coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

घडेरी पाउँदा हर्षको सीमा छैन चेपाङको

हेप्चेक - बाँदर लड्ने ठाडो भिरमा खोपेर बनाइएको घर । वर्षाैदेखि बस्दै आएपनि २०७२ सालको विनाशकारी गोरखा भूकम्पले त्यही पूरै घर भत्कायो।

अन्यत्र जाने विकल्प नभएपछि विकट काउलेस्थित हेप्चेकको पखेरोमै दुःखजिलो गरेर ओत लाग्ने झुप्रो घर बनाएर बसेको तीन वर्ष भएको छ। हावाहुरी र मेघ गर्जंदा गाउँले डराएरै बस्थे।‘डरैडरमा बित्यो,’ तुलबहादुर चेपाङ मुहार उज्यालो पार्दै भन्छन्, “अब घडेरी पायौं, खुसी भएकाे छु सर ।” सरकारले नजिकै रहेको दुम्किम भन्ने गाउँमा घडेरी उपलब्ध गराएपछि यहाँका चेपाङहरुमा खुशीको सीमा छैन् ।

विसं २०७२ वैशाख १२ गतेको ‘गोरखा विनाशकारी भूकम्प’ आउँदा सोही गाउँकी उजेलीमाया चेपाङले जंगलबाट ल्याएको घाँस बिसाउन मात्रै के भ्याएकी थिइन्, एक्कासि जमिन हल्लियो । डाँडो फनफनी घुमेको महसुस भयो । आँखै अगाडि क्षणभरमै आफ्नो ओत लाग्ने घर ध्वस्त भयो। उनी जस्तै हेप्चेकका बुद्धबहादुर चेपाङको घर पनि त्यसैगरी क्षणभरमै ध्वस्त भयो।‘जमिन नै कमजोर भयो, डाँडो नै चर्केको थियो, तुलबहादुरले भने, “अझै पनि झरि, बादल हुँदा डरलाग्छ बस्दैन ।” जब गड्याङगुडुङ हुन्छ उक्त गाउँका बासिन्दा अहिले पनि त्रासमै छन्। यो तीन वर्ष यस्तै गरेर बिताए।

भूकम्पपछिको महिनौंसम्मको रात उनीहरु घरमा बसेनन् । नजिकैको दुम्किममा गएर बास बसेको अनुभव उजेलीमायालाई छ ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको विज्ञ समूहले हेम्चेकको स्थलगत अध्ययन गर्दा सो क्षेत्र जोखिम भनेर बस्ती सार्ने निर्णय गरेको थियो । सामान्यतयाः ३० डिग्रीभन्दा बढी ठाडो जग्गामा बस्न मिल्दैन।उनीहरुको गाउँ छङ्गाछुर भिर देखिन्छ । विगतमा ठूलो प्रयास गर्दा पनि बस्ती सर्न नसकेका उनीहरुका लागि खुसीको परिणाम मिल्यो । नजिकै रहेको सुरक्षित स्थान दुम्किममा पीडितमध्ये आठ घरले जग्गा प्राप्त गरेका छन्।

जोखिममा रहेका ११ घरमध्ये एक घर सम्पर्कमा आएको छैन । भूकम्पपीडित कालु चेपाङ र बोमबहादुर चेपाङले नजिकै घुर्केस भन्ने स्थानमा जग्गा खोजेका छन् । अन्य होमबहादुर चेपाङ, रामबहादुर चेपाङ, तुलबहादुर चेपाङ, बलवान चेपाङ, थाकु चेपाङ, बुद्धबहादुर चेपाङ, भगवान चेपाङ र उजेली चेपाङको परिवार दुम्किममा स्थानान्तरण हुने भएका छन्।उनीहरुका लागि पुनःनिर्माण प्राधिकरणले प्रतिघडेरी अधिकतम रु दुई लाख दिन्छ। घर निर्माणका लागि सरकारबाट रु तीन लाख आउँछ । आगामी असार मसान्तसम्ममा उनीहरुले जग तयार गरे भने दोस्रो किस्ताबापतको रकम पाउँछन्।

स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै दुम्किममा आइपुगेका उनीहरुलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय चितवनका प्रमुख पुष्कर पोखरेलले जग्गा पक्का भएको खबर सुनाउँदा उनीहरु हर्षित भए । घर पाउने पक्का भएपछि भूकम्पपीडित तुलबहादुरले हर्षित हुँदै भने, “अब छिट्टै घर बनाउने र बस्ने हो ”चितवनको विकट क्षेत्र इच्छाकामना गाउँपालिका–२ हेच्चेकको जोखिम क्षेत्रका आठ घर भूकम्पपीडितले सुरक्षित स्थानमा जग्गा प्राप्त गरेपछि बिहीबारदेखि जग्गाधनी पूर्जाका लागि उनीहरुले प्रक्रिया शुरु गरिसकेका छन्।

चितवनको राप्ती नगरपालिकाको एसिखाई र तापाङका १३ घरलाई स्थानान्तरणका लागि जग्गा उपलब्ध गराइसकिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय चितवनका शाखा प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए।उनीहरुले जग्गाधनी पूर्जासमेत प्राप्त गरिसेका छन् । पूजालिंँदै स्थानीयवासी विविमाया चेपाङले भने, “घर बनाएर बस्ने हो सर खशी भा छ ।” यता इच्छाकामना–४ तीनघरेका पाँच घर पीडितलाई लेवाटारमा जग्गा उपलब्ध गराइएको छ।

जिल्लाका अन्य क्षेत्रमा स्थानान्तरणका लागि आवश्यक प्रक्रिया चलिरहेको छ । इच्छाकामनाका अन्य धेरै पीडित राहत लिने प्रक्रियामै रहेको गाउँपालिकाको भूकम्प पुनःनिर्माणका स्रोत व्यक्ति राजन घिमिरेले बताए।जिल्लामा जोखिम क्षेत्र पहिचान भएका कूल १०२ घर स्थानान्तरण गर्नुपर्नेमा अहिलेसम्म ३५ घरका लागि पैसा आएको छ । २१ घरले जग्गाका लागि रकम प्राप्त गरिसकेको र अन्यको प्रक्रियामा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।

इच्छाकामना गाउँपालिकाका ८३, राप्ती नगरपालिकाका १८ र कालिका नगरपालिकाका एक घर स्थानान्तरण गर्नुपर्नेछ। चितवनमा सात हजार ३३५ बढी भूकम्पपीडित भए पनि घर निर्माणको किस्ता वितरणको काम इच्छाकामना गाउँपालिकाबाहेक अन्य नगर र महानगरमा सुस्त छ।रासस

 

प्रकाशित: २८ वैशाख २०७५ ०७:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App