७ वैशाख २०८१ शुक्रबार
समाज

जिल्ला अस्पतालमै छैन् शौचालय र खानेपानी

रौतहट– जिल्ला अस्पताल रौतहट आधारभुत मानविय सेवा सुविधावाट समेत बञ्चित भएको छ। अस्पतालमा न त  खानेपानीको व्यवस्था छ, न त शौचालयकै जताततै गुटखा, पराग र सर्तिजन्य खाएर थुक फालेको देखिन्छ। साथै दुर्गन्ध फैलिएर सध्य मान्छेपनि विरामी बन्न सक्ने अवस्था छ।

बाहिरबाट हेर्दा चिटिक्क परेको अति नै सुविधा सम्पन्न ५० शैय्याको अस्पतालमा ३२ वटा शौचालय रहेपनि सञ्चालनमा एउटा पनि छैन्। चिकित्सक एवं कर्मचारीलाई दिशा, पिसाब लागेमा आफ्नो डेरामा पुग्नुपर्ने बाध्यता छ।

अस्पतालमा उपचारार्थ गएका विरामी र विरामीका कुरुवाहरु अध्यारो कुना खोज्दै जताततै दिशा पिसाब गर्न बाध्य छन्। जसका कारण शौचालय नजिकै पुरै गन्हाउने भएको छ। अस्पतालमा गन्हाएर विरामी नभएको मानिस पनि टाउको दुख्ने, वान्ता गर्ने अस्पतालमा पुग्छन्।

अस्पतालमा खानेपानी नहुँदा कर्मचारीहरु घरबाटै बोतलमा पानी लिएर आउँछन्। विरामी र आफन्त कुरुवाहरु महँगोमा पानी किन्न बाध्य छन्। शौचालय र पानी उदाहरण मात्र छन्। विरामीहरुको स्वास्थ्य परीक्षणपछि चिकित्सकहरु राम्ररी हात धुन र पुछ्न साबुन पानी एवं तौलिया समेत छैन्। 

अस्पतालमा दैनिक रुपमा सुरक्षित रुपमा सुत्केरी गराउन दैनिक ८ देखि १० जना महिलाहरु आउने गरेको जसमध्ये ३÷४ वटा केस अति नै जटिल हुँदा यहाँ सर्जरी गर्ने कुनै व्यवस्थापन नहुँदा वीरगंज तर्फ रेफर गर्नु परेको डाक्टर जेबा तमसुमले बताइन। ‘अस्पतालको पीडा हामी कसलाई भनौं, हामीसंग सीप छ, उपचार गर्न दक्ष छौं, तर उपकरणको आभावमा उपचार गर्न नपाउँदा जानेको सीप समेत बिर्सिने अवस्था आएको छ।’ चिकित्सक तमसुमले पटक पटक अस्पताल व्यस्थापन समितिलाई भन्दा पनि कुनै सुनवाई नगर्दा थकित भइसकेको बताइन्। 

अस्पतालमा १ सय केभी र २५ केभी वाटको दुई वटा जनरेटर छ, तर चल्दैन्। त्यसै थन्किएर बसेको छ। विजुली कटेको समयमा अस्पताल उर्जाविहिन हुन्छ। अस्पतालमा एक्सरे मेशिन भएपनि प्लेटको अभावमा बन्द छ। प्रयोगशालमा केमिकल छैन्। राज्यबाट ७१ प्रकारको औषधि निःशुल्क रुपमा उपलब्ध गराउने भनिएपनि ३० प्रकारको औषधि मात्रै सर्वसाधारणलाई वितरण भइरहेको छ।  

सर्जिकल उपकरणहरुमा खिया लागिसकेको छ। सर्जिकल उपकरणलाई स्ट्रेलाइज गर्न अटोक्लेप र स्टोभ छैन्। सामान्य साबुन पानी तौलिया छैन्। अस्पतालमा सामान्य उपकरण नहुँदा पनि आउने विरामीहरुलाई भगवान भरोसे कार्यरत चिकित्सकहरुले उपचार गर्न विवश छन्। तर स्थानीय तहबाट व्यवस्थापन गराउनेतर्फ खासै पहल नहुँदा गौर अस्पताल लथालिंग आवस्थामा पुगेको इमरजेन्सी कक्षका चिकित्सक निर्मल श्रीवास्तवले बताए। ‘काम गर्दा गर्दै ट्वाइलेट जानुपर्दा आफनो घर वा निवासमा जानुपर्ने जस्तो विडम्बना के होला ? विरामीलाई छाडेर घरबाट शौचालय प्रयोग गरेपश्चात अस्पतालमा आएर उपचार गर्दै आएको छु,’ श्रीवास्तवको गुनासो छ।

अस्पतालमा ९ चिकित्सकले जस्तो भएपनि सेवा दिइरहेका छन् तर आवश्यक सामान उपकरण नहुँदा विरामीहरुको विजोग स्थल एवं रेफरल अस्पतालको रुपमा परिणत हुँदै गएको छ गौर अस्पताल।

अस्पताल सञ्चालनको सबै बजेट स्थानीय तहमा गएकोले अस्पतालको दुर्दशा सुधार गर्न पटक पटक गौर नगरपालिकासँग माग गरेपनि रकम उपलब्ध नगराएको कारण जिल्लाको एक मात्र सुविधा सम्पन्न अस्पताल दुर्गन्धित बन्दै गएको जिल्ला अस्पतालका मेडिकल सुप्रिडेन्ट डा कृष्णा साहले बताए। सरकारले जिल्ला अस्पतालको लागि ४ करोड ८८ लाख बजेट विनियोजन गरेर गौर नगरपालिकामा पठाएको छ। जसमध्ये २ करोड ४३ लाख कर्मचारीको तलब भता समावेश गरिएको छ। बाँकी रकम अस्पतालको पूर्वाधारदेखि लिएर औषधि, उपकरण तथा सर्जिकल सामग्री खरिदमा रहेको गौर नगरपालिकाको लेखा अधिकृत पवन महतोले बताए। लेखा अधिकृत महतोले हिजो मात्रै अस्पताल सुधारको लागि २४ लाख रुपैयाँ पठाएको दाबी गरे।

गौर नगरपालिकाका मेयर अजय गुप्ताले थला परेको जिल्ला अस्पताललाई सुधार्न धेरै प्रयास गरेको बताउँदै ९० प्रतिशत स्थानीय कर्मचारीहरुका कारण अस्पताल सुधार गर्न नसकेको बताए। १० दिनअघि ५ लाखको औषधि खरिद गरेको र दिएको औषधि अहिलेसम्म दाखिला नगर्दा के भन्नु ? भन्दै मेयर गुप्ताले राजनीतिक हस्तक्षेपका कारण स्थानीय कर्मचारीको अखडा बन्दै जाँदा उनीहरुलाई तह नलगाएसम्म अस्पताललाई थला पर्नबाट जोगाउन कठिन रहेको तर्क गरे।

प्रकाशित: २७ वैशाख २०७५ १४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App