८ वैशाख २०८१ शनिबार
अन्य

सडकपेटीका निर्माण सामग्री हटाउन अभियान

फोटो सौजन्य : चन्द्रमणि भट्टराई्

काठमाडौं महानगरपालिकाले सडक अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाउने अभियान थालेको छ । महानगरपालिकाले तीनकुने क्षेत्रमा सडक अतिक्रमण गरी राखिएका फलामे छड, सिमेन्ट, इँटालगायत निर्माण सामग्री हटाइएको हो।

मेयर विद्यासुन्दर शाक्यले सडक पेटीमा जथाभावी राखिएका निर्माण सामग्रीका कारण पैदल यात्रुले सास्ती भोगेकाले निर्माण सामग्री हटाउने अभियान थालेको बताए । उनका अनुसार निर्माण व्यावसायीले सडकमा जभाभाबी निर्माण सामग्री थुपारेका छन् ।

‘सडकमा जभाभाबी निर्माण सामग्री थुपार्दा पैदलयात्रु असुरक्षित मात्रै भएका छैनन् । गम्भीर प्रकारको दुर्घटना हुने उत्तिकै जोखिम बढेको छ,’ उनले भने । उनले सडक तथा सडक पेटी आसपासमा निर्माण सामग्री बेचविखन नरोके महानगरपालिकाले जफत गरेर लिलामी गर्ने जनाएका छन् । ‘सडक छेउमा राखिएको सिमेन्टले जनतालाई प्रत्यक्ष असर पारिरहेको छ, यसको धुलो उडेर स्वास्थ्य समेत जोखिममा छ, त्यसैले हार्डवेयर व्यावसायीले आफ्नो व्यवसाय गर्दा अरुलाई असर नपार्नेतर्फ सचेत हुनु जरुरी छ,’ मेयर शाक्यले भने, ‘आफ्नो व्यापार व्यवसाय गर्ने अधिकार सबैलाई छ । तर, व्यापार व्यवसाय गर्दा अन्यको स्वास्थ्यलाई समेत ख्याल गर्नुपर्यो नि।’

नगर प्रहरी नायब उपरीक्षक दिनेशकुमार अर्यालको नेतृत्वमा गएको प्रहरीको टोलीले व्यावसायी आफैंलाई सामान उठाउन लगाएर अतिक्रमित सडक खाली गराएको थियो । तीनकुने पार्कबाट मीनभवनतर्फको सडकका आधा दर्जनभन्दा धेरै व्यापारीले सडकपेटी नै कब्जा गरेर इँटा, सिमेन्ट, फलामे रडलगायत निर्माण सामग्री बिक्री गर्दै आइराखेका छन् ।

नगर प्रहरी नायब उपरीक्षक अर्यालले सडकमै राखिएका इँटा र डन्डीले सहरी क्षेत्र नै कुरूप बनाएकाले हटाउन थालिएको बताए । ‘असरल्ल राखिएका निर्माण सामग्रीले सडकपेटी अस्तव्यस्त मात्रै होइन, भद्रगोल देखिएको छ,’ उनले भने, ‘महानगरले एक पछि अर्काे ठाउँमा सडकपेटीमा रहेका निर्माण सामग्री हटाउँदै लैजानेछौं ।’
गौशाला, चावहिल, कोटेश्वर, बानेश्वर जस्ता तीव्र सडक व्यापार हुने क्षेत्रका सडक व्यापारीलाई हटाएको महानगरपालिकाले जनाएको छ । ‘सडकमा लुकीछिपी व्यापार गर्नेको निगरानी बढाएका छौं,’ उनले भने, ‘सडक व्यापारीलाई कारबाहीको दायरामा ल्याएर नै छाड्नेछौं ।’

तिलगंगा क्षेत्रमा भत्काइए टहरा

काठमाडौं महानगरपालिले सहरी क्षेत्रलाई व्यवस्थित गर्न अभियानकै रूपमा सञ्चालन गर्दै आएको जनाएको छ । व्यवस्थापन सुधार गर्ने क्रममा बुधबार तिलगंगा क्षेत्रका करिब ४५ अस्थायी टहरा भत्काइए । ती ठाउँमा कवाडी संकलन केन्द्र, सवारी मर्मत केन्द्र, चिया तथा नास्ताको पसल राखिएका थिए । ‘सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग गर्न पाइँदैन । तर, यहाँ केही सीमित व्यक्तिले दुरुपयोग गरिरहेका छन्,’ उनले भने, ‘महानगरपालिकाले सडकलाई केन्द्रविन्दुमा राख्दै व्यापार गर्दै आउनेलाई निरुत्साहित गरेर नै छाड्नेछौं ।’

 

प्रकाशित: २८ वैशाख २०७५ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App