७ वैशाख २०८१ शुक्रबार
कला

‘दृश्यांश’मा ‘रात १३’ पहिलाे

काठमाडौँ – पहिले चलचित्र निर्देशकले मात्र चलचित्र बनाउन सक्छन् भन्ने मान्यता थियो । चलचित्र छायाङ्कन गर्ने काम व्यावसायिक व्यक्तिले मात्र गर्थे । 

मोबाइल फोनको आविष्कारसँगै अहिले त्यो मान्यता हराउँदै गएको छ । अमेरिकामा सर्वप्रथम सन् २०१५ मा मोबाइल फोनमार्फत दृश्य खिंचेर प्रतिष्पर्धा हुन थालेपछि नेपालकी सम्पदा मल्लले पनि नेपालमा त्यसको सम्भाव्यता परिकल्पना गरिन्। 

मल्लको परिकल्पनालाई सर्वनाम थिएटरले पूरा गरिदिएको छ । ‘दृश्यांश’ नाम दिएर विसं २०७४ देखि उनले खुला प्रतिष्पर्धाको आयोजना गरिन्। “पहिलो संस्करणको सफलतापछि दोस्रो संस्करणमा ६०० वटा फिल्मलाई संकलन गराइयो”, मल्लले भनिन्। 

नेपालका विकटदेखि विश्वका विकसित ठाउँबाट समेत चलचित्र सामेल गरिएको उनले बताइन्। ‘दृश्यांश’ आगामी दिनमा विश्वस्तरमा प्रतिष्पर्धा गर्ने योजनामा सर्वनाम थिएटर छ । कला र सिर्जना सबैसँग हुन सक्छ भन्ने मान्यताका साथ थिएटरले नवप्रतिभालाई खुलारुपमा स्थान दिँदै आएको छ । साथै थिएटरले थोरै मूल्यमा पनि फिल्म र प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने मान्यतालाई समेत आत्मसात् गर्दै आएको छ। 

शुरुमा ६०० मोबाइलबाट खिंचिएका दृश्यलाई सहभागी गराएको थिएटरले अन्तिम दशलाई छनोट गर्‍यो । प्रसिद्ध कलाकारबाट छनोट गराइएका ती चलचित्रलाई पुरस्कारसमेत घोषणा गरियो। 

छनोटमा प्रमुख भूमिका निर्वाह गर्ने कलाकार तथा निर्माता निश्चल बस्नेत भन्छन्, “फिल्म कसैलाई मन पर्ने र नपर्ने हुने खालका हुन्छन्, एकलाई मन परेको अर्कोलाई मन नपर्न सक्छन् ।” एक जनाले अन्तर्राष्ट्रियस्तरमा प्रतिष्पर्धा गर्न सक्नु सबैभन्दा ठूलो भएको उनी बताउँछन् । सबैलाई अवसर दिन सके मात्र कोसँग कस्तो खूबी छ थाहा हुने उनको भनाइ छ।

सर्वनाम थिएटरका प्रमुख अशेष मल्ल कलाकर्मीलाई सधैँ सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्छन् । सम्पदाको परिकल्पना राम्रो लागेपछि त्यसलाई पूरा गर्न थिएटरले साथ दिएको उनले जानकारी दिए। 

थिएटरले प्रतिष्पर्धामा जित्ने १० प्रतियोगीलाई सम्मान तथा पुरस्कृत गर्‍यो जसमा ‘रात १३’ पहिलो स्थान पाउन सफल भयो। अनुष आचार्यबाट निर्देशित दुई मिनेटको उक्त मोबाइल फिल्ममा श्रीमान् बाहिर गएकाका श्रीमती कसरी परपुरुषसँग अनैतिक सम्बन्ध गाँस्न पुग्छन् र अन्त्यमा उनीहरुको हत्या हुन्छ भन्ने कथा देखाइएको छ। 

चलचित्र निर्माणको समूहलाई थिएटरले रु ७५ हजारसहित सम्मान गरेको थियो। त्यस्तै दोस्रो हुने आदित्य शर्माको ‘ढलपल’लाई सामसुङको आइप्याडसहित तथा तेस्रो हुने ‘द इन्टरभ्यू’ को समूहलाई आइप्याडसहित सम्मान गरिएको थियो। 

प्रकाशित: २८ वैशाख २०७५ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App