८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मलेसियामा महाथिरको सानदार जित, विश्वकै वृद्ध प्रधानमन्त्री बन्दै

क्वालालम्पुर – मलेसियाको संसदीय निर्वाचनमा पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेका छन्।

उनको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा रहेको एक राजनीतिक दललाई हराउँदै सानदार विजयी भएको हो। यो जितसँगै मलेसियाका एकजना वरिष्ठ राजनीतिज्ञको राजनीतिक पुनरागमन भएको छ।

महाथिर हाल ९२ वर्षका छन्। ९२ वर्षका एकजना डाक्टर महाथिर पुनः सत्तामा आउने तयारी गरेको समाचार मलेसिया र एसियाका अधिकांश मिडियाले बिहीबार सम्प्रेषण गरेका छन्।

विगतमा आफैले नेतृत्व गरेको दल बारिसन नेसनल पार्टी र विगतका आफ्नै कार्यकर्ता रहेका मलेसियाका नेता तथा वर्तमान प्रधानमन्त्री नजिब रजाकलाई चुनौती दिएर उनले नजिबको सत्ता ढालिदिएका हुन्।

प्रधानमन्त्री नजिबको पछिल्लो कार्यकाल भ्रष्टाचारका कारण विवादमा परेको थियो। सो विवादका कारण महाथिरले यसअघि सन्यास लिइसकेको राजनीतिमा पुनः फर्किएका थिए।

राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएर निर्वाचनमा होमिएका महाथिरले सरकार निर्माणका लागि आवश्यक बहुमत हासिल गरेका छन्।

महाथिरले मलेसियालाई सन् १९८१ देखि २००३ सम्म शासन गरेका थिए। त्यस समय उनी विकासका एकजना बिम्बका रुपमा मलेसिया र बाहिर पनि चिनिएका थिए।

रजाकको शासनकालमा मलेसियाली नागरिकले भ्रष्टाचारका साथै विभिन्न जातीय तनावहरू पनि सहनु परेको थियो। सोही कारण मलेसियामा सो राजनीतिक व्यवस्थापनका लागि राष्ट्रले आफ्नो खाँचो महसुश गरेको भन्दै महाथिर पुनः राजनीतिमा आएका थिए।

सरकार गठन गर्न यहाँको सदनमा ११२ सिट आवश्यक पर्दछ। तर महाथिरको नेतृत्वको विपक्षी दलीय गठबन्धनले ११५ स्थान जितेको छ। त्यसैले उक्त गठबन्धनले सुविधाजनक रुपमा सरकार बनाउने सुविधा पाएको छ।

यहाँका विश्लेषकहरूले बिहीबारको चुनावी परिणामलाई आश्चर्यजनक भनेका छन्। महाथिरको यस गठबन्धनको जितले मलेसिया स्वतन्त्र भएपछि नै सरकारको नेतृत्व गरिरहेको वारिसन पार्टीको शासनकालको अनायासै अन्त्य गरिदिएको छ।

पछिल्लो चुनावी परिणामलाई यहाँका राजनीतिक विश्लेषकहरुले नाटकीय भनी संज्ञा दिएको भए पनि ९२ वर्षे नेताको सत्तामा फर्कने इच्छाका कारण राजनीतिक परिदृश्यमा आशालाग्दो अवस्था भने देखिएको छ।

यसअघि रजाकको सरकार निकै विवादमा परेपछि संसद् विघटन गरिएको थियो। संसदको विघटन गरी ६० दिनभित्र आम निर्वाचनका लागि सोही सरकारले आह्वान गरेको थियो।

महाथिरले बिहीबारै साँझसम्ममा सपथ लिने बताइएको छ। अबको सरकारको नेतृत्व गर्न लागेका महाथिर अब विश्वका नै एक वृद्ध कार्यकारी प्रमुखका रुपमा रहने छन्।

प्रकाशित: २७ वैशाख २०७५ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App