coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मोदी भ्रमण : भारतीय लगानीका ठूला आयोजनाको निर्माण अधुरै

भारतीय वाणिज्य दूतावासको सहयोगमा निर्माणाधिन गौरमा रकम अभावमा अलपत्र परेको छात्रावास । तस्विर : नागरिक

रौतहट– भारतीय लगानीमा रौतहटमा सञ्चालन भएका सबै ठूला आयोजनाको काम अधुरै रहेको छ। भारतीय दूताबासमार्फत निर्माण हुने ठूला संरचनाको काम अधुरै रहेको अवस्थामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनको समयमा अधुरा आयोजनाहरु पूरा गर्नेबारे सम्बोधन हुने विश्वास स्थानीयबासीको रहेको छ।

रौतहटमा भारतको लगानीमा १३ वर्ष पहिले निर्माण सुरु भएर अधुरै रहेको जुद्ध मावि गौरको छात्रावास, मावि पिपरा भलोहियालाई दिने भनिएको भवन तथा निर्माण सुरु भएर बीचैमा रोकिएको मावि पथरा बुधरामको विद्यालय भवन विषय पनि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा सम्बोधन हुने विश्वास जिल्लाबासीले लिएका छन्।

भारत सरकारको झण्डै दुुई करोड ९५ लाख रुपैयमा ५१ कोठा भएको तीन तल्ले भवन निर्माण कार्य सम्पन्न गर्न काठमाडौको गोर्खा, स्काई र क्यानन कन्ट्रक्सनले जोवाइन्ट भेन्चरमा ठेक्का सकार गरेका थिए।

सदरमुकाम गौरमा १३ वर्ष पहिले निर्माण सुरु भएर बीचैमा अधुरा छाडिएको ५१ कोठे तीन तले अत्याधुनिक सेवासुविधा सम्पन्न छात्राबासको संरचना नै भत्किन थालेको छ। विद्यालयको पुरानो छात्राबासलाई भत्काएर २ करोड ९५ लाख रुपैयाको लागतमा २०६४ सालमै निर्माण सकिने गरी थालिएको थियो तर छात्रावासको भवन निर्माण कार्य अधुरै रहेको छ।

निर्माण अवरुद्ध भएको मावि गौरको छात्राबासको भवनको निर्माण सुरु गर्न पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, तत्कालीन व्यवस्थापन समितिका अध्यक्ष शम्भु साह, तत्कालीन प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी लगायतले भारतीय दूताबासलाई बारम्बार ताकेता गरेको पाइन्छ। भारतीय दूताबास तथा भारतीय महावाणिज्य दूताबाससित वीरगंजमा पटक पटक वार्ता भएको भए पनि छात्राबास भवनको निर्माण सुचारु हुन सकेको छैन्। निर्माणको ठेक्का लिएको कम्पनीले निर्माण कार्य सम्पन्न गर्नुपर्ने भारतीय पक्षको भनाइ रहेको तर निर्माण कम्पनीले भने निर्माण सामग्रीको मूल्य आकाशिएको अनुपातमा ठेक्काको रकममा वृद्धि गरिनुपर्ने तर्कका कारण समस्या बीचैमा अल्झिएको पूर्वप्रधानमन्त्री नेपाल बताउँछन्।

मुलुककै जेठो मध्येको चौथो विद्यालयको रुपमा रहेका जुद्ध उच्च माध्यामिक विद्यालय गौरको नयाँ छात्रावास भवन बन्न नसक्दा र पूरानो भवन जिर्ण हुदा विद्यार्थीहरु मर्कामा परेका छन्। निर्माण कार्य गर्ने जिम्मेवारी पाएको डेढ बर्षभित्रमा काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि ठेकेदार र सम्बन्धित निकायको लापरबाहिले गर्दा सो भवन अझै निर्माण हुन सकेको छैन्। तीन वर्षमा निमार्ण कार्य सम्पन्न गर्नुपर्ने समझौता भएपनि ११ वर्ष बितिसक्दा पनि विद्यालयको छात्रावास भवन बन्न नसक्दा बाहिरबाट गौर आएर अध्ययन गर्ने छात्रहरु बाहिर कोठा लिएर पढ्न बाध्य बनेको छ।  

यसैगरी सरस्वती मावि पिपरा भलोहियाको एउटा विद्यालय भवन २०६२ निर्माण सम्पन्न भएको र अर्को भवन निर्माणको आश्वासन भारतीय दूताबासले दिएकोमा दश वर्षभन्दा बढी बित्दा पनि आश्वासन पूरा नहुँदा स्थानीयबासी भारतीय प्रधानमन्त्री मोदीको भ्रमणमा दूतावासले दिएको भवनको आश्वासन पूरा हुने अपेक्षा राखेका छन्।

मौलापुर नगरपालिकाको मावि पथरा बुधराममा भारतीय दूताबासमार्फत निर्माणाधीन विद्यालय भवन भारतीय दूताबासले रकम उपलब्ध नगराउँदा निर्माण कार्य ठप्प भएको छ। गत २०७३ माघ ६ गते तत्कालीन भारतीय राजदूत रन्जित रेले शिलान्यास गरेको भवनलाई रकमको अभावमा रोकिएको छ। २०७५ माघसम्ममा निर्माण कार्य सम्पन्न हुनुपर्ने योजनाको निर्माण रकमको अभावमा रोकिएको छ। ४ करोड ३९ लाखको लागतमा निर्माण गर्न सम्झौता भएको भवनको लागि दूताबासले १ करोड रुपैया मात्र दिएको तर साढे दुई करोडभन्दा बढीको काम सम्पन्न भइसकेको अवस्थामा दूताबासले समय तालिकाअनुसार रकम उपलब्ध नगराउँदा योजना अवरुद्ध भएको छ।

विद्यालयका प्राचार्य राजेन्द्र साहले निर्माणको ठेक्का लिएको शिवशक्ति/धनन्जय/चौधरी जेभी गौर ७ ले अढाई तले भवनको भुइँतल्ला र एकतल्लाको काम समेत गरी करिब साढे दुई करोड रुपैया बराबरको काम सम्पन्न गरिसकेको भए पनि दूताबासले निर्माण कम्पनीलाई रकम उपलब्ध नगराउँदा निर्माण रोकिएको बताएका छन्। मौलापुर नगरपालिका, मावि पथरा बुधराम तथा अन्य निर्वाचित जनप्रतिनिधिहरु समेत निर्माण कम्पनीलाई रकम उपलब्ध भारतीय दूताबासमा डेलिगेसन लिएर गएर बारम्बार आग्रह गर्दा पनि भुक्तानी नदिएको प्राचार्य साह बताउँछन्।

रकमको अभावमा रोकिएको निर्माण कार्य भारतीय प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणको अवसरमा सम्बोधन हुने विश्वास व्यवस्थापन समिति तथा स्थानीयबासीले लिएका  छन्। भवन निर्माणको लागि खसालिएको ढुँगा, बालुवा तथा छड लगायतका सामानमा खिया लाग्न थालेकोले भवन निर्माण हुँदा पनि गुणस्तरीय नहुने पो हो कि भन्ने चिन्ता स्थानीयलाई लाग्न थालेको छ।

प्रकाशित: २६ वैशाख २०७५ १६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App