coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

छलिया र देबु

२०३४ सालमा पाँच छोरा एक छोरी र श्रीमतीलाई छोडेर कहिल्यै नफर्किने गरी बिदा भए, बहादुरसिं बोरा धर्तीबाट । त्यतिखेर देबु वोरा मात्र पाँच महिनाका थिए । तीन वर्षपछि उनले प्रश्न गर्न थालेछन्, ‘सबैका बा छन्, मेरा बा खै ?’ उनको प्रश्नले घरको पूरै वातावरण भावुक बन्थ्यो । तर, बाल मस्तिष्कमा कुनै प्रकारको पीडा र निराशाले बास नगरोस् भनेर घरका सदस्यले कुरा अन्तै मोड्थे।

उनकी दिदी रत्नादेवीले मादल बजाउनुहुन्थ्यो । मादलको आवाजसँगै पुग्थे, उनी पनि अर्कै दुनियाँमा । मादलको घिन्ताङ–घिन्ताङले उनको कलिलो मस्तिष्कमा डेरा जमायो । ‘दिदीले बजाएको त्यही मादलको तालसँग रमाउँदै बनेको हुँ यत्तिको,’ उनले भावुक मुद्रामा भने ।बानेश्वरस्थित गीतकार सुशील बोहराको राइझुमा रेस्टुरेन्टमा हामी गफिँदै गयौँ । मैले खोतली रहेँ, उनको विगतको पाटो । जुनेली रातमा गाउँमा कसैको बिहेमा बाजा बजेको सुनेपछि उनी नाच्न थाल्थे, एक्लै आफ्नो आँगनमा।

आमा रत्नादेवीले भन्थिन्, ‘मान्छेले देखेपछि फलानाको छोरो बहुलायो भन्लान् । यो के गरेको तैँले ?’ उनी आमालाई नटेरी नाच्थे ।धनगढीको सरस्वती राष्ट्रिय प्राविमा ४ कक्षामा पढ्नेताका काकापट्टीको भाइको पास्नीमा पहाडबाट छलिया नाच्न पाँच–सात जनाको एउटा समूह बोलाइएको रहेछ।

हर्षोल्लासको रूपमा गरिने नृत्य हो, छलिया । बाइसे–चौबिसे राजाका पालामा र त्यसअघि पनि विजयपछिको हर्षोल्लासमा एउटा वर्गले छलिया नृत्य देखाउने गथ्र्यो । यसमा कोहीले हातमा रुमाल लिएर नृत्य गर्छन् भने कोहीले खुकुरी अथवा तलबार लिएर । हिजोआज प्रायः बिहे, पास्नी भोजहरूमा यो नृत्य देखाइन्छ । उनी भन्छन्, ‘यो एक अनौठो नृत्य छ । यसलाई हेर्दा मात्र पनि बालकदेखि वृद्धसम्मका जसले पनि जिउ हल्लाउन पुग्छन् । यो नाच पूर्वमा सीधा ढल्केर नाच्छन् भने मध्य तथा सुदूरपश्चिममा भुइँतिर लच्केर नाच्छन्।’

दिदीले साँच्चै कुष्ठरोगी सम्झेर भावुक बन्दै आँसु पुछिरहेकी रहिछन् । नाटक सिद्धिएपछि देबु त्यही पहिरनमा दिदीलाई ढोग्न पुगे । दिदीले चकित परेर भनिन्, ‘ए तँ पो होइ ?’

पहाडबाट आउनेले छलिया नाच देखाएको दुई–तीन महिनापछि दसैँका अवसरमा उनले पढ्ने स्कुलमा सांस्कृतिक कार्यक्रम गरिएको रहेछ । उनले नाचमा भाग लिए, धेरैले उनको प्रशंसा गरे । कार्यक्रम हेर्न पुगेका ऐश्वर्य विद्यानिकेतनका शिक्षकहरूले आफ्ना विद्यार्थीलाई पनि नाच सिकाइदिन उनलाई बोलाए । उनी गएर सिकाए । केही समयपछि युनेस्को क्लबबाट दुई–तीनपटक नाच देखाए । यसको केही समयपछि उनी सुदूर पश्चिमाञ्चल सांस्कृतिक समूहमा आबद्ध भए, नाच देखाउन थाले।

पछि उनले जनचेतना जोगाउने उद्देश्यले कुष्ठरोगसम्बन्धी सडक नाटक खेल्ने अवसर पाए । नाटक खेल्ने अर्का पात्र थिए, डोटीका प्रेम विक । २०५७ मा उनै प्रेम विकले निर्देशन गरेको नारीको आवाज शीर्षकको नाटकमा खेल्न देबुलाई डोटी बोलाए । त्यतिबेला डोटीमा नाटक महोत्सव चलिरहेको थियो । संयोगले त्यहीँ भेटिए, डा. तुलसी भट्टराई र नीर शाह । नृत्यबाट प्रभावित भएर नीर शाहले उनलाई काठमाडौं आउने निम्तो दिए।

त्यही वर्ष काठमाडौं आएर उनले नीर शाहलाई भेटे । नीर शाहको सिफारिसमा उनले प्रज्ञा–प्रतिष्ठानमा जागिर पाए । प्रज्ञा–प्रतिष्ठानमा उनले पाँच वर्ष जागिर गरे । त्यही जागिरको दौरानमा मालती मंगले, सहनशिला सुशीला, अम्बरसिंह जस्ता नाटकमा खेल्ने अवसर पाए । नाम चलेका निर्देशकसँग नाटक सिक्ने मौका पाए । अमरसिंह नाटक खेल्ने क्रममा काठमाडौंकी जमुना तिवारीसँग उनको प्रेम बसेछ । त्यही प्रेम पछि विवाहमा परिणत भयो । अहिले उनी दुई छोरा र श्रीमतीका साथ काठमाडौंमै बस्छन्।

धनगढीमा नृत्य गर्न जाँदा दर्शकले आफूले लगाएका सक्कली गहना फुकालेर दिएको उनी सम्झन्छन् । उनी भन्छन्, ‘त्यो माया, विश्वास र स्नेह अवर्णनीय छ ।’प्रज्ञा–प्रतिष्ठानमा जागिरे हँुदा राधेश्याम प्रधान र श्याम खड्कीको संगतबाट उनले पञ्चभूत, बज्रयोगिनी, मञ्जुश्रीजस्ता नृत्य सिके । तर अहिलेसम्म उनका कुनै औपचारिक गुरु छैनन् ।
धनगढीबाट काठमाडौं प्रवेश गर्दा उनी २२ वर्षका थिए।

जागिर गर्ने क्रममा सुरुसुरुमा कसैले वास्ता गर्दैनथे । जिउभरि टाँसेका ५१ वटा मैनबत्ती जलाएर नृत्य प्रस्तुत गर्दा दर्शक चकित परेछन् । तर, धेरैजसो ठाउँमा उनलाई उक्त नृत्य देखाउन प्रतिबन्ध लगाइयो, हलमा आगलागी हुन सक्छ भनेर । राष्ट्रिय सभागृह, राष्ट्रिय नाचघर, प्रज्ञा–प्रतिष्ठानलगायत हलहरूमा आजका दिनसम्म पनि उनलाई उक्त नृत्य देखाउन प्रतिबन्ध लगाइएको छ।

उक्त नृत्य हलमा एक–दुईपल्ट मात्र देखाउन पाए पनि पत्रपत्रिकामा भने राम्रै स्थान दिएछन् । उनी भन्छन्, ‘मान्छेले वाच गरिरहेका हँुदारहेछन् । केही समयपछि नेपाल टुरिजम्बोर्डबाट उनको खोजी गरिएछ । सम्पर्क सूत्र बनेछन्, उनै नीर शाह । उनलाई प्रस्ताव आयो, नृत्य देखाउन सिंगापुर जाने । उनी गए । यसपछि नृत्य प्रस्तुत गर्नै कोरिया पनि गए । त्यहाँ देबुको मैनबत्ती नृत्यको फोटो होर्डिङबोर्डमा देखेपछि दर्शक ओइरिएछन्।

सुदूरपश्चिमको टिपिकल छलिया ड्रेसमा सजिएको नौजवान देखेर कोरियामा धेरैले निकै नै गहिरिएर उनलाई हेरे । उनी भन्छन्, ‘कैयौँ मान्छे सामुन्ने आएर हात मिलाउँथे । आफ्नै भाषामा खै के के भन्थे । सायद बधाई दिएका होलान् । नृत्यको प्रशंसा गरे होलान् । कोरियन भाषाको ज्ञान नभएकाले मैले केही बुझिनँ । मात्र मुस्कुराइरहेँ।’

त्यसपछि उनले २०६३ सालमा भारतको जवाहरलाल नेहरु कलेजमा छलिया नृत्य देखाउने अवसर पाए । दिल्लीको अशोका होटलमा पनि मैनबत्ती नृत्य देखाउँदा साथमा थिए, टुरिजम् बोर्डबाट दिवाकर राणा । उनै राणाले लगेका थिए उनलाई भारतमा । नृत्यपछि होटेल मालिक राज निगमले भनेछन्, ‘तपाईंले नाच्दा मेरो होटेल नै हल्लियो । तपाईंसँग अद्भुत प्रतिभा रहेछ । तपाई यतै बस्नुस म तपाईंका लागि केही गर्छु ।’देबुले राज निगमको प्रस्ताव अस्वीकार गरे, म आफ्नै देशमा केही गर्छु भनेर।

उनी भन्छन्, ‘मलाई अवार्ड र पदको मोह बिल्कुल छैन । कुनै दिन सुदूरपश्चिमको कला–संस्कृति काठमाडौं र विदेशमा कसरी पुग्यो भन्ने कुराको खोजी होला, यो फिल्डमा अरु काम गर्न सकेँ भने । संस्कृति नै रहेन भने हामीले आफूलाई कसरी चिनाउने । यो सोचनीय पाटो हो।’

काठमाडौंमा उनलाई यो क्षेत्रमा सहयोग गर्ने अर्को नाम हो, बिना जोशी । उनले पहिलो भेटमा भनेकी थिइन्– दाइ, हामी मिलेर केही गरौँ । बिना गायिका बन्न चाहन्थिन् । देबुको आफ्नै क्षेत्र थियो, नृत्य । प्रशंसा संरक्षण समूहका अध्यक्ष अम्बादत्त भट्टसँग बिनाले देबुलाई भेटाइदिइन् । बिनाकै पहलमा अम्बादत्तले प्रशंसा संरक्षण समूहको भ्रातृ संस्थाका रूपमा प्रशंसा कला समाज गठन गरिदिए ।

जसको अध्यक्ष देबु बने । त्यसपछि काठमाडौंमा मनाइने सुदूरपश्चिमका गौरा बिसँुजस्ता चाडपर्व र सांस्कृतिक कार्यक्रममा देबुकै समूहले नृत्य देखाउन थाल्यो । गायिका बन्ने सोच त्यागेर बिनाले देबुसँगै नृत्य सिकिन् र उनकै समूहमा बसिन् । देबु भन्छन्, ‘बिना बहिनी राम्रो नाच्ने भइसकेकी थिइन् । तर, बिहे गरेर पश्चिमतिरै फर्किन र यो क्षेत्र नै छाडिन् ।’अहिले उनको समूहमा छलिया नृत्यदेखि अन्य नृत्यमा देखा पर्छन्– धरानकी मेरी राई, काठमाडौकी पार्वती श्रेष्ठ र लक्ष्मी तिवारी ।

धनगढी बजारमा कुष्ठरोगसम्बन्धी सडक नाटकमा उनले बूढोको भूमिका निर्वाह गरेका थिए । त्यो नाटक हेर्न उनकी दिदी पनि पुगिछन् । दिदीले साँच्चै कुष्ठरोगी सम्झेर भावुक बन्दै आँसु पुछिरहेकी रहिछन् । नाटक सिद्धिएपछि देबु त्यही पहिरनमा दिदीलाई ढोग्न पुगे । दिदीले चकित परेर भनिन्, ‘ए तँ पो होइ ?’

उनी त्यही भेषमा आफ्नो घर पुगे । सेताम्मे कपाल लाठी टेकेर कुप्रो परेको बूढो मान्छे आँगनमा देखेपछि आमाले सोधिन्, ‘बड्डाउ को हौ ? काँ काँ हौ ?’‘हजुर यहीँ आया हुँ । पानी मिलला कि ?’आमा पानीको लोटा बोकेर छेवैमा पुगुन्जेल उनले हाँसो रोक्न सकेनछन् । देबु सम्झन्छन्, ‘त्यसपछि लाठी समातेर ओठको हाँसो दबाउँदै कति सताउन सकेको यइले भन्दै आमाले लखेट्नुभयो । मलाई एकछिन लखेटेपछि थाकेर आमा हाँस्न थाल्नुभयो।’

छोराले छकाएपछि देबुकी आमाले पनि तुरुन्तै एउटा नयाँ योजना बनाइन् । आमा देबुलाई लगेर छिमेकको घरमा पुगिछन्, जहाँ नयाँ दुलही भित्रिएको त्यस्तै नौ–दश दिन भएको थियो । उनको नाम थियो, दुर्गा । दुर्गा घरमा नभएको कुरा आमालाई थाहा थियो र लगिन देबुलाई सिकाएर । आँगनमै थिइन्, दुर्गाकी सासु । देबुले भनेछन्, ‘हजुर, म दुर्गाको कान्छो बुवा हो । दुर्गाको घर यही हो ? आमा हाँसो लुकाएर चुपचाप उभिरहिन् । देबुलाई भित्रै बस्न आग्रह गरियो । ढोगभेटका लागि टीका तयार गरेर ल्याइएछ । जब टीका लगाउन औँला निधार नजिक पुग्न थाले, अनि बेसरी हाँसेछन् देबु । बल्ल चिनेछन्, नक्कली काका बनेको देबुलाई।

देबु भन्छन्, ‘थुप्रै छन् यस्ता किस्सा, पहिले अलि उट्पट्याङ थिएँ म ।’देबुले हिजोआज प्रसिद्धि कला समूह स्थापना गरेका छन्, काठमाडौं कालोपुलमा । जहाँ मोर्डन र सांस्कृतिक दुवै नृत्य सिकाइन्छ । उनी भन्छन्, ‘करिब चार–पाँच सय शिष्य तयार गरेँ, मोर्डन नृत्यमा । अहिलेसम्म विशुद्ध सांस्कृतिक नृत्य सिक्नेको संख्या मुस्किलले एक सय ५० पुग्ला।’

प्रकाशित: २९ वैशाख २०७५ ०१:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App