सिन्धुली– पर्यटकीय राजमार्गको रुपमा रहेको यहाँको विपी राजमार्गमा क्रसरका टिपरले राजमार्ग भरीभराउ हुन थालेको छ। पछिल्लो समय सुनकोसीमा धमाधम क्रसर चल्न थालेपछि तिनै क्रसर उद्योगीहरुको टिपरले राजमार्ग भरिएको हो।
सुनकोसीको तिरैतिर निर्माण भएको राजमार्गमा हाल दैनिक सयौ टिपर तथा ट्रकले ढुङ्गा बालुवा ओसारपसार गर्ने गरेका छन्। दैनिक रुपमा ठूलो सङ्ख्यामा टिपर चल्दा दुर्घट्ना बढ्न सक्ने स्थानीय बताउँछन्। यहाँको गोलञ्जोर गाउँपालिकामा पर्ने सुनकोशी नदी तथा सुनकोशी गाउँपालिका र रामेछाप जिल्लामा पर्ने सुनकोसी नदीबाट ढुङगा बालुवा निकाल्दै क्रसर उद्योगसम्म ल्याउने र उद्योगबाट काठमाडौं लगायत देशका विभिन्न स्थानमा पु-याउदा राजमार्गमा टिपरको संख्या ह्वात्तै बढेको हो।
विगत एक बर्ष अगाडिसम्म विपी राजमार्गमा विरलै देखिने टिपरको हाल राजमार्गमा बाह्रै घण्टा लाइन देखिन थालेको छ। ‘विपी राजमार्गमा टिपर धेरै बढेको छ’, स्थानीय कमल लामाले भने– ‘सिन्धुलीको खुर्कोटदेखि धुलिखेलसम्म टिपरको चाप देखिन्छ।’
साना गाडी तथा केही बसलाई मात्र सञ्चालनको अनुमती दिइएको विपी राजमार्गमा हाल भारी लोड बोक्ने टिपर ट्रकलाई खुलेआम स्थानीय तहले आवातजावत गर्न दिएका छन्। सुनकोशी गाउँपालिकाले प्रत्येक क्रसर उद्योगलाई ३ देखि चार वटा मात्र बालुवा झिक्न सुनकोशीमा आवतजावत गराउने निर्णय गरेपनि क्रसर उद्योगीहरुले गाउँपालिकाको निर्देशनविपरित सुनकोशीको बगरभरी टिपर पु-याउने गरेका छन्। हाल एउटै क्रसर उद्योगको बालुवा झिक्न मात्र २० बढी टिपर रहेको स्थानीय बताउँछन्।
‘हामीले प्रत्येक क्रसर उद्योगलाई तीन/तीन ओटा मात्र टिपर बालुवा झिक्नमा प्रयोग गर्न भनेका छौ’, सुनकोसी गाउँपालिका अध्यक्ष दिपा दाहालले भनिन्– ‘किन्ने र विक्री गर्ने ट्रिफर थपिएका होलान्।’ उनका अनुसार सुनकोशी गाउँपालिकाभित्र रहेका क्रसरको मात्रै नभएर जिल्ला रामेछापका व्यवसायीहरुको समेत विपी राजमार्गबाटै आवतजावत गर्दा राजमार्गमा टिपरले भरिभराउ भएको हो। सिन्धुलीको भन्दा रामेछापबाट बढी टिपर चलिरहेको छ, उनले भनिन्– ‘सबै क्षेत्रका भएकाले हाल राजमार्गमा टिपर बढेको देखिन्छ। विगत एक बर्ष अगाडिसम्म काभ्रे र सिन्धुलीको दुम्जा आसपास मात्र आउने टिपरले हाल सुनकोसी गाउँपालिकासहित अन्य स्थानले विपी राजमार्गमा कब्जा जमाइसकेका छन्।’
राजमार्गमा खाडलै खाडल
विपी राजमार्गमा अत्याधिक टिपर चल्न थालेपछि राजमार्गमा ठुला ठुला खाडल हुन थालेको छ। अत्याधिक भार बोकेका टिपर चल्न थालेपनि सौन्दर्यले भरिपूर्ण राजमार्गमा खाडल हुन थालेको स्थानीय बताउँछन्। केही समय अगाडि मात्रै भार थेग्न नसक्दा विपी राजमार्गको खुर्कोट नेपाल थोक खण्डको खाल्टे नजिकै राजमार्गसहित वाल खसेर सुनकोशी नदीमा पुगेको थियो। लामो कसरपछि उक्त सडक बनाइएपनि अत्याधिक भार बोकेका टिपर दैनिक चल्दा पुन सडक जोखिममा हुने देखिएको छ। घुमाउरो र अत्यन्त आकर्षक सडक खाल्डैखाल्डा भई धेरै भत्किएमा सिन्धुलीसहित नेपालले नै ठुलो क्षति बेहोर्नुपर्ने भएकाले सडकको संरक्षणका लागि सीमित मात्रै टिपरसहित बढी भार बोक्ने गाडीलाई नियन्त्रण गर्नुपर्ने स्थानीय बताउँछन्।
नेपालकै नमुना राजमार्गको रुपमा रहेको यस राजमार्गको नागबेलीभित्र ऐतिहासिक स्थल सिन्धुलीगढी पनि पर्छ। सिन्धुली गढी अवलोकन गर्न र बिपी राजमार्गको सुन्दरता हेर्नकै लागि भएपनि नेपालका विभिन्न स्थानबाट पर्यटकहरु आउने भएकाले राजमार्गमा भएको खाल्डाखुल्डीसहित क्षतिलाई तत्काल बनाउने र राजमार्ग विगार्न सक्ने सवारीबाट सजग रहनुपर्ने सरोकारवालाको जोड छ।
प्रकाशित: २६ वैशाख २०७५ १३:४७ बुधबार