७ वैशाख २०८१ शुक्रबार
अन्य

शोधपत्रहरूको सदुपयोग

उच्च प्राज्ञिक चेतना र चिन्तनले कुनै पनि राष्ट्रलाई सही मार्गमा डोर्याउन निर्दिष्ट गरेको हुन्छ । देशमा आइपरेको कठिन परिस्थितिमा प्राज्ञहरूको सही सल्लाहले देशलाई सम्भावित दुर्घटना हुनबाट बचाउँछ।

बौद्धिक चिन्तकले हिजो र आजको मात्र होइन, सुदूर भविष्यलाई पनि नियालिरहेका हुन्छन् । भविष्यद्रष्टा भएकाले प्राज्ञलाई बौद्धिक जगत्को तेस्रो आँखा भनिएको हो । यसकारण प्राज्ञहरूको चिन्तन–मननलाई बौद्धिक सम्पत्तिका रूपमा स्वीकार गरिएको पाइन्छ । वैदिक सभ्यताको अध्ययन अनुसन्धान गर्दा तत्कालीन सभ्यता र त्यस समयको चिन्तन–मनन निकै उत्कृष्ट रहेको जानिन्छ।

वैदिक सूक्त, ऋचा र मण्डलहरूमा अभिव्यक्त श्लोकमा जीवन र जगत्को गहन विमर्श गरिएको पाइन्छ । जीवन–जगत्को विवेचना गर्ने क्रममा अनेकौँ दर्शनको प्रादुर्भाव भएको छ । वेदान्त र उपनिषद्हरूमा चर्चा गरिएका द्वैत–अद्वैत, द्वैताद्वैत जस्ता चिन्तनमा ब्रह्मवादी एवं अध्यात्मवादी दर्शन पाइन्छ भने सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक राजनीतिक पक्षहरूको वैज्ञानिक समाज व्यवस्थापनका लागि पनि दार्शनिक आधारहरूको विवेचना गरिएको छ । वैदिक एवं पौराणिक दार्शनिकहरू नचिकेता, गार्गी, नारद, कपिल, मनु, विदुर, कौटिल्य, शंकराचार्य, माधवाचार्य, निम्वार्काचार्य र बल्लभाचार्य जस्ता स्मृतिकार र नीतिकारहरूले वेदान्त दर्शन र उपनिषद्माथि शोधपत्र, टीका र भाष्यहरू लेखेका छन । वैदिक चिन्तन र दर्शन निकै गहन छ ।

सबैले सहज रूपमा वेदान्त दर्शनलाई बुझ्न सक्दैनन् । यी दर्शन सर्वसाधारणका लागि बुझ्न सहज होस् भन्ने अभिप्रायले वैदिक, पौराणिक र महाकाव्यकालीन प्राज्ञहरूले वैदिक चिन्तन र चेतनामाथि व्याख्या र विवेचना गरेका हुन् । वैदिक गहनतामा प्रवेश गर्नुपहिले यस विषयमाथि केन्द्रित रहेर लेखिएका शोधपत्रको अध्ययन गर्नु अत्यावश्यक हुन्छ । वेदान्त र उपनिषद्हरूको अध्ययन नगरी सीधै वेदको अध्ययन र चिन्तन मनन गर्न कठिन हुने भएकाले प्रस्थानत्रयी अर्थात् गीता, उपनिषद् र ब्रह्मसूक्त बुझेपछि मात्र वेद बुझिन्छ । यसकारण सरलताबाट गहनातर्फ प्रवेश गर्नुपर्छ भन्ने प्रस्थानत्रयीको भावार्थमा वैदिक ग्रन्थका भाष्य लेखिएका हुन् ।अध्ययन, अनुसन्धान अर्थात् अन्वेषण र गवेषणलाई प्राज्ञिक जगत्को तेस्रो आँखा मानिन्छ । पूर्वीय सभ्यताका प्राच्य ऋषिमुनि, साधक, स्रष्टा, चिन्तन र तपस्वीहरूको गहन शोधबाट प्राप्त चिन्तनले हिन्दू तथा बौद्ध दर्शनलार्ई प्रकाशित गरेका छन् । पूर्वीय सभ्यतामा शोधपत्र लेखनको लामो इतिहास छ ।

तक्षशिला, नालन्दा, र विक्रमशिलाजस्ता महाविद्यालयहरू प्राचीनकालमै स्थापित थिए । ती विश्वविद्यालयबाट दीक्षित भएका आचार्य र प्राचार्यहरूले अध्ययन र अनुसन्धानको क्षेत्रलाई निकै माथि पु¥याएको विषयलाई प्राचीन चिनियाँ यात्रीहरूले आफ्ना यात्रा वृत्तान्तमा उल्लेख गरेका छन् । सनातनी एवं गुरुकुलीय अध्ययन परम्पराबाट समेत शोधपत्र लेखनको कार्यलाई अगाडि बढाइएको देखिन्छ ।प्राचीनकालमा अध्ययन–अनुसन्धान र प्राज्ञिक कर्ममा लागेका स्रष्टा, द्रष्टा र प्राज्ञिक व्यक्तित्वलाई राज्यस्तरबाट उचित मान–सम्मान प्रदान हुन्थ्यो भन्ने तथ्य प्राचीन शास्त्रहरूको अन्वेषणबाट थाहा हुन्छ ।

राजा र मन्त्रीहरूले प्राज्ञ सल्लाहकारको सुझावअनुसार राज्यका अनेकौँ नीति–नियमहरूको अभिलेखन गर्ने परम्परा रहेको थियो । विशेषगरी हिन्दू राज्यहरूमा यस किसिमको आदर्श र अभ्यासलाई बढी जोड दिइन्थ्यो । प्राचीन राज्य प्रशासनमा राजाहरूलाई राज्य सञ्चालन तथा व्यवस्थापनका लागि उचित सल्लाह दिनका लागि राजदरबारमा प्राज्ञ पण्डित र धर्माधिकारीको व्यवस्था गरिएको हुन्थ्यो भन्ने तथ्य चाणक्य नीतिमा पनि उल्लेख गरिएको छ । राज्य सञ्चालनका लागि आवश्यक पर्ने नीति, नियम र निर्देशक सिद्धान्तहरूको निर्माणका लागि प्राज्ञ पदाधिकारीको नै महत्वपूर्ण भूमिका रहन्थ्यो । राजा वा राज्य प्रशासकलाई उचित सल्लाह र सुझावहरू मन्त्रणा गर्ने भएकाले मन्त्रणा शब्दबाट मन्त्री शब्दको व्युत्पत्ति भएको हो तर मन्त्री शब्दको गरिमा कायम नभएकाले अचेल मन्त्री शब्दको अर्थ संकुचन भएको देखिन्छ।

नेपाल प्राचीनकालदेखि नै प्राज्ञिक केन्द्रका रूपमा रहेको अभिलेख्य एवं पौराणिक प्रमाण छन् । हिन्दू एवं बौद्ध धर्म र दर्शनको विशेष अध्ययन अनुसन्धान र साधना केन्द्रका रूपमा नेपाल परिचित छ । बौद्ध र हिन्दू दर्शनका अनेकौँ आचार्य र प्राचार्यहरूले नेपाललाई आफ्नो ज्ञानको साधनास्थल बनाएका थिए । आचार्य नागार्जुन, कमलशील, शान्तरक्षित, पदमसम्भव र अतिसा दीपंकरजस्ता बौद्ध प्राचार्यहरूले काठमाडौंका विभिन्न स्थानमा ध्यान र साधना गरेका थिए । विशेषगरी बौद्ध सभ्यता, जनक सभ्यता र वागमती सभ्यतामा जन्मेका प्राचार्यहरूले नेपालको प्राज्ञिक चिन्तनलाई उच्चस्तरमा पु¥याएको इतिहास छ।

पौराणिक प्राज्ञ प्राचार्यहरूको चिन्तन मननलाई राज्य सञ्चालन तथा व्यवस्थापनमा सदुपयोग गर्नु आजको अपरिहार्य आवश्यकता ठानिन्छ । इतिहासले भविष्यको दिशानिर्देश गर्ने भएकाले यस भावार्थमा इतिहासको योगदानलाई अवमूल्यन गर्न कदापि मिल्दैन । नेपालको शैक्षिक इतिहास निकै पुरानो भएको तथ्यमाथि उल्लिखित सन्दर्भहरूबाट प्रमाणित भइसकेको छ।

त्रि–चन्द्र कलेजको स्थापनासँगै नेपालमा आधुनिक शिक्षाको सुरुवात भएको मानिन्छ । पछि २०१६ सालमा त्रिभूवन विश्वविद्यालयको स्थापना भएपछि आधुनिक शिक्षा प्रणालीलाई अझ व्यापकताका साथ कार्यान्वयन गरियो । मूलतः आधुनिक शिक्षाको सुरुवातसँगै शिक्षाको दर्शनसम्बन्धी पौराणिक मान्यता र परम्परामा व्यापक ह्रास भई आधुनिक ज्ञान, विज्ञान, मूल्य–मान्यता र मानविकी विषयहरूको अध्ययन अनुसन्धानलाई बढी जोड दिइएको छ । कानुन, मानविकी, विज्ञान, शिक्षा र चिकित्सा संकाय अन्तर्गतका सयौँ विषय विभिन्न तहमा पढाइन्छ । प्रवीणता तहदेखि विद्यावारिधि तहसम्मको अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि नेपाल सरकारबाट लाखौँ लगानी भएको छ । विशेषगरी स्नातकोत्तर र विद्यावारिधि तहमा बर्सेनि हजारौँ विद्यार्थी दीक्षित हुन्छन्।

स्नातकोत्तर र विद्यावारिधि उपाधि प्राप्तिका लागि विभिन्न विषयमा शोधपत्र तयार गरिएको छ । गहन अनुसन्धानबाट प्राप्त निष्कर्षलाई ती शोधपत्रहरूमा समावेश गरिएको हुन्छ । तर, नेपालको दुर्भाग्य नै मान्नुपर्छ, शोधार्थीबाट तयार पारिएका ती सैद्धान्तिक निष्कर्षहरूलाई सरोकारवाला निकायले उचित प्रयोग गरेको देखिँदैन ।गहन अध्ययन गरी तयार गरिएका शोधपत्र ज्ञानका भण्डार हुन् । विज्ञान प्रविधिको क्षेत्रमा तयार पारिएका शोधपत्रले राज्यलाई सो क्षेत्रमा थप अध्ययन र अनुसन्धान गर्न आधार भूमि तयार गर्छन् भने अर्कोतिर शोधार्थीलाई यस विषयमा थप अध्ययन गर्न लगाएर राज्यले थप फाइदा लिन सक्नुपर्छ ।

सामाजिक क्षेत्रमा तयार गरिएका शोधपत्रहरूमा समाज विज्ञानका विभन्न आयामको अध्ययन गरिएको हुन्छ, जसले राज्यलाई सामाजिक सरोकारका विषयमा केन्द्रित नीति–नियमहरू तर्जुमा गर्न सहयोग पु¥याउँछ । गोपालसिं नेपालीले पिएचडीका लागि तयार गरेको ‘द नेवार्स’ नामक शोधपत्र समाजशास्त्रीय अध्ययनमा आज पनि उत्तिकै महत्वसाथ सम्झना गरिन्छ । रमेशराज कुँवरको ‘फायर अफ हिमाल’, प्रा. सुदर्शनराज तिवारीको ‘एन्सियन्ट सेटलमेन्ट अफ काठमाडौं भ्याली’ लगायत शोधग्रन्थहरू उच्च प्राज्ञिक कोटिका छन्, जुन आज पनि त्रिविका पाठ्यक्रममा सन्दर्भ सामग्रीका रूपमा समावेश गरिएका छन् । यस्ता गहन शोधपत्रबाट विश्वविद्यालयको प्राज्ञिक आवश्यकता त पूरा हुन्छन् नै, अनुसन्धानका लागि राज्यकोषको खर्च बचत हुनुको साथै यसबाट राज्यले उचित फाइदा लिन सक्छ।

यसका लागि नेपाल सरकारले विश्वविद्यालयसँग आवश्यक प्राज्ञिक सहकार्य र समन्वय गर्नु अत्यन्त जरुरी भइसकेको छ । प्राज्ञ व्यक्तिहरूबाट प्राप्त हुने सही सल्लाहको सदुपयोग गरिएमा नै राज्यको समुन्नति हुन्छ । नेपालको राजनीतिक परिदृश्यमा प्राज्ञहरूलाई पछाडि पारिएका छन् भने प्राज्ञ आफैँ पनि राजनीतिप्रति उदासीन छन्, जसले राजनीतिक वृत्तमा प्राज्ञिक व्यक्तिहरूको कमजोर भूमिका देखिन्छ । उता, भारतीय स्वतन्त्रता संग्राम पछिका राजेन्द्रप्रसाद निराला, राधाकृष्णन् र एपिजे अब्दुल कलाम जस्ता उच्च प्राज्ञले उच्च राजनीतिक स्थान पाएको तथ्यलाई हामीले पनि सम्झनैपर्छ।

शोधपत्र लेखन निकै गहनकार्य हो । शोधकर्ता र शोधनिर्देशकबीचको गहन छलफलबाट एउटा विशेष सिद्धान्त प्रतिपादन हुन्छ । प्रतिपादित सिद्धान्तमा ज्ञान, विज्ञान र सही तथ्यांक समावेश गरिएको हुन्छ । बर्सेनि उत्पादन हुने हजारौँ हजार शोधपत्रहरूको सदुपयोग कसले गर्ने ? के शोधपत्रहरू उपाधिका लागि मात्र तयार गरिएका हुन् र ? उत्तर स्पष्ट छ, यसको औचित्य सामान्यभन्दा पर र गहन छ।

नेपाल सरकारले कन्सलट्यान्सीहरूलाई भाडामा लिएर अनुसन्धान गर्न लगाउँछ, तर सोचनीय यो छ कि किन नेपाल सरकार आफूले लगानी गरेको त्रिविको प्राज्ञ प्राध्यापक र मेहनेती विद्यार्थीको ज्ञानमा विश्वास गर्दैन त ? नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास) र सेडाजस्ता अनुसन्धान केन्द्रहरूले अध्ययन, अनुसन्धान एवं प्रकाशन गरेका प्रतिवेदनको सदुपयोग गर्ने दायित्व नेपाल सरकारको हो, तर यस विषयमा सम्बन्धित निकाय नै मौन रहेको देखिन्छ । विदेशी कन्सलट्यान्सीलाई हजारौँ डलर तिरेर अनुसन्धान कार्य गराउनुभन्दा नेपालका विभिन्न विश्वविद्यालयलाई विशेष अनुदान दिई अनुसन्धान कार्य गर्न लगाउने हो भने एकातिर राज्यको ढुकुटी जोगिने थियो भने अर्कोतिर प्राज्ञ प्राध्यापक र विद्यार्थीहरूले अवसर प्राप्त गर्नुका साथै आफूलाई पुरस्कृत भएको ठान्ने थिए।

शिक्षा, वाणिज्य, मानविकी र विज्ञान प्रविधि विषयका प्राज्ञ हामीसँग नभएको होइन, तर सम्बन्धित निकायको उदासीनता र बेवास्ताका कारण हजारौँ विद्यार्थी पलायन हुनुपरेको तीतो यथार्थ एकातिर छ भने अर्कोतिर हजारौँहजार शोधपत्र परीक्षा नियन्त्रण कार्यालयको गोदाममा थन्किएको अवस्था छ । यस प्रसंगमा सबै शोधपत्र खत्तम छन् भनिएको होइन, तर विश्वविद्यालय र अन्य प्राज्ञिक केन्द्रहरूले पनि कसरी उत्कृष्ट शोध सिर्जना गर्न सकिन्छ भन्नेमा विशेष ध्यान दिनैपर्छ । हालसम्म तयार गरिएका शोधपत्रहरूको कसरी प्रयोग गर्न सकिन्छ भन्नेमा एउटा विज्ञ समिति तयार गरी त्यस समितिले दिएको अध्ययन प्रतिवेदनका आधारमा शोधपत्रहरूको सदुपयोग गर्ने रूपरेखा कोर्नैपर्छ । शोधपत्रहरूको चोरी नहोस् भन्नेतर्फ पनि सम्बन्धित निकाय अति संवेदनशील हुनुपर्छ।

शोधपत्रहरूको प्रामाणिकताको परीक्षण गर्ने सफ्टवेयर विकास भइसकेकाले यस विधि र पद्धतिको प्रयोग गरेर शोधपत्र र अनुसन्धानात्मक कृतिहरूको चोरी हुनबाट रोक्न सकिन्छ । हामी एकातिर पहिचानको बाटो खोजिरहेका छौँ भने अर्कोतिर प्राज्ञिक बहिर्गमनको बाटो । राजनीतिक अस्थिरताका कारण प्राज्ञ र होनाहार प्रतिभाले पलायनको बाटो रोज्नुले पक्कै पनि सुखद संकेत गर्दैन । हाम्रो संस्कृति, सभ्यता र पहिचानमाथि बाह्यप्रहार हुनुमा हामी आफू पनि उत्तिकै जिम्मेवार छौँ । पौरस्त्य परम्परामा आधारित हाम्रो शिक्षानीतिको वैज्ञानिक पक्षको अध्ययन नै नगरी आधुनिकताका नाममा पश्चिमाहरूको गुलामी गर्ने शिक्षा नीतिले पक्कै पनि राज्यको भलो नगर्ला।

वेद, वेदान्त, साहित्य, दर्शन, व्याकरण, योग, आयुर्वेदजस्ता प्राच्य विषयहरूको विज्ञान सम्मत ढंगले अध्ययन अनुसन्धान गर्न गराउन सके पक्कै पनि प्रतिभाहरूले पलायन हुनुपर्दैन । नेपालका १० वटाभन्दा बढी विश्वविद्यालय र सयौँ क्याम्पसबाट उत्पादित शोधपत्रहरूको उचित मूल्य खोज्न सम्बन्धित निकाय लाग्नैपर्ने आजको आवश्यकता हो । मूलतः ती हजारौँ शोधपत्रमा ज्ञान–विज्ञानका सयौँ सिद्धान्त प्रमाणित भएका छन् । ती सिद्धान्तको सही सदुपयोग हुन सके मात्र पनि देशको समुन्नति हुन सक्ने सुनिश्चित छ ।

प्रकाशित: २९ वैशाख २०७५ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App