७ वैशाख २०८१ शुक्रबार
अर्थ

अन्तिम बोइङ पनि बेच्ने निगमको घोषणा

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आफूसँग बाँकी रहेको दोस्रो र एकमात्र ‘बोइङ’ जहाज पनि बिक्री गर्ने घोषणा गरेको छ । दुईमध्ये पहिलो बोइङ यसअघि नै उसले बेचिसकेको छ।

निगम व्यवस्थापनले दोस्रो बोइङ बिक्री गर्ने उद्देश्यका साथ जहाजको मूल्यांकनका लागि सार्वजनिक प्रस्ताव आह्वान गरेको छ । २१ दिने म्याद दिइएको उक्त प्रस्तावअनुसार जहाजको वर्तमान वास्तविक मूल्य, यसका जगेडा पुर्जा लगायत सबैको मूल्यांकन गर्न सम्बद्ध व्यावसायिक कम्पनी सहभागी हुन पाउनेछन्।

निगमको ‘बि७५७–२००’ सिरिजको यो जहाज अहिले पनि नियमित उडानमा छ । यसले दैनिक एक उडान गर्दै आएको छ । ‘९एन–एसिबी’ कलसाइन भएको १ सय ९० सिट क्षमतायुक्त यो जहाज निगमले सन् १९८९ मा अमेरिकी जहाज निर्माता कम्पनी बोइङसँग खरिद गरेको थियो । यसको नाम ‘गण्डकी’ हो।‘हामीसँग बाँकी रहेको अन्तिम बोइङ ७५७ जहाज बिक्री गर्दैछौं र यसका लागि मूल्यांकनकर्ता कम्पनी छनोट गर्न सार्वजनिक प्रस्ताव आह्वान गरेका हौं,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रविन्द्र श्रेष्ठले बुधबार नागरिकसँग भने, ‘पहिलो बोइङ जहाजको भन्दा यसको मूल्यांकन धेरै हुने निश्चित छ ।’

उनका अनुसार बोइङ एसिबी जहाज कति मूल्यमा बिक्री गर्दा उपयुक्त होला, जगेठा पुर्जा, इन्जिन जस्ता सबै प्राविधिक पक्ष जाँच गरी जहाजको उपयुक्त मूल्यांकन गर्न प्रस्ताव आह्वान गरिएको हो । सम्बन्धित निकायमा दर्ता भएका कुनै पनि फर्म वा कम्पनीले जहाज मूल्यांकनको प्रस्ताव पेस गर्न सक्नेछन् । ‘इन्टरनेसनल सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङ’ (आइएसटिएटी) बाट मान्यताप्राप्त फर्म वा कम्पनीले मात्र निगमलाई प्रस्ताव पेस गर्न पाउनेछन् । प्रस्ताव पेस गर्ने अन्तिम म्याद आगामी जेठ १६ गतेसम्म रहेको छ।

निगमका अनुसार बिक्री गर्न लागिएको करिब ३० वर्ष पुरानो यो जहाजमा ‘आरबी२११–५३५इ४’ मोडेलका दुईथान इन्जिन जडान गरिएका छन् । ‘बोइङ एसिबीलाई सन् २०१९ को मध्यभित्र बिक्री गर्ने लक्ष्य छ,’ कर्पोरेट डाइरेक्टर श्रेष्ठले भने, ‘जति पुरानो भयो त्यति सञ्चालन खर्च बढ्ने भएका कारण बिक्री गर्न लागिएको हो ।’

निगमले यसरी जहाज बिक्री गर्न लागेको यो दोस्रो पटक हो । यसअघि २०७४ माघ पहिलो साता कलसाइन ‘९एन–एसिए’ भएको यस्तै बोइङ निगमले सञ्चालनमा नरहेको नेपाली निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी बिबी एयरवेजलाई १४ लाख ६० हजार अमेरिकी डलरमा बिक्री गरेको थियो ।

त्यो जहाज हाल त्रिभुवन विमानस्थलमा छ । त्यसैगरी निगमले साढे दुई दशकअघि १ सय २३ सिट क्षमतायुक्त दुईथान ‘बि७२७’ सिरिजका जहाज बेचेको थियो । ती जहाज पनि बोइङमै उत्पादन भएका थिए ।निगमले पहिलो बोइङ एसिए जहाज पुरानो भएको र मर्मत खर्च अत्यधिक लाग्ने भएपछि बिक्री गर्ने निर्णय गरेको थियो । यसको दुईथान इन्जिन मर्मत गर्नमात्र करिब २ अर्ब रुपैयाँ लाग्ने भएपछि ‘बनाउनभन्दा बेच्न फाइदा’ भन्दै निगम जहाज बिक्री गर्ने निर्णयमा पुगेको थियो ।

त्यसपछि निगम व्यवस्थापनले अमेरिकाको फिनटेक नामको कम्पनीलाई यो जहाजको मूल्यांकन गरी प्रतिवेदन पेस गर्न सशुल्क काम लगाएको थियो । फिनटेकले ३ हजार डलर भाडा लिएको थियो । फिनटेकले एसिए जहाजको अधिकतम मूल्य १७ लाख १० हजार अमेरिकी डलर हुने प्रतिवेदन पेस गरेको थियो । त्यही प्रतिवेदन निगम सञ्चालक समितिले अनुमोदन गरेको थियो।

निगमका दुईथान बोइङले उडान गरिरहँदा वार्षिक २ अर्ब रुपैयाँ आम्दानी गर्थे । तर, ती जहाजले जति आम्दानी गर्थे, त्यसको अधिकांश हिस्सा मर्मतमै खर्च हुने गरेको थियो । त्यसबाहेक बि७५७ जहाज उडाउँदा प्रतिउडान जति आम्दानी हुने गर्छ, त्यसको करिब ४५ प्रतिशत हिस्सा इन्धनमा खर्च हुने गरेको थियो । अहिले निगमसँग रहेका एयरबस कम्पनीमा निर्मित नयाँ जहाजले भने यसको आधामात्र इन्धन खपत गर्ने गर्छन् । पुरानो हुँदै जानु र मर्मत खर्च उच्च हुँदै गएपछि निगमसँग बिक्रीको विकल्प थिएन ।

निगमले तीन दशकअघि बि७५७ सिरिजका दुईथान जहाज खरिद गर्दा खाडी मुलुकका कुनै पनि वायुसेवा कम्पनीसँग यसखालका आधुनिक जहाज थिएनन् । निगमले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबई उडान सुरु गर्दा बि७५७ जहाज लिएर गएको र नयाँ जहाज हेर्न त्यहाँका सरकारी उच्च अधिकारीको विमानस्थलमा बाक्लो उपस्थिति रहेको निगमका पुराना कर्मचारीसँग अनुभव छ।

यी जहाजबाट निगमले छोटो दुरी (सर्ट हल) देखि लामो दुरी (लङ हल) गन्तव्यमा उडान गरेको थियो । सर्ट हलमा भारतको नयाँदिल्ली, कोलकाता, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, हङकङ, कतारको दोहा, युएईको दुबईलगायत गन्तव्यमा उड्थे भने लङ हलतर्फ बेलायतको लन्डन, फ्रान्सको पेरिस, जर्मनीको फ््रयांकफर्ट, जापानको ओसाका, चीनको सांघाईसम्म जाने गरेका थिए।

बोइङले सन् १९८१ बाट बि७५७ सिरिजको जहाज उत्पादन सुरु गरेको थियो । त्यसको ६ वर्षपछि निगमले पहिलो र आठ वर्षपछि १९८९ मा दोस्रो जहाज खरिद गरेको थियो । यस्ता जहाज बोइङले २००४ बाट उत्पादन गर्न बन्द गरेको थियो।

प्रकाशित: २७ वैशाख २०७५ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App