४ वैशाख २०८१ मंगलबार
खेल

एन्फा अध्यक्षमा घलेको उम्मेदवारी

काठमाडौं- लामो समयदेखि विवाद झेल्दै आएको अखिल नेपाल फुटबल संघ (एन्फा) को कात्तिक ८ मा हुने भनिएको निर्वाचनले सोमबार लक्ष्मी हुन्डाई मनाङ मर्स्याङ्दी क्लब (एमएमसी) का संस्थापक एवं पूर्व अध्यक्ष टासी घलेको घोषणासँगै रोचक मोड लिएको छ।

पछिल्ला वर्षमा फुटबल राजनीतिबाट अलग घलेलाई सोमबार मनाङले एक समारोहबीच आसन्न एन्फा निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार घोषणा गरेको थियो। क्लबको नयाँ कार्यसमितिसँगै घलेको उम्मेदवारी घोषणासभामा उनका सम्भावित प्रतिस्पर्धीहरू एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ, उपाध्यक्ष कर्माछिरिङ शेर्पा र पूर्व राष्ट्रिय खेलाडी एवं नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको पनि उपस्थिति थियो।

उम्मेदवारी सार्वजनिक हुनुअघि नै एन्फा कार्यवाहक अध्यक्ष श्रेष्ठले घलेलाई शुभकामना दिए। कार्यक्रमका उद्घोषकले एन्फा साधारणसभाका लागि घलेलाई मताधिकार दिइएको जानकारी गराएलगत्तै बोल्न आएका श्रेष्ठले भने, 'टासीजीलाई अध्यक्ष पदमा क्लबले उम्मेदवारमा पठाउन लागेको रहेछ। उहाँलाई शुभकामना छ।'

घलेले आफू अध्यक्ष पदको प्रत्याशी भए पनि त्यहाँ पुग्न कठिन रहेको बताए। 'मलाई त्यहाँ पुग्न सक्लाजस्तो लाग्दैन। देशमा लोकतन्त्र र संविधान आइसक्यो तर एन्फामा अझै लोकतन्त्र आएको छैन। ३० वर्षदेखि एन्फा पुरानै ढर्रामा चलिरहेको छ,' घलेले असन्तुष्टि पोखे, 'देशमा प्रधानमन्त्रीको उम्मेदवार बन्न एकजना प्रस्तावक र एकजना समर्थक भए पुग्छ, तर एन्फामा ५ जना प्रस्तावक र ५ जना समर्थक चाहिने प्रावधान राखेर सबैको बाटो छेक्ने निरंकुश व्यवस्था कायम राखिएको छ। गीता राणालाई विगतमा रोकिएजस्तै अहिले पनि फुटबलमा केही गर्न चाहने फुटबलप्रेमीलाई नेतृत्वमा आउन नदिने व्यवस्था छ।'

एन्फामा अझैसम्म तीनवटा विधान रहेको दाबी गर्दै घलेले थपे, 'पहिला एउटा विधान बनाउनुस्, त्यहीअनुसार निर्देशिका बनाउनुस् र निर्वाचन गर्नुस्। लामो विवादपछि अहिले साथीहरूबीच मिलाप भएको छ। त्यसैले सबै फुटबल प्रेमीहरूले प्रतिस्पर्धा गर्न पाउने गरी निर्वाचन गराउनुस् भन्ने अनुरोध गर्न चाहन्छु। किनकि दुनियाँ धेरै अगाडि बढिसक्यो, निरंकुशता अब चल्दैन।'

राष्ट्रिय खेलकुद परिषद (राखेप) को छानबिन समितिले एन्फालाई विभिन्न मुद्दामा दोषी ठहर्‍याइसकेको उल्लेख गर्दै घलेले त्यहीअनुसार अघि बढ्न नेपाली खेलकुदको सर्वोच्च निकायलाई आह्वान गरे। 'राखेपको पनि बद्मासी छ। विवादरहित रूपमा खुरुखुरु काम गर्ने संघलाई विघटन गरिरहन्छ, तर सधैँ विवादै विवाद भएको संघलाई केही गर्दैन,' घलेले भने।

घलेको जवाफ दिने क्रममा राखेप सदस्यसचिव केशवकुमार विष्टले राखेपबाट गल्ती भएको हुनसक्ने स्वीकार्दै खेलकुदमा अनुशासनहीन, अराजकता र बेथिति व्याप्त रहेको बताए। एन्फाजस्ता ठूला संघमा अन्तर्राष्ट्रिय सम्बन्धन र चार्टरका कारण चाहेर पनि केही गर्न नसकेको पनि उनको गुनासो थियो।

'विदेशबाट पैसा आउने भएकाले फुटबल र क्रिकेट जस्ता खेलमा बढी समस्या छ। तर विदेशबाट पैसा आउँछ भन्दैमा नेपाल दास बन्न सक्दैन। नेपालीको पनि स्वाभिमान छ, नैतिक मूल्य र मान्यता छ,' विष्टले एन्फा पदाधिकारीहरूलाई चेतावनी दिए, 'विदेशबाट आउने केही करोडभन्दा सरकारको लगानी फुटबलमा कयौं गुणा बढी छ। देशभर रंगशाला र मैदान विदेशीले बनाइदिएको छैन। त्यसैले विदेशसँगै देशको पनि सम्मान राख्नुस्।'

एन्फाले आफै निर्वाचन समिति बनाएको प्रसंग कोट्याउँदै उनले राखेपको समितिले गराएको चुनावलाई मात्र मान्यता दिने प्रस्ट पारे। 'क्रिकेटलाई हामीले आफूखुसी निर्वाचन समिति बनाएर गरेको चुनावका कारण मान्यता दिएनौं। फुटबललाई पनि त्यसो भयो भने मिल्दैन। हाम्रो नियमावलीमा प्रस्ट लेखिएकाले राखेपको निर्वाचन समितिले गराएको निर्वाचनमात्र मान्य हुन्छ,' उनको चेतावनी थियो।

उपाध्यक्ष शेर्पाको नेतृत्वमा एन्फाकै चार पदाधिकारीले गरेको कार्यसमिति र नेतत्वविरुद्ध गरेको आन्दोलनको प्रसंग कोट्याउँदै विष्टले अगाडि थपे, 'अब तपाईहरू मिल्नुभएको छ। यो खुसीको कुरा हो। रिक्त पद निर्वाचनबाट पूर्ति गर्ने कुरा राम्रो हो। तर निर्वाचनले सधैँ सबैलाई समेट्दैन। शाहीकालमा भएको निर्वाचनले सबैलाई नसमेटेकाले धेरै दिन टिकेन। फुटबलमा अबको निर्वाचनले सबैखाले विवाद अन्त्य गर्नुपर्छ। सबैलाई समेट्नुपर्छ। केही व्यक्तिहरू मात्र मिलेर फुटबल विकास सम्भव छैन।'

प्रकाशित: १४ भाद्र २०७३ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App