coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कान्समा ऐश्वर्याको रेकर्ड

मुम्बई –अभिनेत्री ऐश्वर्या राय बच्चन बलिउडकी यस्ती भाग्यमानी कलाकार हुन्, जो वर्षैपिच्छे भइरहने ‘कान्स फिल्म फेस्टिभल’मा सहभागिताको अवसर पाइरहेकी छन् । विगतको वर्ष झैं उनी यसपटक पनि १७ औं पटक ७१ औं संस्करणको ‘कान्स फिल्म फेस्टिभल’को रेडकार्पेटमा देखिँदैछिन्।

उनको यो उपस्थितिलाई फिल्मकर्मीले अन्य उपलब्धि भन्दा कम नभएको भन्दै तारिफ गरेका छन् ।ऐश्वर्या फ्रान्समा हुने विश्वकै प्रतिष्ठित यो फिल्म फेस्टिभलमा भारतको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने पहिलो अभिनेत्री हुन्।

उनी सन् २००२ मा नीता लूलाको डिजाइनको साडीमा शाहरुख खान र सञ्जय लीला भन्सालीसँग पहिलोपटक ‘कान्स फिल्म फेस्टिभल’मा देखिएकी थिइन् । उनी शाहरुख र सञ्जयलीलासँग फिल्म ‘देवदास’को स्क्रिनिङका लागि गएकी थिइन् । साडी लगाएर उपस्थित हुँदा धेरैले उनको पहिरनको आलोचन गरेका थिए ।त्यसयता उनी वर्षैपिच्छे यो फेस्टिभलमा उपस्थिति जनाएर आफ्नो सुन्दरतासँगै पहिरनलाई पनि प्रदर्शन गरिरहेकी छन् । ऐश्वर्या अघिल्लो पटक जियोर्जियो अरमानीको पहिरनमा कान्समा देखिएकी थिइन् । उनको पहिलो सहभागिता र पछिल्लो सहभागितामा निकै परिवर्तन आइसकेको छ ।

गर्भवती पछिको ठूलो शरीर लिएर कान्समा पुग्दा ऐश्वर्याको उपस्थितिको धेरैले आलोचना पनि गरेका थिए । तर गत वर्षको उनको उपस्थितिले आलोचकको मुख बन्द गरिदिएकी थिइन् ।उनले सन् २०१६ मा आफ्नो पहिलो कान्स यात्राको बारेमा मिडियासँग अनुभव साटेकी थिइन् । ‘यो व्यक्तिगत नभई पुरै ‘देवदास’ टिमको उपस्थिति थियो । किनकी हामी त्यहाँ आफ्नो फिल्म देखाउँदै थियौं । हामीलाई त्यो बेला फिल्म हेरेपछि निकै राम्रो प्रतिक्रिया मिलेको थियो । हामी ज्यादै खुशी पनि भएका थियौं ।’ ऐश्वर्याले भनेकी छन् । ऐश्वर्या यो वर्षको मे १२ र १३ मा कान्सको रेडकार्पेटमा देखिँदैछिन्।

ऐश्वर्यालाई यसपटकको ‘कान्स फेस्टिभल’ विशेष हुनेछ । फिल्मी करियरको २१ वर्षे यात्रामा सामाजिक सञ्जालमा नजोडिएकी ऐश्वर्याले यसपटकदेखि आफूलाई इन्स्टाग्राममा उपस्थित गराउँदैछिन् । ऐश्वर्याका ससुरा अभिनेता अमिताभ बच्चन र पति अभिषेक बच्चन सामाजिक सञ्जालमा सक्रिय बलिउडका कलाकारको सूचीमा पर्दछन् । ‘ऐश्वर्याका विश्वभरी छरिएर रहेका फ्यानको आग्रहमा उनी सामाजिक सञ्जालमा आउन लागेकी हुन्।

फिल्म उद्योगका उनका घनिष्ठ साथीहरु करण जोहार, मनिष मल्होत्रालगायत अन्यले पनि सामाजिक सञ्जालमा आउन गरेको आग्रहलाई ऐश्वर्याले नकार्न सकिनन्,’ऐश्वर्या निकट स्रोतले भन्यो । ऐश्वर्या अनिल कपुरको अपोजिटमा रहेर फिल्म ‘फन्ना खाँ’मा देखिँदैछिन्।

 

प्रकाशित: २८ वैशाख २०७५ ०३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App