coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आर्मीलाई रोक्दै मनाङ फाइनलमा

बलका लागि प्रतिस्पर्धा गर्दै आर्मी र मनाङका खेलाडी। तस्बिरः युवराज/नागरिक

दमक– टाइब्रेकरबाट त्रिभुवन आर्मी क्लबलाई ५–४ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब झापामा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । यससँगै मनाङले फाइनलमा पुलिस क्लबको सामना गर्नेछ।

बुधबारको दोस्रो सेमिफाइनल खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको थियो । टाइब्रेकरमा मनाङका पाँचै खेलाडी सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरेका थिए । आर्मीका भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरे पनि आर्मीका दीपक गुरुङ गोल गर्न चुकेका थिए । यो चुकाइ नै आर्मीलाई फाइनल प्रवेश गर्न वञ्चित गर्ने कारक बन्यो।

यसअघि खेलको ३०औं मिनेटमा टंक बस्नेतले गोल गर्दै आर्मीलाई खेलमा अग्रता दिलाएका थिए । तर मनाङका दीपक राईले ४७औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । निर्धारित समयमा दुवै पक्षबाट गोलका अन्य प्रयास भए पनि सफलता भने दुवै क्लबलाई मिलेन । खेलको १०औं मिनेटमा आर्मीका कप्तान भरत खवासको क्रस प्रहारलाई मनाङका विदेशी डिफेन्डर फ्लोरेन्टले हेडमार्फत क्लियर गरेका थिए । मनाङका विमल रानाको क्रसमा सुजल श्रेष्ठले गरेको प्रहार गोलपोस्टनजिकैबाट बाहिरिएको थियो।

५३औं मिनटमा आर्मीका गोलकिपर विकेश कुथुको हातबाट फुत्किएको बललाई मनाङका अन्जान विष्टले गरेको प्रहार क्रसबारनजिकैबाट बाहिरिएको थियो । ६१औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पाएको अवसरलाई पुनः चुकाएका थिए । उनलाई मनाङका डिफेन्डरले बल प्रहार गर्न रोक्दै बल क्लियर गरेका थिए । पहिलो हाफमा खेल आफ्नो नियन्त्रणमा राखेको आर्मी दोस्रो हाफमा भने केही कमजोर देखियो । मनाङका खेलाडीले निरन्तर पोस्टमा प्रहार जारी राखेका थिए।

खेलमा मनाङका गोलकिपर विशाल श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । मनाङले उपाधिका लागि शुक्रबार नेपाल पुलिस क्लबसँग फाइनल खेल्ने प्रतियोगिताका सञ्चार संयोजक चन्द्र खत्रीले बताए । गोल्डकपको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् । वैशाख १९ देखि सुरु भएको गोल्डकपमा ए डिभिजनका क्लबसहित १० टिमको सहभागिता रहेको थियो।

प्रकाशित: २७ वैशाख २०७५ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App