७ वैशाख २०८१ शुक्रबार
समाज

यातायात व्यवसायीको दादागिरी, प्रहरीको लाचारी

झापा-गाडी लिएर राजमार्गमा निस्कनासाथ आफैलाई ‘डन’ सम्झने यातायातकर्मीको दादागिरी र तिनको ‘शक्ति’ का अघि सधैँ लाचार बन्नुपर्ने प्रहरी बाध्यता सडक असुरक्षाको मुख्य कारण बनेको छ ।  विभिन्न राजनीतिक आवरणमा रहेका यातायात संघहरु तथा मजदुर संगठनको आडमा यातायातकर्मी सडकमा आफ्नो राज चलाइरहेका छन् । यसले  सडक अराजकतालाई मौलाउने अवसर दिइरहेको छ । 
 
पूर्व–पश्चिम राजमार्ग, मेची राजमार्गलगायतका मुख्य सडकका ठाउँ–ठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको हुन्छ । यातायातका साधनहरुलाई सडक नियम पालना गराउन, यात्रुको सुरक्षा तथा समग्र सडक सुरक्षाको उद्देश्यसहित परिचालित ती प्रहरी यति लाचार बनाइन्छन् कि, उनीहरु यातायातकर्मीको दादागिरीका अघि केही बोल्न सक्दैनन् । सडकमा साइकल, पैदल वा बाइकमा हिँड्ने सर्वसाधारण आफै जोगिए भने बेग्लै कुरा अन्यथा उनीहरु हरक्षण जोखिममा पर्छन् । 
गाडी लिएर राजमार्गमा निस्कनासाथ आफैलाई ‘डन’ सम्झने यातायातकर्मीको दादागिरी र तिनको ‘शक्ति’ का अघि सधैँ लाचार बन्नुपर्ने प्रहरी बाध्यता सडक असुरक्षाको मुख्य कारण बनेको छ ।
 
झापा बुधबारे–३ का मनोहरि न्यौपाने र उनकी पत्नी कमला अघिल्लो शुक्रबार दिउँसो मुश्किलले बाँचे । गल्ती केही थिएन तर आफू अघिको बसले सडक नियम मिच्दा उनीहरु दुर्घटनाको मुखैबाट जोगिए ।
 
उनीहरु बाइक चढेर धुलाबारीतिर आइरहेका थिए । बाइक अघि–अघि एउटा यात्रुबस गुडिरहेको थियो । चारआली पूर्व र धाइजन मोडभन्दा केही अगाडि नै घ्याच्च रोकियो । बाटोको छेऊमा उभिएर हात उठाइरहेका एक जना यात्रु टिप्न बस रोकिएको थियो । तर, न बस बिसौनी, न त सधैँ रोकिने ठाउँ, एक्कासी बस रोकिएको मनोरथले भेउ नै पाएनन् । ‘अगाडि घ्याच्चै रोकियो, बाइक कन्ट्रोल गर्नै सकिनँ’, उनले भने ‘बाइक अनियन्त्रित भएर राजमार्ग उत्तरतिर लड्यो, हात दर्फरियो, लडेको ठाउँमा बाक्लो झार भएका कारण केही भएन ।’ उनी उठिसक्दा बस अघि बढिसकेको थियो । जहाँ मन लाग्यो त्यहीँ बस रोक्दा हुने यस्तो घटना राजमार्गमा अब ‘सामान्य’ भइसकेको छ । यसलाई प्रहरी गाडीवालाको दादागिरी भन्छन् । 
 
अनुभवी हुन् कि सडकमा कार्यरत प्रहरी सबैको एउटै गुनासो हुन्छ, गाडीवालाको दादागिरी राजमार्गहरुमा डरलाग्दो रुपमा छ । ‘जहिलेसम्म यातायातकर्मीको दादागिरी कायम हुन्छ, दुर्घटना दर कहिल्यै घट्दैन’, एक साता अघि मात्रै प्रहरी सेवाबाट अवकाश लिएका झापा मेचीनगरका त्रिलोचन शिवाकोटीले भने ‘सडकमा पुलिसलाई चालक र खलासीले ठीक पार्छन् । केही गर्यो भने सडक ठप्प पार्छन् । अनि पुलिस चारैतिरबाट चेपुवामा पर्छ ।’ १८ वर्षे जागिरका क्रममा पछिल्लो पाँच  वर्ष ट्राफिक सेवामै बिताएका शिवाकोटीका अनुसार सबैभन्दा धेरै दादागिरी यात्रु बसहरुको हुन्छ । ‘तिनलाई जसरी हुन्छ धेरै मान्छे हाल्नुपर्छ नत्र कमाई हुँदैन’, पूर्व–पश्चिम राजमार्गमा रहँदाको उनको अनुभव छ ‘त्ययसका लागि उनीहरु जहाँ पनि घ्याच्चै रोक्न, लेन मिचेर गाडी चलाउन, जथाभावी ओभरटेक गर्न र स्पिड कुदाउन तयार हुन्छन् ।’ यस्तोमा दुर्घटनाको जोखिम उच्च हुन्छ । 
 
अहिले सडकमा खटिएका अधिकांश ट्राफिक प्रहरीको पनि उही गुनासो छ । ‘परैबाट ज्यादै तीव्र गतिमा हुइँकिएर आएको बस देखेपछि हामीले बसलाई चोकमा रोक्न इशारा गर्यौं’, दुई साता अघि दमकमा भएको घटनाबारे एक ट्राफिक प्रहरी भन्दैथिए ‘तर, बस रोकिएन । सात सय मिटर पर पुगेपछि बस पल्टियो । बसका १५ जना यात्रु घाइते भए ।’ उनका अनुसार उक्त घटनापछि हाकिमले धेरै केरे । तर, उनीहरु केही बोल्न सकेनन् । ‘केही गल्ती भयो भने हाकीमको खप्की खानुपर्छ’, ती प्रहरीले भने ‘सडकमा यातायातकर्मीहरु पनि हामीलाई पेल्न मात्रै खोज्छन् । हामी पूरै चेपुवामा छौं ।’ 
 
यातायातकर्मीले गाडी दौडाउँदा मात्रै होइन, अरु बेला पनि सडकलाई आफ्नो बिर्ता झैँ ठान्छन् । कुद्दाकुद्दैको गाडी बिग्रियो भने कुनै उपाय गरेर ग्यारेजसम्म लैजानुभन्दा बाटैमा पार्किङ गरिदिन्छन् । प्राविधिक बोलाएर सडकमै मर्मत समेत गर्छन् । यस्तोमा धेरैले साताभन्दा लामो समयसम्म सडकमै गाडी छोडिदिन्छन् । बाटोमा जथाभावी गरिएको पार्किङले पनि धेरै दुर्घटना गराइरहेको छ । केही समय अघि मात्रै  मे५प २८११ नम्बरको मोटरसाइकल पश्चिम तीव्र दौडिँदै थियो । चालकले कनकाई नगरपालिका–१ दुर्गापुर पुग्दा अगाडि सडकभित्रै पार्किङ गरिएको बिग्रेको ट्याक्टर ठम्याउनै सकेनन् । रातको समय । अगाडि गाडी रोकिएको छ भनेर ठम्याउन नसक्नु चालकको गल्ती थिएन । बरू बिग्रेको सवारी पार्किङ गरिएको दृश्य सजिलै देख्नसक्ने संकेत नराखिनु यो घटनाको कारण थियो । तीव्र हुइँकिएको मोटरसाइकल ट्याक्टरको पछिल्तिर ड्याम्म ठोक्कियो । मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भयो । 
 
धाइजन चोक नजिकै  फलामे छड लोड भएको ट्रयाक्टरमा ठोक्किँदा आफन्त गुमाएका धुलाबारीका अनोक मल्ल गाडीवालाको कमजोरीलाई प्रहरीले आँखा चिम्लिदिने बताउँछन् । ‘बर्खाको समयमा झ्री उच्च थियो, रातको समयमा मिेरा भिनाजु बाइकमा आउँदै हुनुहुन्थ्यो’, केही पहिलेको घटना सुनाए उनले ‘ट्याक्टरको ट्रलीभन्दा धेरै बाहिरसम्म  बाहिरसम्म छरिएको छडमा बाइक ठोक्कियो । उहाँको घटनास्थलमै मृत्यु भयो ।’ यसरी सडकमा गाडी जथाभावी छाडिदिने गाडीवालालाई प्रहरीले कहिल्यै कारवाही गर्ने हिम्मत गरेको छैन । सडकलाई सुरक्षित पार्न प्रहरी लागिरहेको तर जनशक्ति अभावले सबैतिर चुस्त काम सम्भव नभएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख एसपी पवनकुमार गिरी बताउँछन् । 
 
दुर्घटना हुनुमा सवारी चालकको दोष जति छ, उति नै ट्राफिक व्यवस्थापनमा भएको कमजोरी दुर्घटनाको कारण बन्दै गएको छ । धेरै दुर्घटना ट्याक्टरसँग अन्य साधन जुधेर हुने गरेको छ ।सडकमा रोकेर राखेका सवारीको पछाडि ट्रलीमा बत्ती हुँदैन, जसका कारण अरू साधन गएर ठोक्किन्छन् । यसरी ठोक्किएर झापाका सडकमा दर्जनौंको ज्यान गइसकेको छ । अहिले पनि बिग्रेका बस, ट्याक्टर, ट्रक लगायत साधनहरू राजमार्गमा अलपत्र छोड्ने चलन छ । 
ट्राफिक प्रहरीले देखेको नदेख्यै गर्दा बस तथा अन्य सवारी चालक सडकमा गाडी बेपत्ता हुँइक्याउँछन् । ‘यसमा चढ्न डर लागे अर्कोमा जानु’ गति नियन्त्रित गर्न आग्रह गर्ने यात्रुले यातायातकर्मीबाट पाउने ओठे जवाफ यस्तै हुन्छ । उनीहरुका बारेमा कसैले उजुरी गर्ने हिम्मत पनि गर्दैनन् । ‘चालक वा अरु कसैलाई प्रहरीले बोलायो मात्रै भने पनि मजदुर युनियन ओइरिन्छन्’, एक जना प्रहरी भन्छन् ‘दलहरुको आड तिनैलाई छ । नेताहरु तिनकै पक्षमा लाग्छन् । अनि कसरी उनीहरुलाई नियन्त्रण गर्नु ?’ पूर्व–पश्चिम राजमार्गको मुख्य सडकमै ठूला सवारीसाधन रोकिने गरेकाले साना सवारीलाई आवतजावत गर्न पनि समस्या छ । व्यस्त सहरकै सडकमा मालबाहक ट्रकले लोड अनलोड गर्दासमेत ट्राफिक प्रहरी रमिते बन्नेगर्छ । 
 

प्रकाशित: १४ भाद्र २०७३ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App