coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

जावलाखेल पुर्याइयो मछिन्द्रनाथको रथ

रातो मच्छिन्द्रनाथको रथ बिहीबार जावलाखेल पुर्याइएको छ । लगनखेलस्थित थतीटोलमा रहेको रथलाई बिहीबार ४ः३० बजे कुमारीपाटी हुँदै जावलाखेल पुर्याइएको हो । रथ जावलाखेल पुर्याएको चौंथो दिन (वैशाख ३० गते) अपराह्न ५ बजेपछि मछिन्द्रनाथको भोटो देखाउने साइत जुरेको छ।

भोटो जात्रामा राष्ट्रपतिलाई सहभागी गराउने चलन छ । गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिलाई मछिन्द्रनाथको भोटो देखाउने छन् । मछिन्द्रनाथको रथजात्राअन्र्तगत भोटो देखाउने जात्रालाई मुख्य आर्कषकका रूपमा पनि लिइन्छ । रथजात्रा करिब १६ सय वर्षअघि सुरु भएको किवदंती छ।

रथलाई जावलाखेल लगेपछि चौथो दिनसम्म विभिन्न पूजाआजा गर्ने चलन रहेको शाखा प्रमुख पौडेलले जानकारी दिए । उनले साइतअनुसार वैशाख ६ गते बेलुकी ५ बजे पुल्चोकबाट रथयात्रा आरम्भ भएको बताए । ‘जात्राको पहिलो दिन पुल्चोकस्थित मच्छिन्द्रवहालमा रहेको रथलाई तानेर गांःवहालमा पुर्याइएको थियो,’ उनले भने, ‘त्यसपछि क्रमशः मंगलबजार, चक्रबहिल, सुन्धारा, लगनखेल, बालकुमारी, इटीटोल, पोडेटोल हुँदै पुनः लगनखेलमा लगिएको थियो, बिहिबार साइत अनुसार जावलाखेल लगियो।’

उनका अनुसार थटीटोलबाट जावलाखेल लैजाँदा पश्चिम गमन हुने भएकाले साइत हेर्ने परम्परा चलेको थियो ।
रथलाई जावलाखेलमा पु¥याएको चौथो दिन भोटो जात्रा मनाइन्छ । जात्रा अवलोकन गर्न प्रधानन्यायाधीश, उपसभामुख, संवैधानिक निकायका प्रमुख, मन्त्री, सांसद तथा स्थानीय तहका कर्मचारी समेत पुग्ने गर्छन्।

किंवदन्तीअनुसार नागराजाले ज्यापूलाई उपहारस्वरूप दिएको भोटो राक्षसले चोरेर लैजान्छ । जावलाखेलमा रातो मच्छिन्द्रनाथको जात्रामा हेर्न त्यही भोटो लगाएर राक्षस आएपछि ज्यापूसँग उसको झगडा पर्छ । विवाद मिलाउन बहुमूल्य रत्नजडित त्यो भोटो रातो मच्छिन्द्रनाथको जिम्मा लगाइन्छ । भोटो जावलाखेल पुगेको चौथो दिनमा कसको भोटो हो, प्रमाणसहित लिन आऊनू भनेर देखाइएको जनश्रुति छ।

त्यही बेलादेखि हरेक वर्ष यो परम्परा रहँदै आएको मच्छिन्द्रनाथका पूजारी निमराज पानेजूले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाको सबैभन्दा लामो र प्रसिद्ध यो जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले वि. सं. ५४६ मा यो जात्रा सुरु गराएको पौराणिक कथन छ । हिन्दू धर्मावलम्बीले मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्तगुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले ‘पद्मपाणिु (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा ।

संस्कृतिविद् हरिराम जोशीले भोटो जात्राको किंवदन्ती फरक रहेको बताए । उनका अनुसार यो भोटो देखाउने जात्रा नागराजासँग सम्बन्धित छ । ‘नाग राजाकी श्रीमतिलाई आँखाको रोग लागेपछि ती नागले ललितपुरका किसानलाई बोलाएका थिए,’ उनले भने, ‘ती किसानले सहजै नागकी श्रीमतीको रोग पत्ता लगाउन सकेनन् । केही सोच्दै हात सुर्ती माड्दै थिए, हत्केलामा माडेको सुर्तीबाट मयल निस्कियो,’ उनले भने, ‘त्यही मयललाई औषधिको रुपमा सेवन गर्न आग्रह गर्दै नागलाई दिए । त्यो औषधिले नागकी श्रीमतीको रोग निको पार्यो।’

रथलाई जावलाखेल पुर्याएको चौंथो दिन भोटो जात्रा मनाइन्छ । जात्रा अवलोकन गर्न प्रधानन्यायाधीश, उपसभामुख, संवैधानिक निकायका प्रमुख, मन्त्री, सांसद तथा स्थानीय तहका कर्मचारी समेत पुग्ने गर्छन्।

उनका अनुसार श्रीमतीलाई निको भएको खुसीयालीमा नागराजाले किसानलाई रत्नजडित भोटो दिएर गए । फोटो पाएपछि किसान फुरुक्क भए । उनी त्यही भोटो लगाएर हिँड्न थाले । एक दिन किसानले खेतमा भोटो फुकालेर काम गर्न थाले । सोही बखतमा भूतले भोटो चोरेर लग्यो ।

पछि एक जात्रामा भूत र किसानको जम्काभेट भयो । त्यसपछि उनीहरूबीच भोटोको विषयमा झगडा भयो । आपसी झगडा नमिलेपछि उनीहरू मच्छिन्द्रनाथकहाँ पुगे । मच्छिन्द्रनाथले त्यसको प्रमाण मागे । तर, दुवैले प्रमाण पेस गर्न सकेनन् । त्यसपछि उक्त मोटो मच्छिन्द्रनाथले नै राखे । उक्त समयदेखि भोटो कस्को हो भनेर चारैतिरबाट भोटो देखाउने जात्रा सुरु भएको किंवदन्ती छ ।

भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पुर्याइएकोे छ । त्यहाँ ६ महिनासम्म राखेर साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याउने परम्परा छ । यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ-छ महिना पाटन र बुङमतीमा राख्ने चलन छ । जात्राको अवसरमा सरकारले उपत्यकाभित्र सार्वजनिक बिदा दिँदै आएको छ।

 

प्रकाशित: २८ वैशाख २०७५ ०६:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App