्तीले बहस गरेका थिए। प्रतिवादीका तर्फका वकिलहरूले आइतबारदेखि बहस सुरू गर्ने तयारी गरेका छन्। आइतबार काठमाडौंबाट आएका वकिलहरूले बहस गर्ने तयारी थालिएको छ।

प्रकाशित: २९ वैशाख २०७५ ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App