coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

कर्ण दास र राजनलाई पोखरेली पुरस्कार

पोखरा- पोखरेली युवा सांस्कृतिक परिवारले यस वर्षका लागि सोम बज्राचार्य स्मृति संगीत पुरस्कारबाट गायक कर्ण दासलाई र ललितकला पुरस्कारबाट कलाकार राजन काफ्लेलाई पुरस्कृत गर्ने भएको छ। पुरस्कार दुई–दुई वर्षमा प्रदान गरिँदै आएको छ।

पोखरामा जन्मिएर पोखरालाई नै कर्मक्षेत्र बनाई गीतसंगीतमा दुई दशकदेखि सक्रिय कर्णदास २०५३ मा पहिलोपटक 'जिन्दगीको के भरोसा' गीतमार्फत् उदाएका थिए। ब्यान्ड मध्यान्हका गायक कर्ण दासका 'मध्यान्ह' भाग १, २, ३, 'व्यर्थै फेरि', 'पुरानो डुंगा', 'आधा सपना', 'प्रीत', 'दाख'जस्ता एल्बम सार्वजनिक भइसकेका छन्।

नेपाली गीतसंगीतको क्षेत्रमा उनले दिएको योगदानको कदरस्वरुप सोम बज्राचार्य स्मृति संगीत पुरस्कार प्रदान गर्न लागिएको प्रतिभा छनोट समितिका संयोजक संस्कृतिकर्मी तीर्थ श्रेष्ठले जानकारी दिए। गायक तथा संगीतकार सोम बज्राचार्यको स्मृतिमा उनकी पत्नी शान्ति बज्राचार्यले अक्षयकोष खडा गरी परिवारद्वारा सञ्चालित पुरस्कारबाट यसअघि श्यामसुङ तामाङ, नवराज बराल, रुपेनबाबु थापा र सुनिल थापा पुरस्कृत भइसकेका छन्।

वरिष्ठ कलाकार दुर्गा बरालले आफूले पाएको पुरस्कारमा रकम थपेर अक्षयकोष स्थापना गरी सञ्चालित ललितकला पुरस्कार २०७३ पाउने कलाकार राजन काफ्ले काभ्रेपलाञ्चोकमा जन्मेर काठमाडौंमा क्रियाशील चित्रकला, मूर्तिकला, मुहार चित्र र प्रतिस्थापन कलामा अब्बल मानिन्छन्।

'कला मनोरञ्जन र सौन्दर्यमात्रै नभएर चेतनाको उज्यालो हो,' भन्ने राजन काफ्लेले पाँच सयभन्दा बढी मुहारचित्र बनाउनुका साथै प्रतीक चिह्नको सिर्जना गरिसकेका छन्। इटहरी, हेटौंडा, चितवन, बुटवल, पोखरामा उनका मूर्तिकला स्थापित छन्। नेपाली कलाको विभिन्न विधाको उन्नतिमा काफ्लेले पुर्‍याएको योगदानको कदर गर्दै ललितकला पुरस्कार २०७३ प्रदान गर्न लागिएको प्रतिभा छनोट समितिका संयोजक कलाकार बुद्धि गुरुङले जानकारी दिए।

ललितकला पुरस्कारबाट पोखराका पहिलो कलाकार कृष्णप्रसाद श्रेष्ठ, गोपाल श्रेष्ठ, क्षेत्रलाल कायस्थ, बुद्धि गुरुङ, हरेराम जोजिजु, यादवचन्द्र भूर्तेल, सरोजा खड्गी र लोकप्रसाद गुरुङ पुरस्कृत भइसकेका छन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भदौ १८ गते शनिबार नगद, ताम्रपत्र र दोसल्लासहित पोखरामा दुवै पुरस्कार प्रदान गरिने परिवारका अध्यक्ष सुरेश रानाभाटले जानकारी दिए।

प्रकाशित: १४ भाद्र २०७३ ०२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App