४ वैशाख २०८१ मंगलबार
विचार

समृद्धि सम्भव छ ?

एक्काइसौँ शताब्दी विकास र समृद्धिको शताब्दी हो । हामीसँगै र हामीभन्दा पनि पछि आर्थिक विकास र निर्माणमा जुटेका मुलुकहरू उदीयमान अर्थतन्त्र बने भने केही ‘एसियाका बाघ’मा रूपान्तरण भएका छन् र यस शताब्दीलाई एसियाको शताब्दी बनाउन लागिपरेका छन् । पुँजी र प्रविधि लिएर कर्पोरेट गुरिल्लाहरूलगानी र बजार विस्तारका अवसर खोज्न कुदिरहेका छन् । प्रविधिले बजार सङ्केत ठम्याउन पनि सघाएको छ र आजको पुस्ता काम गरेर वृत्ति खोजौँ भन्ने अभियानमा जुटेको छ । तर महत्वको रणनीतिक विन्दुमा रहेको अपार सम्भावनासहितको सानो मुलुक नेपालका लागि बितेका हरेक दशक र वर्षहरू गुमेको अवसर बने । परिणामतः प्राचुर्यमा अभावको स्थिति देखिएको छ । 

व्यापार घाटा कहालीलाग्दो छ । एक रुपियाँको सामान निर्यात गर्दा झन्नै १३ रुपियाँको आयात गरिरहेका छौँ । 
नेपालको आर्थिक समृद्धिका लागि नेतृत्वदायी क्षेत्र (लिड सेक्टर) पहिचान भएकै छैन । मुलुक सहशासनको सुरुवाती चरणमा रहेकाले राष्ट्रिय प्राथमिकताका लागि यसो गर्नु आवश्यक छ । विगतमा सबै आर्थिक क्षेत्रलाई समान प्राथमिकतामा राखियो र सीमित स्रोत छरियो । अब बदलिनुपर्छ ।

आर्थिक वृद्धि मानवीय विकास र सामाजिक रूपान्तरणको पहिलो जग हो । आर्थिक वृद्धि प्राकृतिक साधन, मानवीय स्रोत, पुँजी र प्रविधिको आदर्श अभ्यासबाट पाइने परिणाम हो । यी चार स्रोत नै कुनै पनि अर्थतन्त्र विकासका आधार हुन् । तर स्थिर राजनीति, उच्च तहको बचत एवं लगानी, उपयुक्त नीति वातावरण, संस्थात्मक क्षमता र दह्रोे प्रशासनविना यी चार साधनले उपयोगिता सिर्जना गर्न सक्दैनन् । जनता समृद्धि र विकासमा अधीर छन्, निर्वाचित पदाधिकारी समृद्धि र समुत्थानका वाचा गरेर विजय भएका हुन् । यसको अनुभूति छिटै दिननसके जनमानसमा कुण्ठाले स्थान पाउनेछ । संविधान, दिगो विकास लक्ष्यलगायतमा घोषणा भएका राज्यइच्छामा यही कुरा मुखरित भएको छ । घोषणा नै नगरे पनि समृद्धि र रूपान्तरण कुनै पनि राज्य प्रणालीको प्रमुख उद्देश्य हुँदै हो । विगतदेखि नेपाली अर्थतन्त्रले केही आर्थिक र केही गैरआर्थिक चुनौती भोग्दै आएको छ । न्यून आर्थिक वृद्धि, उच्च बेरोजगारी असमानता र मूल्य वृद्धिले जनतामा निराशा छ । निश्चित आय वर्गका सर्वसाधारण मुद्रास्फितिको चपेटामा छन् । कृषिमा निर्भरता छ, ‘कृषि व्यवसाय नभएर निर्वाह’ भएको छ । सार्वजनिक खर्चको माग अत्यधिक छ तर बचत तथा लगानीबीच ठूलो खाडल मात्र छैन, विनियोजित साधनलाई समयमै खर्च गरेर अर्थतन्त्रलाई चलायमान बनाउन सकिएको छैन तर प्रतिबद्ध खर्च धान्नै हम्मे हुनेगरी विस्तार भएको छ । राज्यपुनर्संरचनाको क्रम रहेकाले अबका केही वर्ष यो अरू विस्तार हुने सम्भावना छ । व्यापार घाटा कहालीलाग्दो छ । एक रुपियाँको सामान निर्यात गर्दा झन्नै १३ रुपियाँको आयात गरिरहेका छौँ । उपभोग प्रणालीमा आएको परिवर्तनले आयात बढाउन मद्दत गर्दैछ । अधिकांश लगानी अनुत्पादक क्षेत्रमा छ । औद्योगिक उत्पादनमा लगानी प्रवाहित छैन । व्यवसायीहरू उत्पादनमा भन्दा व्यापारलाई सुरक्षित देखिरहेका छन् । औद्योगिक व्यवसाय उत्पादनबाट शिक्षा, स्वास्थ्य र सूचनासञ्चारमा डाइभर्ट भएको छ । अनौपचारिक क्षेत्र नियमित छैन र बजार पनि अराजक छ । विकास र वातावरणबीचको सन्तुलत पनि बिग्रँदै गएको छ । त्यसैले विकास यात्राको छ दशकसम्म पनि गरिबी निवारण नै राज्यको प्राथमिक कार्यसूचीमा रहिरहेको छ । गरिबीको भौगोलिक, जातीय र वर्गीय स्वरूप देखिएको छ । जनस्तरमा मनग्यरूपमा आर्थिक संरचना निर्माण गर्न सकिएको छैन । 
नेपाली अर्थतन्त्र चुनौतीले भरिएको मात्र होइन । प्रशस्त अवसर र सम्भावना पनि विद्यमान छन्, जुन आर्थिक समृद्धि र सामाजिक रूपान्तरणका आधार हुन् । लामो समयदेखि रहँदै आएको राजनैतिक संक्रमण अबअन्त भएको छ । सामाजिक विम्ब देखिएको र जनताको भावना मुखरित भएको संविधान निर्माण भईनिर्वाचनपश्चात् राजनैतिक संरचना क्रियाशील भएका छन् । सबै राजनैतिक दलहरूको साझा प्रतिबद्धता आर्थिक विकासमा केन्द्रित रहेको छ । राजनैतिक अस्थिरताको पनि अन्त्य भएको छ । कुनै बहाना वा विकल्पमा अविकासको छुट अब रहेन । अर्को अवसर विकासका लागि जनतामा व्यापक उत्साह र जागरण छ । जनता आफैँ आफ्नो विकासमा लाग्न आतुर छन्, उत्प्रेरक भूमिका मात्र सरकारले निर्वाह गरेपुग्छ । युवाहरू रोजगारीका लागि आतुर छन् । आफ्नो क्षमताअनुसार वृत्ति चयन गर्ने आतुरता युवाशक्तिमा छ । जनसांख्यिक लाभ पनि अब केही दशकका लागि मुलुकसँग छ । आर्थिक रूपमा सक्रिय जनसंख्याको हिस्सा नै ५७ प्रतिशत छ । यो जनसांख्यिक संरचना केही समयका लागि प्राप्त अवसर हो । लगानीकर्ताका लागि सुरक्षित वातावरण छ । राजनैतिक तहबाट भएको प्रतिबद्धता एवं नीति सुधारबाट आफ्नो क्षमता र सम्भावना उपयोग गर्न आन्तरिक तथा बाह्य लगानीका लागि सुरक्षित वातावरण निर्माण भएको छ । अपार प्राकृतिक साधनको उपलब्धता अर्को अवसर हो । अहिले पनि खेतीयोग्य भूमि, व्यावसायिक प्रयोगमा ल्याउन सकिने वन, बुहपक्षीय उपयोग गर्न सकिने पानी र अन्वेषण नै नभएका भौगर्भिक साधनहरू हाम्रा विकास र समृद्धिका आधार हुन् । भू–धरातलीय बनोट एवं हावापानीको कारणले सांस्कृतिक, जैविक एवं पर्यावरणीय विविधता छ । यसले जीवनशैली र संरचनागत जटिलतामात्र द्योतन गर्दैन, विकासका मौलिक सम्भावनालाई पनि संकेत गर्छ । छिमेकी अर्थतन्त्र एसियाका बाघ बन्ने प्रतिस्पर्धामा छन् । उनीहरूले छाडेको स्पेस र इकोनोमी अफ स्केलबाट फाइदा लिने अवसर छ । तुलनात्मक लाभ भन्ने शब्द ल्याउने गरिन्छ, तर त्यसो नभनी दुई उदीयमान अर्थतन्त्रले छाडेका सेवा, उत्पादन र बजार व्यवसायहरू नै हाम्रा लागि समृद्धिका दह्रो आधार बन्न सक्छन् । त्यतिमात्र होइन, दुई अर्थतन्त्रलाई जोडेर मध्यस्थताको फाइदा लिन सकिन्छ । उत्तर–दक्षिण कोरिडोरको अवधारणा पनि अघिसारिएको छ तर मूर्तरूप दिन भने जरुरी छ । ठूलो संख्यामा विदेशमा रहेका नेपाली युवाहरूले आर्थिक विप्रेषणमात्र होइन, सामाजिक विप्रेषण भित्र्याएका छन् । उनिहरूले स्वदेश भित्र्याएको ज्ञान, सीप, समावेशिता, विकासमुखी स्वभाव, काम गर्नुपर्छ भन्ने भावना प्रत्यक्ष रूपमा देखिएको आर्थिक फाइदाभन्दा कैँयन् गुणा ठूलो छ । केही वर्ष अघिसम्म नेपाली बजारमा बेमौसमी तरकारी पाइँदैनथ्यो, ट्राउट माछा नामै सुनिँदैनथ्यो, मोबाइल किचेन पनि थिएनन्, पढेलेखेकाहरूश्रमसंस्कृतिबाट विमुख थिए । सामाजिक विप्रेषण (सामाजिक पुँजी, मानवीय पुँजी र सांस्कृतिक पुँजीको योग) ले बिस्तारै आकार लिँदैछ । यसलाई व्यावसायिक स्वरूप दिन सकिन्छ । यो स्वरोजगारीको ठूलो आधार हुनसक्छ । नेपाली डायस्पोरा विश्वका सवासयभन्दा बढी मुलुकमा विस्तार भएको छ । यसले जनस्तरको कूटनीति परिचालन गरिरहेको छ । नेपालका सम्भावना, पहिचान र संस्कृतिलाई नेपाली मनले विश्वभरि फैलाउँदै छ । साहसिक खेल, सगरमाथा, बुद्धसंस्कृति, बोल्ने देवदेवी र योग अनुसन्धान एवं लेखन क्षेत्रको एकाधिकार हामीसँग छ । मातृभूमिबाहिर कर्म गरिरहेका नेपाली मनहरूले नेपालको विकास गर्न श्रम, पसिनासँग प्रत्येक पल नेपालकै प्रचार गरिरहेका छन् । कतिपय मुलुकमा नेपाली मूलका प्रतिभाहरू उच्च ओहोदामा समेत पुगिसके । उनीहरू चाहन्छन्— नेपाल विकास होस् र उनीहरूको भावीपुस्ताले आफ्नो भविष्य आफ्नै मातृभूमिमा खोज्न सकून् । डायस्पोरा परिचालनलाई संस्थागत स्वरूप दिन औपचारिक प्रोत्साहन राज्यबाट गर्नसकिन्छ । यी हाम्रा सम्भावना बाहेक विकास साझेदारीको नयाँ स्वरूप जलवायु वित्तलाई नेपालको हितमा उपयोग गर्ने प्रशस्तै आधार सिर्जना भएको छ । प्राविधिक नेतृत्व र संस्थागत परिपाटीमा केही अलमल छ । पहाडी भूधरातल, मौलिक (रैथाने) प्रविधि, समुदायमा आधारित अनुकूलन र नीति आधारशिला जलवायु साझेदारीका लागि हाम्रा बलिया सम्भावना हुन् । तर साझेदारीलाई राष्ट्रिय प्राथमिकता र प्रणालीमा ल्याउन विवेकशीलता भने चाहिन्छ । 
नेपालले आर्थिक समृद्धिका लागि नेतृत्वदायी क्षेत्र (लिड सेक्टर) पहिचान भएकै छैन । मुलुक सहशासनको सुरुवाती चरणमा रहेकाले राष्ट्रिय प्राथमिकताका लागि यसो गर्नु आवश्यक छ, सजिलो पनि छ । विगतमा सबै आर्थिक क्षेत्रलाई समान प्राथमिकतामा राखियो र सीमित स्रोत छरियो । दश वर्षका लागि हाम्रो विकास कार्यसूचीको प्राथमिकता गरिबी निवारण नै हो, गरिब नै उसको गरिबी घटाउने सबैभन्दा उपयुक्त पात्र हो । ऊसँग श्रम मात्र छ, जसलाई सीपमाबदली व्यवसायसँग आबद्ध गर्नु जरुरी छ । अर्को अर्थमा ऊ रोजगारी चाहन्छ । त्यसैले नेतृत्वदायी क्षेत्र पहिचान गरेर व्यापक रोजगारी सिर्जना गर्नुको विकल्प छैन । प्राज्ञिक अध्ययनभन्दा पनि व्यावहारिक हँुदा कृषिको व्यवसायीकरणमार्फत खाद्य सुरक्षा प्राप्त गर्न सकिन्छ । यसले संक्रमण (ट्रान्जिसन) चरणबाट प्रस्थान (टेकअफ) तर्फ अर्थतन्त्रलाई धकेल्न सक्छ । जलविद्युत्ले आर्थिक छलाङ मार्दै अर्थतन्त्रलाई परिपक्वस्तरमा पु¥याउन सक्छ, लागत संरचना घटाउन र हरित अर्थतन्त्र निर्माण गर्न सघाउँछ भने पर्यटनजस्ता सेवा क्षेत्रले दिगोपना दिनसक्छ । अन्य उपक्षेत्रहरू यी तीन क्षेत्रका सहयोगीका रूपमा रहनुपर्छ । उच्च, फराकिलो, समावेशी र दिगो आर्थिक वृद्धि अनिमात्र सम्भव छ । अन्यथा प्रचुर सम्भावनामा अभावको हाम्रो स्थिति कायमै रहनेछ । 

प्रकाशित: २७ वैशाख २०७५ ०३:३३ बिहीबार

समृद्धि सम्भव