८ वैशाख २०८१ शनिबार
समाज

फोहोर व्यवस्थापन गर्न २० लाख

विषादी सुलीका कारण दुषित पानीमा दुर्गन्ध कम गर्नलाई चुना हाल्दै । तस्बिर : मोहन गुरुङ

स्याङजा – आँधीखोलामा एमोनियायुक्त सुली मिसाएको पुष्टि भएपछि खिलुङ कालिका एग्रो फर्मले आँधीखोलाको फोहोर व्यवस्थापनका लागि २० लाख रुपैयाँ दिएको छ। एमोनियायुक्त सुलीले आँधीखोलाका जलचरहरु सोत्तर भएका थिए। सुलीको एमोनियाले गर्दा जलचर मरेको पुष्टि मिर्मीस्थित मत्स्य विकास केन्द्रले गरेको हो। 

गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले आँधीखोलाको फोहोर व्यवस्थापन गर्न खिलुङ कालिका एग्रो फर्मले २० लाख रुपैया दिने सहमति भएको बताए । मरेका माछाको व्यवस्थापन, पानीको दुर्गन्ध कम गर्न, मानवीय क्षति हुन नदिन र आँधीखोलाको फोहोर व्यवस्थापन गर्न २० लाख रुपैयाँ दिने सहमति भएको जानकारी दिए। ‘कानुनमा के लेखिएको छ हामीले वास्ता गरेनौं’, प्रमुख अधिकारीले भने, ‘नगरपालिकाको खातामा २० लाख दिने सहमति भएको छ।’ जलचर संरक्षण ऐन प्रमुख जिल्ला अधिकारीले हेर्ने भन्दै उनी दोषीलाई कार्वाही गर्न पछि हटेका थिए। प्राविधिक टोली गठन भएपनि अझै के कति क्षति भएको हो भन्ने बाहिर ल्याएको छैन। तर, गल्याङ नगरपालिका दोषीलाई बिना कार्वाही आर्थिक प्रलोभनमा छुट्कारा दिने तयारीमा देखिन्छ। 

खिलुङ कालिका फर्मका कार्यकारी निर्देशक शोभाकान्त ढकालले कुनै पनि शिर्षकमा एक रुपैयाँ नछुटाएको दाबी गरेका छन् । उनी आँधीखोलाका जलचर सुलीकै कारणले सखाप भएको भन्नेमा सजिलै स्वीकार्न तयार छैन। घटनाको बारेमा कम्पनी (फर्म) को तर्फबाट पनि अनुसन्धान भैरहेको उनले जानकारी दिए । ‘घटनाको विषयमा मलाई पनि शंका छ,’ उनले भने, ‘अनुसन्धान भैरहेको छ ।’ दोषी प्रमाणित नभएसम्म कसरी जरिवाना तिर्ने उनले प्रतिप्रश्न गरे। 

दोषीलाई कार्वाहीका लागि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौंलाले जलचर संरक्षण ऐन–१७ अनुसार मुद्दा चलाएका छन्। घट्नाको छानबिनका लागि मत्स्य विकास केन्द्र मिर्मीलाई निर्देशन दिएको उनले बताए। मत्स्य विकास केन्द्र मिर्मीको प्रतिवेदनको आधारमा कार्वाही तथा जरिवाना गरिने उनको भनाई छ । जलसंरक्षण ऐन २०१७ अनुसार हानी नोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति भराई पाँच हजार रुपैया सम्म जरिवाना हुनेछ । हानी नोक्सानीको मुल्याङ्कन गर्दा मत्स्य प्राविधिक अधिकारीलाई संलग्न गराउनुपर्नेछ । स्थानीय सरकारको फोहोरमैला ऐन अनुसार कसुर हेरेर पनि कार्वाही तथा जरिवाना गर्नसक्नेछ दोहोरो कानुनी प्रावधान छ । जिल्ला वन कार्यालय स्याङ्जाले पनि घ्नाको सत्य तथ्य बुझी कार्वाही गरेको विवरण सहितको प्रतिवेदन माग गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए । एक÷दुई दिन भित्रै प्रतिवेदन आउने र कार्वाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए। 

जिल्ला समन्वय समितिको मंगलबार बसेको ११ औं बैठकले आँधीखोलामा सुली मिसाएको आरोपमा खिलुङ कालिका एग्रो फर्मलाई कार्वाहीका लागि मुद्दा हाल्ने निर्णय गरेको छ। आँधीखोला सुली प्रकरणको विषयमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा हाल्ने तयारी भैरहको जिल्ला समन्वय उपप्रमुख दीलिप बगाले बताए । ‘जिल्ला समन्वयबाट छिट्टै मुद्दा दर्ता गर्दैछौं,’ उनले भने, ‘दोषीलाई कानुनी कठघरामा ल्याएरै छाड्छौं ।’ संस्थागत रुपमा अप्ठ्यारा स्थिति सिर्जना भएमा व्यक्तिगत रुपमा आफैले मुद्दा दर्ता गर्ने उनले प्रतिबद्घता व्यक्त गरे। 

मंगलबार राति भिरकोट नगरपालिका–६ मा सञ्चालित कालिका एग्रो फर्ममा अज्ञात समूहबाट बम विष्फोट गराइएको थियो । घटनाको बारेमा आज सम्म कसैले जिम्मा लिएको छैन । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए । घटनास्थलमा प्रेसर कुकरका टुक्रा जस्तै देखिने वस्तु भेटिएको उनले बताए । विष्फोटबाट फर्म पछाडि राखिएको दुई वटा जेनेरेटर र जेनेरेटरको लागि बनाइको भवनमा क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङजा जनाएको छ । बिष्फोटबाट करिब ३५ लाख क्षति भएको फर्मका कार्यकारी निर्देशक शोभाकान्त ढकालको दाबी छ। 

प्रकाशित: २८ वैशाख २०७५ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App