६ वैशाख २०८१ बिहीबार
समाज

मोदीको भ्रमणमा बीस मिनेटसम्म सवारी रोकिने

काठमाडौं – छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सवारीको क्रममा काठमाडौंका केही सडकमा २० मिनेटसम्म सर्वसाधारणका सवारी रोकिने भएको छ।

दुई दिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै दिउँसो १ः३० बजे काठमाडौं आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि १० देखि २० मिनेटसम्म सवारी रोकिने भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले मोदीको सवारी हुने रुटमा १० मिनेटदेखि २० मिनेटसम्म रोकिने गरी ट्राफिक व्यवस्थापन मिलाइएको जानकारी दिए।

‘मोदीको सवारी हुने बाटोमा १० मिनेट सवारी रोकिनेछ, कमभन्दा कम समय लाग्ने गरी ट्राफिक व्यवस्थापन मिलाएका छौँ,’ उनले भने। एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने हिँड्न रोक लगाइएको छैन।

दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने मोदी त्यहाँबाट बौद्धस्थित ह्यात होटल प्रस्थान गर्नेछन्। दिउँसो ४ बजे गार्ड अफ अनरका लागि टुँडिखेल प्रस्थान गर्ने क्रममा चाबहिल, गौशाला, एयरपोर्ट, नयाँबानेश्वरलगायतका क्षेत्रमा सवारी आगमन रोकिनेछन्।

दिउँसो ४ः३५ मा उपराष्ट्रपति नन्दबहादुर पुनलाई भेट्न बहादुर भवन कान्तिपथ र राष्ट्रपतिलाई भेट्न शीतल निवास जाने क्रममा जमल लैनचौर महाराजगञ्ज हुँदै बूढानीलकण्ठ चल्ने सवारी रोकिनेछन्। बेलुका ६ बजे विभिन्न दलका नेतालाई भेट्न द्वारिका होटल पुग्ने क्रममा महाराजगञ्ज, चाबहिल, गौशालामा चल्ने सवारी साधन प्रभावित हुनेछन्।

शनिबार मुक्तिनाथ जान लागेका भारतीय प्रधानमन्त्री मोदी बिहान ६ बजे ह्यात होटलबाट विमानस्थल जाने हुँदा चाबहिल, गौशालाका सवारी आगमनमा समस्या पर्नेछ भने मुक्तिनाथ दर्शन गरेर फर्केपछि पशुपतिको दर्शन गर्न जाँदा सोही क्षेत्रमा सवारी आगमनमा समस्या पर्नेछ।

शनिबार दिउँसो नागरिक अभिनन्दनमा सहभागी हुन राष्ट्रियसभा गृह जाने क्रममा ह्यात होटलबाट चाबहिल, महाराजगञ्ज, लैनचौरको सवारी आगमन प्रभावित हुनेछन् भने दिउँसो स्वदेश फर्कने क्रममा नयाँबानेश्वर तीनकुने, सिनामंगल हुँदै विमानस्थलसम्मको सवारी आगमन हुने महाशाखाले जनाएको छ। रासस

प्रकाशित: २८ वैशाख २०७५ ०६:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App