८ वैशाख २०८१ शनिबार
विचार

स्वदेशी लगानीको बिजुली

१२ सय मेगावाट क्षमताको बहुचर्चित बूढीगण्डकी आयोजना चिनियाँ गेजुवा गु्रप कर्पोरेसन (सिजिजिसी) लाई दिने चर्चा चलिरहेका बेला सरकारले पूर्ववर्ती शेरबहादुर देउवा सरकारकै निर्णयलाई निरन्तरता दिँदै स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरेको छ । वामगठबन्धन सरकार आएलगत्तै उक्त आयोजना गेजुवालाई दिने पूर्वानुमानलाई यो निर्णयले गलत साबित गरेको छ । देउवा नेतृत्वको सरकारले त्योभन्दा अघिल्लो पुष्पकमल दाहाल सरकारले गेजुबालाई आयोजना बनाउन दिने निर्णय उल्ट्याएको थियो । देउवा सरकारका ऊर्जामन्त्री कमल थापाले उक्त राष्ट्रिय गौरवको आयोजना स्वदेशी लगानी र प्रविधि उपयोग गरी बनाउन सकिने सम्भावना रहेको भन्दै विदेशीलाई नदिई सरकारले नै निर्माण गर्ने निर्णय गरेका थिए । त्यही निर्णय कार्यान्वयन गर्ने जानकारी ओली सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दिएका हुन् । उक्त आयोजनाका निम्ति आगामी वर्षभित्र बोलपत्र आह्वानको तयारीसमेत सरकारले गरेको छ । आयोजनाको लगानी मोडालिटी तयार गर्न तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थ, ऊर्जा सचिव र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहेको समिति गठन गरेको थियो । सो समितिले उक्त आयोजना स्वदेशी लगानीमा निर्माण गर्नुपर्ने सुझाव दिएको थियो ।

बिनाआधार कहिले कुनै मुलुक विशेषलाई दिने फेरि अर्को मुलुकले त्यसलाई पाउन प्रतिस्पर्धा गर्ने स्थितिले बूढीगण्डकीजस्ता ठूला आयोजना निर्माणमा अवरोध उत्पन्न गर्छ । यस्ता आयोजना सञ्चालनका निम्ति नीतिगत स्थायित्व अपरिहार्य हुन्छ ।  

बिनाप्रतिस्पर्धा बूढीगण्डकी आयोजना गेजुवालाई दिने दाहाल सरकारको निर्णयको उतिबेला विरोध पनि भएको थियो । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले पनि उक्त आयोजना बिनाप्रतिस्पर्धा सुटुक्क विदेशीलाई सुुम्पिएको आरोप लगाउँदै आएका थिए । स्वदेशी लगानीमा निर्माण गर्न सकिने उक्त आयोजनाको निर्माण र लगानीको जिम्मा विदेशी कम्पनीलाई दिने कार्यलाई उनले ‘राष्ट्रघात’ को संज्ञा दिएका थिए । तर, अन्य दलहरू भने यसमा मौन थिए । आयोजना निर्माण सम्पन्न गर्न दुई खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र सर्वसाधारणलाई सेयर बेचेर र विभिन्न देशका एक्जिम बैंकहरुसँग न्यून ब्याजदरमा ऋण लिएर आयोजना निर्माण गर्न सकिने विश्वास लिइएको छ । नेपाल आयल निगमले उक्त आयोजनाको पूर्वाधार निर्माण गर्न १८ अर्ब रुपैयाँ संकलन गरिसकेको छ । त्यसका लागि निगमले उपभोक्तालाई अतिरिक्त भार नपर्ने गरी भन्सार बिन्दुमै शुल्क उठाउँदै आएको छ । निगमले भन्सार नाकामा डिजेल, पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँका दरले शुल्क उठाइरहेको छ । यसरी संकलित रकम सरकारी खातामा जम्मा हुने र बूढीगण्डकी आयोजना पूर्वाधार निर्माणमा खर्च गरिने भएको छ ।
सरकारले आयोजना प्रभावित क्षेत्र धादिङ र गोरखाका स्थानीय बासिन्दालाई मुआब्जा वितरण गरिरहेको छ । बहुउद्देश्यले निर्माण गर्न लागिएको उक्त आयोजनाका लागि दुई सय ६३ मिटर अग्लो बाँध बनाइनेछ । बाँध बनाउँदा पोखराको फेवातालभन्दा १४ गुना ठूलो ताल बन्नेछ । पर्यटक आकर्षणको केन्द्रका रुपमा विकसित गर्न सकिने सम्भावना पनि त्यत्तिकै छ । मुलुकको औद्यौगिकीकरणका लागि विद्युत्को बढ्दो मागलाई पूरा गर्न बूढीगण्डकी निर्माण गर्नु जरुरी छ । करिब आठ वर्षमा निर्माण पूरा हुने उक्त आयोजना निर्धारित समयमै निर्माण सम्पन्न गर्नुपर्छ । सरकारले गत वर्ष आर्थिक वृद्धि ७ प्रतिशत पु¥याएको थियो । चालू आवमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान छ । आगामी वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिने सम्भावना छ । त्यसका लागि पनि बिजुली उत्पादन बढाउनुपर्छ । अहिले प्रतिव्यक्ति प्रतिवर्ष बिजुली खपत एक सय २५ युनिट मात्र छ । प्रतिव्यक्ति विद्युत् खपतलाई आगामी १० वर्षभित्र कम्तीमा एक हजार पाँच सय युनिट पु¥याउनु जरुरी छ । लगातारको आर्थिक वृद्धिले आशावादी बनाएको छ । बिजुली अभावका कारण समृद्ध  नेपाल निर्माणमा अवरोध पुग्ने हो कि भन्ने चिन्ता छ । सन् २०२२ सम्ममा विकासशील तथा सन् २०३० सम्ममा मध्यम आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने लक्ष्य पूरा गर्न पनि बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना निर्माण गर्न विलम्ब गर्नु हुँदैन । विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलगायतको काम सम्पन्न भइसकेकाले उक्त आयोजना जति सक्दो छिटो निर्माण गर्नुपर्छ । तर बिनाआधार कहिले कुनै मुलुक विशेषलाई दिने फेरि अर्को मुलुकले त्यसलाई पाउन प्रतिस्पर्धा गर्ने स्थितिले बूढीगण्डकीजस्ता ठूला आयोजना निर्माणमा अवरोध उत्पन्न गर्छ । यस्ता आयोजना सञ्चालनका निम्ति नीतिगत स्थायित्व अपरिहार्य हुन्छ । 

प्रकाशित: २७ वैशाख २०७५ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App