८ वैशाख २०८१ शनिबार
समाज

नदीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव भेटियो

खोटाङ – सुनकोसीमा बेपत्ता भएका खोटाङका तीन बालबालिकामध्ये एकको शव भेटिएको छ। नदी किनारको जंगलमा बाख्रा चराउन गएकाबेला पौडी खेल्नेक्रममा वैशाख २२ गते सुनकोसीमा बेपत्ता भएका मध्ये बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीय सुमन श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताए।

नदीमा बेपत्ता भएका तीन बालबालिकामध्ये श्रेष्ठको शव ३–४ किलोमिटर तल नदीको छालले किनारमा निकालेको अवस्थामा भेटिएको स्थानीयले बताएका छन्। बेपत्तामध्ये ११ वर्षीय अनिता माझी र १० वर्षीय सबिन माझी अझै भेटिएका छैनन्। 

स्कुल छुट्टीको दिन सुनकोसी किनारका जंगलमा बाख्रा चराउन गएका बालबालिका गर्मी भएपछि पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए। गोठालो गएका चार बालबालिकामध्ये तीन जनालाई नदीले बगाएपछि बाँकी रहेका एकजनाले गाउँमा खबर गरेका थिए।

सुरुमा पौडी खेल्न नदीमा पसेका सुमनलाई बगाएपछि उनलाई बचाउन क्रमशः सबिन र अनिता नदीमा पसेका थिए। सुमनलाई बचाउन गएका सबिनलाई पनि नदीले बगाएपछि अनिता नदीमा पसेको स्थानीयले बताएका छन्। उदयपुरतर्फको साउनेका स्थानीयले पनि बालबालिकालाई पौडी खेल्नेक्रममा नदीले बगाएको देखेको बताएको बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम बञ्जराले बताए। 

एकैसाथ तीन बालबालिका बेपत्ता भएपछि सिंगो गाउँ शोकमा डुबेको छ। बाँकी दुई जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित: २८ वैशाख २०७५ ०५:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App