coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

राष्ट्रिय महिला लिग भलिबल जेठ चौथो सातामा

काठमाडौँ – चौथो राष्ट्रिय महिला क्लब लिग भलिबल आगामी जेठ चौथो साता हुने भएको छ। 

भलिबलप्रति युवापुस्तालाई आकर्षित गर्ने लक्ष्यका साथ छ टोलीको सहभागिता रहने प्रतियोगिता जेठ २१ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुने नेपाल भलिबल संघका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए। 

राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, शिवम् न्यू डायमन्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र चितवनको पद्मोदय क्लबले प्रतिस्पर्धा गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। 

प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुने टोलीले रु ५० हजार र चौथो हुने टोलीले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रु २५ हजार प्राप्त गर्ने छन् । विधागततर्फ लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र उत्कृष्ट प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार पाउनेछन् । 

राष्ट्रिय वाणिज्य बैंकका कार्यकारी प्रमुख किरण श्रेष्ठले संस्थाले नेपाल भलिबल संघसँगको यात्रालाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताए। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले संघलाई अप्ठ्याराका बेला राष्ट्रिय वाणिज्य बैंकले दुई वर्षका लागि रु २० लाखको प्रायोजन गरेको स्मरण गर्दै भने, “सम्झौताको म्याद यसै वर्षदेखि सकिन्छ, हामी पुनः सहकार्य गर्नेछौँ।” 

प्रकाशित: २८ वैशाख २०७५ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App