७ वैशाख २०८१ शुक्रबार
राजनीति

सन्धिसम्झौता कार्यान्वयन गर्न सांसदहरुको माग

काठमाडौं – सांसदहरुले नेपाल–भारतबीच यसअघि भएका सन्धिसम्झौता कार्यान्वयन गर्न सरकारलाई उचित कदम चाल्न आग्रह गरेका छन्। बिहीबारको प्रतिनिधि बैठकमा सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला दुई देशका प्रधानमन्त्रीबीच हुने भेटवार्तामा नेपालका तर्फबाट विगतमा भएका सन्धिसम्झौता कार्यान्वयनका पक्षमा स्पष्ट कुरा राख्न माग गरेका हुन्।

विगतमा नेपाल–भारतीबीच भएका थुप्रै सन्धिसम्झौता कार्यान्वयन गर्न बाँकी रहेको सांसदहरुको भनाइ छ। बैठकमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दुवै छिमेकी मुलुकबीच सन्तुलित सम्बन्ध नराखी जति घोक्रो सुकाए पनि समृद्धि सम्भव नभएको बताए। उनले विगतमा भएका सन्धिसम्झौता कार्यान्वयन गर्ने गरी नेपाल र भारतका सरकार प्रमुखबीच छलफल हुनुपर्ने बताए।

बर्सेनि तराई क्षेत्रमा हुने डुबानले नेपालीले पीडा झेल्नुपरेको बताउँदै डा.भट्टराईले यसबारे पनि स्पष्ट हुनुपर्ने बताए। भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा दुई देशको चाहना के हो स्पष्ट बुझेर आफ्नो मुलुकको हितमा कुरा राख्नुपर्ने सुझाव उनको छ।

कांग्रेस सांसद् अमरेशकुमार सिंहले विगतमा भएका सन्धिसम्झौता कार्यान्वयनका पक्षमा सरकारले उचित कदम चाल्नुपर्ने बताए। उनले पञ्चेश्वर, हुलाकी राजमार्गलगायतका सम्झौता कार्यान्वयनतर्फ सरकारको ध्यान जानुपर्ने बताए।

कांग्रेस सांसद सञ्जय गौतमले नेपाल–भारतबीच बारम्बार द्विपक्षीय सन्धिसम्झौता हुने तर कार्यान्वयन नहुने गरेको औंल्याए। उनले बर्दियाको गुलरिया नाका सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच सहमति हुनुपर्ने बताए।

राष्ट्रियसभाको बैठकमा एमाले सांसद उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा भारतीय सेना नेपाल आएको भन्ने विषयमा सरकारसँग जानकारी माग गरेका थिए। कांग्रेस सांसद् विन्दादेवी आलेले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बेला सीमा क्षेत्रका जनताले भोग्नुपरेका समस्या र सीमा अतिक्रमणका विषयमा कुरा राख्न आग्रह गरिन्। उनले नेपाल–भारत प्रबुद्ध समूहले हालसम्म गरेका कार्य प्रगति सार्वजनिक गर्न सरकारसँग माग गरिन्। कांग्रेसकै तारादेवी भट्टले पनि भारतीय पक्षले नेपाली किसानको बालीनाली लुट्ने काम गरेकाले यसबारे पनि सरकारको ध्यान जानुपर्ने बताइन्।

प्रकाशित: २८ वैशाख २०७५ ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App