coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘सुठौली नाका सालन गर’

कपिलवस्तु - नेपाल भित्रिने मालबाहक सवारी साधनको चापले रुपन्देहीको बेलहिया भन्सार नाका दिनदिनै व्यस्त हुँदै गएको छ । भारतीय र तेस्रो मुलुकका पर्यटक पनि यही नाका भएर आउँछन् । बढ्दो मालहबाहक गाडीको चापले भन्सार पूरा गर्न बेलहिया नाकामा धेरै समय लाग्ने गरेको व्यापारीको गुनासो छ।

बेलहियामा चाप बढिरहेको बेला कपिलवस्तुको कृष्णनगर र सुठौली नाका प्रयोगमा ल्याउनुपर्ने आवाज जिल्लाका व्यापारी र राजनीतिकर्मीले उठाउन थालेका छन् । तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी बेलहियामा भीडभाडले व्यवसायीलाई गाह्रो हुन थालेको बताउँछन् । मालबाहक साधनको लामले गर्दा भन्सार प्रक्रिया पूरा गर्न निकै समय लाग्ने गरेको व्यापारीको गुनासो छ ।

त्यसैले उक्त नाकाको विकल्पमा कृष्णनगर र सुठौली नाका प्रयोग गर्नुपर्ने आवाज उठेको हो । सुठौली छोटी भन्सार नाका हो । ‘बेलहियामा मालबाहक साधन धेरै भित्रिने हुनाले व्यवसायीलाई भन्सार प्रक्रिया पूरा गर्न समस्या भइरहेको छ,’ कुर्मीले भने, ‘कृष्णनगर र सुठौली नाका सञ्चालनमा ल्याए सजिलो हुन्छ।’कृष्णनगर भन्सारबाट दुई सय मिटरको दुरीमा भारतको बढनी रेलवे स्टेसन छ । त्यहाँसम्म ब्रोडगेज रेल आउँछ । कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सरदार बन्टी ब्रोडेगज रेल स्टेसनबाट सबैभन्दा नजिकको कृष्णनगर नाका प्रयोग गर्नुपर्ने बताउँछन् ।

रेलबाट मालसामान ढुवानी गर्दा एकैपटकमा धेरै ल्याउन सकिने र भाडा समेत सस्तो पर्ने भएकाले कृष्णनगर नाकाको स्तरोन्नति गर्नुपर्ने उनको सुझाव छ । यो नाकाबाट ग्यास र पेट्रोलियम पदार्थ आयात गर्न नसकिने कृष्णनगर भन्सार कार्यालयले जनाएको छ । २०७२ को नाकाबन्दीमा यो नाकाबाट अत्यावश्यक वस्तु लगायत अन्य सामान भित्रिएको थियो । ‘असहज परिस्थितिमा समेत कृष्णनगर र सुठौली भन्सारबाट मालसामान भित्रिएको थियो,’ अध्यक्ष बन्टीले भने, ‘यो कुरालाई मनन गर्दै यी नाकाको स्तरोन्नति गर्नुपर्छ।

उनले कृष्णनगर भन्सारमा सुक्खा बन्दरगाह समेत सञ्चालन गर्नुपर्ने बताए । उता, दाङको कोइलाबास नाका पनि सञ्चालनमा छैन । नेपालगन्जपछि पश्चिमतर्फ बीचमा कपिलबस्तुको कृष्ण्णगर र छोटी भन्सार सुठौली मात्र छ । पडाही जिल्लाहरु प्युठान, रुकुम, रोल्पालाई कृष्णनगर नाका उपयुक्त हुने भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए । कृष्णनगरदेखि चन्द्रौटासम्म औद्यारडोरका रुपमा विकसित हुँदै गएको छ । सो क्षेत्रमा धमाधम सिमेन्ट उद्योग खुल्दैछन् । अर्घाखाँची र दाङको घोराहीमा सिमेन्टको कच्चा पदार्थ क्लिंकर उत्पादनको तयारी छ ।

‘अर्घाखाँची र घोराहीमा ठूलो मात्रामा क्लिंकर उत्पादन हुन्छ, त्यहाँबाट क्लिंकर निर्यात समेत गर्न सकिन्छ,’ भन्सार प्रमुख खड्काले भने, ‘ती दुवै ठाउँको लागि कृष्णनगर र सुठौली नाका नजिक र उत्तम छ ।’भारत र नेपाल दुवैतर्फ कन्टेनरबाट सामान ल्याउने विषयमा दुवै देशका अधिकारीको पाँचौं चरणको बैठक समेत भइसकेको उनले बताए । ‘इनल्यान्ड कन्टेनर डिपो (आइसिडी) का लागि दुवै देशका अधिकारीबीच बैठक भइसकेको छ । सरकारको स्वीकृतिपछि कन्टेनरबाट समेत मालसामान आउनेछ,’ उनले भने ।

भन्सार क्षेत्रको विस्तारका लागि जग्गा अधिग्रहण गर्न भन्सार विभागले अध्ययन गरिसकेको उनले बताए । ‘कम्तीमा ५० बिघा जग्गा अधिग्रहण गर्न दररेट पठाउन विभागले निर्देशन दिएको छ । हामीले जग्गा खोजिरहेका छौं,’ उनले भने । सुठौली भन्सारको स्तरोन्नतिका लागि सरकारले लगातार तीन वर्ष जग्गा अधिग्रणका लागि रकम विनियोजित गरेको थियो । उपयुक्त जग्गा नभेटिएकाले रकम फिर्ता गएको थियो ।

त्यहाँ पनि उपयुक्त जग्गा खोजी भइरहेको भन्सार प्रमुख खड्काले बताए । पूर्वमन्त्री दीपकुमार उपाध्यायले कन्टेनरमा मालसामान ल्याउन कृष्णनगर र सुठौली पर्यटकका लागि उपयुक्त हुने बताए । ‘अहिले व्यस्त बेलहिया नाका हँुदै नेपालमा पर्यटक आउने गरेका छन्, त्यसको सट्टा सुठौली धेरै ठिक छ,’ उनले भने । सडकबाट आउने सबैभन्दा बढी पर्यटक बेलहियाबाटै नेपाल प्रवेश गर्छन्।लुम्बिनी र प्राचीन कपिलबस्तु अवलोकनका लागि भारत हँुदै बेलहिया नाकाबाट पर्यटक आउँछन् । धेरै पर्यटक कपिलबस्तु नआई उतैबाट फर्किने गरेका छन् । बाटोघाटो, प्रचार अभावले प्राचीन कपिलबस्तुमा निकै कम पर्यटक आउँछन् ।

सुठौली नाकाको स्तरोन्नति गरी त्यहीँबाट पर्यटक ल्याउन सके बेलहियामा चाप कम हुने र प्राचीन कपिलबस्तुको विकासमा समेत मद्दत मिल्ने पूर्वमन्त्री उपाध्याय बताउँछन् । भारत सीमा नाका खुनुवामा भन्सार सञ्चालन गर्न तयार रहे पनि सुठौलीको स्तरोन्नति नहँुदा समस्या आएको उपाध्यायले बताए । भन्सारको स्तरोन्नति गरी सुठौलीमा अध्यागमन कार्यालयको एकाइ सञ्चालन गरे पर्यटनमा जिल्लाले फड्को मार्ने उनले बताए।

बुद्धको क्रिडास्थल तिलौराकोट, कुदान, निगालीकोट, गोटिहवा, सगरहवा लगायत सयभन्दा बढी बुद्धस्थल कपिलबस्तुमा छन् । ‘तीनवटा मानस बुद्ध रहेको जिल्लाको विकासका लागि सुठौली भन्सारको स्तरोन्नति र अध्यागमन कार्यालय आवश्यक छ,’ उनले भने ।सांसद तथा पूर्वमन्त्री बृजेशकुमार गुप्ताले सुठौली भन्सार कार्यालयको स्तरोन्नति र अध्यागमन कार्यालय स्थापनाका लागि आफूले पहल गरेको बताए । ‘यसका लागि सबैको दबाब र प्रयास आवश्यक छ,’ उनले भने । संघीय र प्रदेश सरकारले यो विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनले सुझाए।

कृष्णनगर नाकाबाट दैनिक डेढदेखि दुई सय मालबाहक सवारी साधन भित्रिन्छन् । त्यसबाट दैनिक तीन करोड राजस्व उठेको गरेको छ । कृष्णनगर भन्सारको चालु आर्थिक वर्षको राजस्व लक्ष्य चार अर्ब १३ करोड रुपैयाँ छ । लक्ष्यभन्दा बढी नै राजस्व उठ्ने गरेको भन्सार कर्मचारीले बताए ।सुठौली छोटी भन्सारबाट मासिक करोड हाराहारी राजस्व उठ्छ । जिल्लामा चाकरचौडा, भिल्मी छोटी भन्सार पनि छन् । जिल्लामा दर्जनभन्दा बढी यस्ता नाका भए पनि सञ्चालनमा छैन । कृष्णनगर भन्सार २०१३ सालमा सञ्चालनमा आएको थियो ।

प्रकाशित: २८ वैशाख २०७५ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App