४ वैशाख २०८१ मंगलबार
राजनीति

पान्मुनजोम घोषणाको स्वागत

काठमाडौं – उत्तर र दक्षिण कोरियाको पान्मुनजोम घोषणाको स्वागत गरिएको छ। नेपालका राजनीतिक दलका नेता, कूटनीतिज्ञ तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा दुवै कोरियाबीच भइरहेको शान्ति प्रयास विश्वशान्तिमा महत्वपूर्ण हुने भन्दै स्वागत गरेका हुन्।

पूर्वप्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले पान्मुनजोम घोषणाले विश्व कस्तो हुन्छ भनी तस्बिर दिएको बताए । उनले आफ्नो उत्तर कोरिया भ्रमणको स्मरण गरेका थिए। ‘त्यस समयमा भ्रमण नगर्न ठूलो दबाब आएको थियो,’ नेपालले भने। उनी गत अगस्टमा नेपाली संसदीय टोलीका नेतृत्व गर्दै उत्तर कोरिया भ्रमणमा गएका थिए। नेता नेपालले घोषणाका लागि कोरियाली जनताले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।

‘पान्मुनजोम कोरियाली जनताका कडा मिहिनेतबाट मात्रै सम्भव भयो,’ नेपालले भने, ‘क्षेप्यास्त्र शान्त बनाउने सम्भावना देखिएको छ। विश्व कस्तो हुन्छ भन्ने तस्बिर यसले देखाएको छ।’

उत्तर र दक्षिण कोरियामा राष्ट्रपतिहरुबीच गैरसैनिक क्षेत्रमा पन्मुजोममा गत महिना वार्ता भएको थियो। त्यसैअनुसार नौ बुँदे घोषणा भएको थियो।

कार्यक्रममा नेपालका लागि उत्तर कोरियाली राजदूत किम योङ हकले सो घोषणा विश्वशान्तिका लागि कोसेढुंगा भएको बताए। ‘यो देशभक्त कोरियालीहरुको कडा मेहनतको परिणाम हो,’ किमले भने।

युनिभर्सल पिस फेडेरेसनकाका विशेष प्रतिनिधि डा. सेक इल जिङले उत्तर कोरिया र दक्षिण कोरियाले कडा मिहिनेत गरे शान्तिपूर्ण परिस्थिति चाँडै भेटिने बताए। ‘नेपाल र कोरियाबीच धेरै कुरा समान छ। कोरियाली समस्या समाधानका लागि तपार्इंहरुले खेल्नुभएको भूमिकाको सम्मान गर्दछांै,’ उनले भने।

कार्यक्रममा नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले चुनौतीपूर्ण समयमा शान्ति मिसनका साथ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाको भ्रमणमा खेलेको भूमिका प्रशंसा गरेकी थिइन्।

प्रकाशित: २८ वैशाख २०७५ ०३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App