८ वैशाख २०८१ शनिबार
शिक्षा

त्रिवि सभा स्थगनप्रति आपत्ति

काठमाडौं – प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली अनुपस्थित भएका कारण त्रिवि सभा स्थगित भएको घटनाप्रति त्रिवि प्रध्यापक संघले आपत्ति जनाएको छ। त्रिभुवन विश्वविद्यालयको उपकुलपति तिर्थ खनियाँले तयार पारेको कार्यसूचिप्रति असन्तुष्टि जनाउँदै वैशाख २३ गते आफैंले समय दिएर बोलाएको सभामा कुलपति एवं प्रधानमन्त्री ओलि उपस्थित नहुँदा विश्वविद्यालय इतिहासमै पहिलोपटक त्रिवि सभा स्थगित भएको थियो।

विश्वविद्यालयको गतिशीलता, प्राध्यापक–कर्मचारी–विद्यार्थीहरुको हकहित एवं प्राज्ञिक उन्नयनका लागि अति आवश्यक मानिने सभा स्थगन हुँदा विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालनमा नै गम्भीर असर पुगेको भन्दै त्रिभुवन विश्वविद्यालय प्रध्यापक संघले आपत्ति जनाएको हो। संघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कुलपति रहेको अवस्थामा यस प्रकारको परिस्थिति उत्पन्न हुनु दुःखद विषय रहेको भन्दै आपत्ति जनएको छ।

विज्ञप्तिमा सभाको बैठक स्थगनसँगै त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ र यसका सभापति योगेन्द्रनारायण वडवरियामाथि प्रश्न उठाउँदै उब्जिएका प्रसंगहरुमा पनि संघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। संघका कार्यबाहक महासचिव नन्दकिशोर सिंह र उपसभापति निरु पोखरेलले जारी गरेको विज्ञप्तिमा संघको केन्द्रीय कार्यालयलगायत सबै कार्यालयहरु काठमाडौंमा रहेकाले संघका सभापति बडबरिया सक्रिय हुनुपर्ने बाध्यता रहेकाले काठमाडौंमै रहेर काम गरिरहेको उल्लेख छ।

संघले सरोकारवाला सबै निकाय काठमाडौंमा रहेको हुँदा संघका सभापति काठमाडौंमै रही सक्रिय हुनुपर्ने बाध्यता भएको जनाएको छ। विज्ञाप्तिमा उल्लेख छ, ‘सभापतिको लामो कार्यकालमा समय समयका काजहरु एकीकृत हुँदै जाँदा एकमुष्टरुपमा धेरै दिन देखिन पुगेको हो।’

बडवरियाको बचाऊँमा धेरै शब्द खर्च गरिएको विज्ञाप्तिमा निजामती कर्मचारीदेखि लिएर शिक्षकसम्मका संगठनका पदाधिकारीहरुले पाएको सुविधालाई बेवास्ता गर्दै प्राध्यापकहरुको नेतृत्वमाथि यसरी सबै खनिनु दुःखदायी भएको उल्लेख छ।

प्रकाशित: २८ वैशाख २०७५ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App