८ वैशाख २०८१ शनिबार
अर्थ

रोपाईको तयारीमा कृषकहरू

धान रोपाईको तयारी अन्तिम चरणमा रहेका अछामको साँफेबगर स्थित खेतहरू । तस्बिर : खम्म खत्री

अछाम – अछामको साँफेबगरमा यस वर्ष पनि विगतका वर्षहरू झैँ जेठको सुरुवात देखि नै धान रोपाईको तयारी अन्तिम चरणमा रहेको छ। 

सिचाईको सुविधा भएको जिल्लाको साँफेबगर र आसपासका क्षेत्रमा जेठ १ गते देखि नै धान रोपाई सुरु गर्दछ। साँफेबगर र आसपासका क्षेत्रमा बुढीगंगा नदी तथा प्रभालीगाडको पानीबाट सिचाईको सुविधा भएकाले हरेक वर्ष जेठको सुरुवातसँगै धान रोपाई सुरु हुने गर्दछ।

साँफेबगर नगरपालिका १ वैद्यनाथ स्थित देशकै चार धाम मध्येको एक बैद्यनाथ धाममा रहेका पिरले नजिकै मष्टामाण्डौमा रहेको गुठी जग्गामा बैशाख ३० गतेका दिन पोथी सार्ने (पहिलो पटक धान रोप्न सुरु) काम गरेपछि मात्र जिल्लामा आधिकारिक रुपमा धान रोप्न सुरु हुने परम्परा रहिआएको छ। वैद्यनाथ धाममा रहेका पिर तथा बटुकहरुले बाजागाजासहित आएर साँफेबगरमा रहेको गुठीको जग्गामा प्रत्येक वर्ष वैशाख ३० गते धान रोप्ने गर्दछन्। 

यस वर्ष पनि वैशाख ३० गते नै पोथीसार्ने काम भएकै दिनबाट मष्टामाण्डौमा धान रोप्न सुरु हुने स्थानीय कृष्ण कुँवरले जानकारी दिए । सिचाईको सुविधा तथा यस वर्ष लोमो खडेरी नपरेका कारणले प्रसस्त पानीको बीचमा रोपाई सुरु हुन लागेको उनले बताए । ‘सिचाईको सुविधाले गर्दा साँफेबगरका कृषकले समयमै रोपाई गर्न पाएका छन्’ साँफेबगर नगरपालिका–४ का सर्जन कुँवरले भने। वैशाखको सुरुवातीमै धानको बेर्ना राखेर जेठको सुरुवातीबाट नै धान रोप्न सुरु हुने यस क्षेत्रमा यस वर्ष लामो खडेरी नपरेकाले गर्दा धानको बेर्ना जोगाउन त्यति मुस्किल नभएको कृषकहरूको प्रतिक्रिया छ।

अछाममा करिव साढे १६ हजार हेक्टर क्षेत्रफलमा धानको खेती गरिने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । धानको बेर्ना राख्ने र रोपाई गर्ने समयमा प्रशस्त पानी परेपछि गत वर्ष अछाममा धानको उत्पादनमा १२ प्रतिशतले बढेकोे थियो । जिल्ला कृषि बिकास कार्यालयका अछामका अनुसार गत वर्ष १२ प्रतिशतले धान उत्पादन वृद्धी भएको हो । गत वर्ष ३८ हजार नौ सय ९७ मेट्रिक्टन धान उत्पादन भएको थियो। १६ हजार पाँच सय ८० हेक्टरमा गरिएको धान खेतीमा गत वर्ष समयमै पानी परेको कारणले उत्पादन वृद्धी भएको हो।

जिल्लाको कुल खेती योग्य जमिन ५६ हजार तीन सय ४७ हेक्टर रहेकोमा ४२ हजार चार सय १३ हेक्टर क्षेत्रफलमा अन्नबाली लगाउने गरिन्छ । जंगली जनावर बँदेलले हिउँदे बाली मात्र नभई बर्खेबाली तथा तरकारी बाली खाएर किसानलाई हैरान थालेपछी खेती योग्य जमिन पनि खेती नगरेर बाँझै छोड्ने गरेको किसानहरूको भनाई छ। 

प्रकाशित: २८ वैशाख २०७५ १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App