coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

दुर्घटनाको जोखिम उच्च

नारायणगढ–मुग्लिन सडक खण्डमा जाममा परेका सवारीसाधन।तस्विरः सविता/नागरिक

चितवन - चालू आर्थिक वर्षको वैशाख २३ सम्ममा चितवनमा एक सय ९५ वटा सवारी दुर्घटना हुँदा ९७ जनाको ज्यान गएको छ । तीन सय ७१ जना घाइते भएका छन् । तीमध्ये नारायणगढ–मुग्लिन सडकखण्डमा मात्र ३० दुर्घटना भएका थिए । ती दुर्घटनामा १९ जनाको मृत्यु र ७० जना घाइते भए । आर्थिक वर्ष २०७०-७१ देखि २०७३-७४ सम्ममा मात्र नारायणगढ–मुग्लिन सडकमा एक सय २१ सवारी दुर्घटना भएका छन्, जसमा परेर ९७ जनाले ज्यान गुमाए । तीन सय एकजना घाइते भए।

गएको आर्थिक वर्षमा मात्र चितवनमा दुई सय ५८ सवारी दुर्घटना भएका थिए । दुर्घटनामा एक सय ६३ जनाको मृत्यु र ५ सय ७५ जना घाइते भएका थिए । उक्त समयमा नारायणगढ–मुग्लिन सडकमा मात्र ३५ सवारी दुर्घटना हुँदा ४७ जनाको ज्यान गएको र ९५ जना घाइते भएका थिए । नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाको संख्या बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले बताए ।

उक्त सडक खण्डमा माथिबाट खसेको पहिरोका कारण पनि दुर्घटना हुने गरेको छ । गत वर्षको वर्षायाममा उक्त सडक खण्डका धेरै ठाउँमा पहिरो जाँदा लगातार ४३ घण्टासम्म बाटो थुनिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सडक विस्तारको काम सुरु भएपछि सडक खण्डमा पहिरोमा परेर र माथिबाट खसेको ढुंगाले लागेर मात्र आठजनाको ज्यान गएको छ । चारवटा ठूला दुर्घटनामा परेर १६ जना घाइते भएका छन् । दुर्घटनामा परेर पहिरोले गाडी नै बगाउँदा चार प्रहरीको समेत मृत्यु भएको थियो।

निर्माणाधीन भएकाले बारम्बार पहिरो खस्ने सम्भावना र तीव्र गतिका कारण नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाको जोखिम उच्च छ ।

यस वर्ष पनि वर्षाको समय आउँदै गरेको तर निर्माण कार्य नसकिएकाले दुर्घटनाको जोखिम बढिरहेको पन्तले बताए । सडक खण्डमा तीव्र गति र सुक्खा पहिरो प्रमुख समस्या बनेका छन् । दुवै कारणले पछिल्लो वर्षमा सडक खण्डमा दुर्घटना बढिरहेको पन्तले बताए । ‘वर्षामा सानो पहिरो नखस्ने त दिन नै हुँदैन’, उनले भने, ‘यो वर्ष सुरु भएपछि पनि धेरै ठाउँमा ससानो पहिरो खसेको छ ।’ वैशाखमै धेरैपटक पानी परेकाले पनि सडकमा पहिरो धेरै खसेको उनले बताए।

जामले हैरान
निर्माणका क्रममा एकतर्फीमात्र गाडी सञ्चालन हँुदा उक्त सडक खण्डमा लामो समय जाम हुने गरेको छ । त्यसमाथि पटकपटक खस्ने पहिरोले पनि बाटो अवरुद्ध हुँदा समस्या थप बढ्ने गरेको छ । हालै मात्र एकडेढ घण्टा पहिरोले बाटो थुनिएको थियो । गत शनिबार र सोमबार पनि सडक खण्डमा धेरै लामो जाम परेको पन्तले सुनाए । ‘नाइट बसहरु कट्दा नै बिहानको आठ बजिसकेको थियो’, उनले भने । सडक पार गर्नका लागि कम्तीमा पनि छसात घण्टा नै लागेको थियो ।

सडक खण्डमा पहिरो खस्नासाथ हटाउनका लागि एक्साभेटर र लोडर ‘स्ट्यान्डबाई’ नहुँदा बाटो खुलाउन थप केही समय बढी लाग्ने गरेको उनको अनुभव छ । पहिरो हटाउन तथा सडक दुर्घटनामा उद्धार गर्न नारायणगढ–मुग्लिन जस्तो संवेदनशील सडकखण्डमा चौबिसै घण्टा तयार भएर बस्नुपर्ने प्रहरी निरीक्षक पन्त बताउँछन् । पहिरो नै खस्नबाट रोक्न तत्काल नसके पनि पहिरो खस्नासाथ हटाउन सकेमा मात्र पनि यात्रुलाई सहज हुने उनको भनाइ छ।

सडक विस्तारका क्रममा सडक खण्डमा धेरैजसो ठाउँमा पहाड काटेर सडक विस्तार गरिएको छ । करिब २५ किलोमिटर सडक र पहाड फोरेर विस्तार गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इन्जिनियर गोविन्दप्रसाद अर्यालले बताए । पहिरो नियन्त्रण गर्न र फोरिएका पहाडबाट पहिरो झर्न नदिन सडक खण्डमा काम भइरहेको छ । पहाड नै फोरेर विस्तारको काम गरिएकाले समेत पहिरोको जोखिम बढी छ । निर्माणाधीन सडकमा सुक्खा पहिरो खसिरहन्छ । वैशाख महिनामा पनि धेरै दिन ससानो पहिरो खसेको अर्यालले बताए ।

पहाडबाट पहिरो झर्न नदिन रक नेटिङ, रक बोल्टिङ, एङकरिङ र बायो इन्जिनियरिङको काम भइरहेको छ । १४ करोडको लागतमा सडक खण्डमा पहिरो रोकथामका उपाय प्रयोग गर्न थालिएको आयोजनाका डिभिजनल इन्जिनियर खनालले जानकारी दिए । असारसम्म काम सक्नेगरी सुरु गरिएको पहिरो रोकथाम कार्यअन्तर्गत सडक खण्डमा अहिले पहाडको एक सय मिटरभन्दा माथिसम्म पुगेर खस्नसक्ने ढुंगामाटो झार्ने काम भइरहेको उनले बताए।

सडक खण्डको जलविरेदेखि मुग्लिनसम्मको जलविरे, कालिखोला, चोरखोला, चेपाङ डाँडालगायतका क्षेत्रमा पहिरोको बढी जोखिम रहेको उनले बताए । यससँगै केराबारी, सेतीदोभानलगायतका स्थान पनि जोखिममा छन् । ‘सानोतिनो पानी परेका बेलामा पनि पहिरो खसेको छ’, उनले भने, ‘पहिरो नियन्त्रणका काम थालिएकाले अघिल्लो वर्षको जस्तो पहिरो धेरै जाने सम्भावना भने कम छ ।’ सडक आयोजनाअन्तर्गत आँपटारीदेखि मुग्लिनसम्मको ३३.२ किलोमिटर सडक विस्तारको काम अहिले भइरहेको छ । सडक विस्तारमा ८५ प्रतिशत काम सकिएको उनले जानकारी दिए ।
 

प्रकाशित: २७ वैशाख २०७५ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App