८ वैशाख २०८१ शनिबार
खेल

दमक गोल्डकपको उपाधिका लागि मनाङ र पुलिस भिड्दै

दमक गोल्डकपको ट्रफीका साथमा मनाङ र पुलिसका कप्तान एवं प्रशिक्षकहरू।     तस्बिरः युवराज/नागरिक

झापा – झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शुक्रबार (आज) मनाङ मर्स्याङदी र नेपाल पुलीस क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल दमक बहुमुखी क्याम्पसको खेल मैदामा दिउँसो ३ः३० बजे पछि सुरु हुनेछ।

यस सिजनमा चौथो पटक विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ मर्स्याङदी क्लब उपाधिका लागि भिड्न लागेका हुन। यसभन्दा अगाडि पोखराको रारा गोल्डकप, चितवनको विकास रनिड शिल्ड र बुटवलको मदन भण्डारी गोल्डकपमा यिनीहरू फाइनल भिडेका थिए। तीमध्ये पोखरामा मात्रै पुलिसले उपाधि हात पारेको थियो। अन्यमा मनाङले बाजी मारेको थियो।

दमक गोल्डकपमा पुलिस पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ र मनाङले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनलसम्म आइपुगेकका हुन्। पुलिसले एपिएफलाई १–० ले तथा मनाङले आर्मीलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेका थिए।

फाइनल खेलअघि बिहीबार भएको प्रि–म्याच कन्फेरेन्समा मनाङका प्रशिक्षक पूजा टोपुले पुलिससँगको चौथो फाइनल भेट उपाधि रक्षाका लागि हुने बताए। उनले आफ्नो टोलीले उपाधि जित्नेमा विश्वस्त रहेको बताए। ‘हाम्रो टिम अहिले मैदानको पनि जानकार भइसकेको छ,’ उनले भने, ‘यस पटकको सिजनमा तेस्रो पटक पुलिसलाई हराउने तयारीमा छांै।’ टोपुले विगतमा भन्दा टिमको फिनिसिङ अत्यन्त राम्रो भएकाले अब स्कोरसमेत बढ्ने बताए। मनाङका कप्तान विराज महर्जनले खेल केही दबाबमा भए पनि यस पटक भने स्कोर निकालेर पुलिसलाई उपाधिबाट वञ्चित गराउने रणनीतिमा रहेको बताए। ‘विगतका हाम्रो भेटमा हामीले राम्रो गर्दै आएका छांै,’ उनले भने, ‘यस पटक पनि उपाधि रक्षाका लागि हामी मिहिनेत गर्नेछाैं।

पुलिसका प्रशिक्षक अनन्त थापाले विगतका ३ वटा भेटमा मनाङसँग प्रतिस्पर्धात्मक खेल भएको बताए। उनले यस पटक पनि उपाधि रक्षाका लागि टिम निरन्तर मिहिनेत गर्ने बताए। ‘हामीले फिनिसिङमा ध्यान दिएका छौं,’ उनले भने, ‘यस पटक स्कोरमा समेत हाम्रो ध्यान जानेछ।’ उनले सिजनको चौथो भेटमा मनाङलाई पराजित गर्दै उपाधि जित्ने दाबी गरे। आफ्नो टिममा युवा खेलाडीहरू रहेकाले फाइनल खेलमा पनि विगतका खेलहरूजस्तै मिहिनेत गर्ने उनको दाबी थियो। पुलिसका कप्तान हेम तामाङले फाइनलमा आफ्नो टिमले स्कोर बनाउने रणनीति बनाएको बताए। ‘हाम्रो फिनिसिङ क्षमता पनि बढेर जानेछ,’ उनले भने, ‘टिमवर्कका कारण यस पटक हामी उपाधिको मुख्य दाबेदार हाैं। पुलिसले यस पटक फिनिसिङ र पोस्ट एटेमलाई मुख्य रूपमा ध्यान दिएको छ।’

दमक गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछन्। गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ।

साथै उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, फरवार्ड, गोलकिपर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५–२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक खेलको म्यान अफ दि म्याचले ११ हजार प्राप्त गर्नेछन्।

गोल्डकप वैशाख १९ देखि सुरु भएको थियो। गोल्डकपमा ए डिभिजनका टिमसहित १० टोली सहभागी थिए।

प्रकाशित: २८ वैशाख २०७५ ०४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App