८ वैशाख २०८१ शनिबार
राजनीति

भाडा भत्ता बढाउन सांसदको लबिङ

काठमाडौं- केपी ओली नेतृत्व सरकारले सांसदको घरभाडा र सवारी भाडा भत्ता बढाउने नीतिगत निर्णय गरे पनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै सांसदले असन्तुष्टि पोखेका छन्। बजेटको निर्णयअनुसार घरभाडाबापत रकम नपाएपछि राजनीतिक दलका प्रमुख सचेतकले सभामुख ओनसरी घर्तीमगर र कानुनमन्त्री अजयशंकर नायकलाई भेटेर लबिङसमेत सुरु गरेका छन्।

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले समायानुकूल घरभाडा रकम बढाउने निर्णय अघिल्लो सरकारले गरे पनि त्यसलाई कार्यान्वयन नगरिदिएपछि सभामुख र कानुनमन्त्रीसँग पुनः छलफल गर्नुपरेको बताए। 'बजेटमा पनि घर भाडा भत्ता बढाउने भनियो तर त्यो रकम सांसदले पाएनन्, त्यसलाई तत्काल कार्यान्वयन गराउन सामूहिक रूपमै सचेतकबाट सभामुख र कानुनमन्त्रीको ध्यानाकर्षण गराउने काम भएको हो,' चौधरीले नागरिकसँग भने, 'आशा छ, त्यसको तत्काल कार्यान्वयन हुनेछ।' संसद् भवन, बानेश्वरमा सोमबार उक्त ध्यानाकर्षणपछि त्यसबारे तत्काल प्रक्रिया थाल्ने कानुनमन्त्री नायकले प्रतिबद्धता जाहेर गरिसकेका छन्।

०५४ सालमा सांसदको तलबभत्ता १५ हजार हुँदा प्रत्येक सांसदलाई घरभाडा भनेर ६ हजार ५ सय, सवारी यातायात खर्च १ सय ५० र पत्रपत्रिका खरिद ३ सय रुपैयाँको सुविधा दिइएको थियो। २० वर्षसम्म पनि त्यसमा समायानुकूल परिवर्तन नगर्दा सांसद मर्कामा परेको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदै आए पनि कार्यान्वयनमा नल्याइएको चौधरीले बताए।

पटक–पटक सांसदको तलबभत्ता बढे पनि उक्त शीर्षकमा रकम नबढेपछि संसद्ले उपसमिति नै बनाएर घरभाडा समायानुकूल बनाउन सिफारिस गरेको निवर्तमान मन्त्री प्रेमबहादुर सिंह सम्झन्छन्। 'एक उपसमितिले घरभाडालगायत ०५४ सालदेखि नबढेको अन्य भत्तालाई समायानुकल बढाउन सुझाव दिएको थियो, त्यसलाई कानुन मन्त्रालय हँुदै अर्थ मन्त्रालय पनि पुर्‍याइयो तर कार्यान्वयन भएन।' उनका अनुसार समयानुकूल घर भाडालगायत सांसदका सुविधा नबढ्दा मर्कामा पर्दै आएका छन्।

कांग्रेस सचेतक चीनकाजी श्रेष्ठ, एमालेलगायत सबैजसो दलका सचेतकले सिफारिस गरेको प्रतिवेदनमा तलब अनुपातअनुसार घर भाडा भत्ता दिनुपर्ने उल्लेख छ। समितिका अनुसार प्रत्येक सांसदको घरभाडा हालको तलबभत्ताको अनुपातअनुसार कम्तीमा पनि २३ हजार ५ सय तथा सवारी साधान खर्च (ट्याक्सी भाडा) कम्तीमा पनि १ हजार रुपैयाँ बनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

सोहीअनुसार नयाँ आर्थिक वर्षको पहिलो महिना अर्थात साउनको तलबभत्तामा समावेश भएर नआएपछि सांसदले कानुनमन्त्री नायकलाई समेत अलग्गै भेटेको सांसद रश्मी ठाकुरले बताइन्। 'अहिले ६ हजार ५ सय प्रत्येक सांसदलाई घरभाडा भनेर दिइँदै आएको छ तर म घरभाडा १८ हजार रुपैयाँ तिर्ने गर्छु,' उनले नागकिरसँग भनिन्, 'तलबभत्ता जति घरभाडा तिर्दैमा जान्छ, यस्तो महँगीमा टिक्नसमेत गाह्रो भएको कसैले बु‰दैनन्।'

ठाकुरसहित सांसदहरू लक्ष्मी भण्डारी, भोटनीदेवी खवास, शान्तिदेवी चौधरी, अञ्जना चाम्लिङलगायत दर्जनभन्दा बढी सांसदले कानुनमन्त्री नायकलाई भेटेर समस्या राखेका छन्। बजेटमा सांसदको तलब बढेको हल्ला भएपछि घरबेटीले पनि भाडा बढाएको गुनासो पनि कानुनमन्त्रीसमक्ष राखेका थिए।

कानुनमन्त्री नायकले सांसदको घरभाडा भत्ता बढाउनुपर्ने समितिको सिफारिसमा कानुनी प्रक्रिया मिलाई अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाइसकेको बताए। 'घरभाडा बढाउने निर्णय स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइदिएको छु, त्यहाँबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउने छ।' उनका अनुसार सम्भवतः भदौबाट सांसदले बढेको घरभाडा भत्ता पाउनेछन्।

प्रकाशित: १४ भाद्र २०७३ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App