८ वैशाख २०८१ शनिबार
समाज

उपत्यकामा मौलायो ठगी

काठमाडौं- 'ठगका हजार दाउ!' राजधानीमा अहिले त्यस्तै देखिएको छ। यहाँ बसेर ठगी धन्दा चलाउनेहरूले अनेक जुक्ति, बहाना र प्रविधि लगाएर आफ्ना गतिविधि दिनदुगुणा, रात चौगुणा बनाइरहेको प्रहरी तथ्यांकले औंल्याउँछ।

तथ्यअनुसार केही वर्षअघिसम्म सयको दायरामा सीमित ठगीका उजुरी पछिल्लो वर्ष हजार नाघिसकेको छ। प्रहरीसम्म आइनपुगेका घटनासमेत खोज्ने हो भने यो संख्या ह्वात्तै हुने देखिन्छ।

नेपाल प्रहरीको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखा र काठमाडौं परिसरका अनुसार उपत्यकामा मात्र बर्सेनि २ अर्ब रुपैयाँभन्दा बढीको ठगी हुने गरेको छ। महाशाखामा गत आवमा दर्ता ८ सय ५ फुटकर र केही संस्थागत ठगीका निवेदनमध्ये १ सय ७२ घटना अदालती प्रक्रियामा छन्। प्रहरीले दर्ता गरेका मुद्दाको बिगो गत आर्थिक वर्षमा मात्र ५५ करोड रुपैयाँभन्दा बढी छ। यस्तै, काठमाडौं परिसरबाट चलेका ठगीका २ सय १५ मुद्दाको बिगो करिब ३८ करोड रुपैयाँबराबर छ। अर्काे एक अर्ब हाराहारी बिगो हुने उजुरी प्रहरी छानबिनकै क्रममा छन्।

महाशाखामा चालु आवमा १ सय ५३ निवेदन दर्ता छन् जसको बिगो रकम १० करोड रुपैयाँभन्दा बढी हुन्छ। महाशाखाले १ करोड ६५ लाखभन्दा बढी रकम बिगो मागदाबी गरी १४ वटा मुद्दा अदालतमा दर्ता भएको जनाएको छ। कुल दर्तामध्ये ५० थान निवेदनमा मिलापत्र भएको र ८३ थान निवेदनउपर अनुसन्धान जारी रहेको उसको भनाइ छ।

काठमाडौं प्रहरीले आर्थिक वर्ष २०७१/७२ मा ठगीका १ सय ५२ मुद्दा चलाएको थियो। तिनको बिगो ३० करोड रुपैयाँ थियो। महाशाखामा परेका करिब ३ सय निवेदनमध्ये ७२ वटामा मुद्दा दर्ता भएको थियो। 

ठगका अनेक जुक्ति

केही अघि मात्र प्रहरीले आफूलाई अघिल्लो सरकारका उपप्रधान तथा रक्षामन्त्री भीमबहादुर रावलको 'खास मान्छे' र राष्ट्रिय अनुसन्धानको प्रहरी भन्दै ठगीमा संलग्न दुईमध्ये एक जनालाई पक्राउ गर्‍यो।

महाशाखालाई रावलको निजी सचिवालयले वैशाख १७ गते लेखेको पत्रमा सुमित्राकुमारी शाही र रमेश बडूलाई आवश्यक अनुसन्धान र कारबाहीको आग्रह गरिएको थियो। सचिवालयको चलानी नम्बर १२२ मा उल्लेख भएअनुसार शाही र बडूले उपप्रधानमन्त्री रावलसँगको निकटतालाई ठगीको माध्यम बनाएका थिए। दुवैले नेपाली सेनाका विभिन्न दर्जाका अधिकारी र सिपाहीलाई संयुक्त राष्ट्रसंघको शान्तिसेना पठाइदिने भन्दै रकम असुलेका थिए। बडू वैशाख १७ गते पक्राउ परे। शाही अझै फरार छिन्।

महाशाखाले असार ८ गते सैनिक अधिकृतको नाम दुरुपयोग गर्दै किर्तेमा संलग्न अञ्जु श्रेष्ठलाई पक्राउ गर्‍यो। उनले बेलायतमा सैनिक सहचारीका रुपमा कार्यरत नेपाली सेनाका महासेनानी प्रदीप केसीको नाम दुरुपयोग गरी ब्रिटिस हाई कमिसन भिसा डिपार्टमेन्टमा पर्यटन भिसाका लागि निवेदन दिएकी थिइन्। यस्तो सूचना पाएपछि महासेनानी केसीले तत्काल सेनाको मुख्यालय जंगी अड्डालाई खबर गरे।

जंगी अड्डाले आरोपीलाई पक्राउ गरी घटनामाथि छानबिन बढाउन असार ५ गते महाशाखालाई पत्रमार्फत आग्रह गर्‍यो। पत्रसंख्या १३७९५ मा ३०७ नम्बर घटना उल्लेख गरी भिसा शाखामा पेस फर्जी कागजात र व्यक्तिका विषयमा जानकारीसमेत थियो।

अनुसन्धानमा श्रेष्ठले सोसल लिगल सेन्टर नेपालबाट फर्जी कागजात तयार पारेको तथ्य फेला पार्‍यो। सेन्टरका अधिवक्ता हरिओम तिमल्सिनाले फर्जी कागजात बनाई श्रेष्ठलाई बेलायतसमेत पठाएको खुल्यो। महाशाखाले दुवैलाई सरकारी छाप, दस्तखत किर्ते तथा ठगी मुद्दामा कारबाही अघि बढाएको छ।

केही दिनअघि युवालाई विदेश पठाइदिने भन्दै रकम असुल्ने ज्योतिषी पक्राउ परे। महाशाखाको टोलीले पुण्यप्रसाद दंगाललाई थानकोटको अरविन्द योगाश्रमबाट नियन्त्रणमा लिएको हो। पूर्व जिल्ला शिक्षा अधिकारीसमेत रहिसकेका दंगाल सिद्धान्त ज्योतिष विषयमा पिएचडी हुन् भने फलित ज्योतिषमा आचार्य (एमए)। उनले विभिन्न युवालाई विदेश पठाइदिने भन्दै करिब २५ लाख रुपैयाँ ठगी गरेको अनुसन्धानमा खुलेको छ। द्वन्द्वकालमा विस्थापित भई चार वर्ष अमेरिका बसेका दंगाल त्यही क्रममा जापान, क्यानडामा समेत सम्पर्क स्थापित गर्न सफल भएपछि नेपाल फर्किएर फर्जी प्रक्रियाबाट विदेश पठाउने धन्दामा लागेका हुन्।

असार ३ गते महाशाखाको टोलीले भूकम्पपीडितका नाममा जापान पठाइदिने भन्दै ठगी गर्ने जापानी नागरिक हिरोसी मोरिकावा र वज्र गुरुङलाई पक्राउ गर्‍यो। नेपालमा डी इम्मानुल कन्सल्टेन्सी नामक संस्थामार्फत दोलखामा विविध तालिम दिन सरकारी अनुमति लिएका मोरिकावाले जापान पठाउने बहानामा  १२ जनाबाट ११ लाख ३० हजार ठगी गरेको फेला परेको छ।

जिल्ला प्रश्ाासन कार्यालय, दोलखा र सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयले तालिम सञ्चालनका लागि दिएको अनुमतिलाई उनले पीडितबाट रकम फुत्काउने अस्त्र बनाएका थिए।

सर्वसाधारण नागरिक कानुनी प्रक्रियाभन्दा बाहिर गएर काम गराउनेको भर पर्दा ठगीले प्रश्रय पाएको प्रहरी निष्कर्ष छ। 'ठगबाट बच्ने उपाय भनेकै आफूलाई ठगिन नदिनु हो, कसैले कानुनी प्रक्रियाभन्दा बाहिर गएर काम गराउँछु भन्छ भने त्यो ठग हुन सक्छ,' महाशाखाप्रमुख एसएसपी सर्वेन्द्र खनालले भने। उनका अनुसार महाशाखामा ठगीका दैनिक तीनदेखि पाँचवटासम्म निवेदन पर्ने गरेका छन्। 'वैदेशिक र कन्सल्टेन्सीबाहेक अनेक प्रकारका ठगीका घटनामा अनुसन्धान भइरहेको छ, पछिल्लो समय भूकम्प पीडितका नाममा पनि ठगी बढेको छ,' उनले भने।

महाशाखामा कारबाही चलिरहेको 'द वर्ल्ड एन्ड मेमोरियल एजुकेसनल कन्सल्टेन्सी' को घटनामा ठगिने व्यक्तिले सामान्य विषयमा समेत ध्यान नदिएको अनुसन्धान अधिकारी बताउँछन्। कन्सल्टेन्सीले वेबसाइटका विषयमा एउटा सवारीसाधन भाडामा दिने कम्पनीको विवरण राखेरै धन्दा चलाइरहेको थियो। वेबसाइटमा देखाउनकै लागि व्यक्तिका नाम र अस्ट्रेलिया तथा क्यानडा सरकारको आधिकारिक लोगो राखेका युवक राई पहिले पनि प्रहरी कारबाहीमा परिसकेका व्यक्ति हुन्।

अनुसन्धान अधिकारीका अनुसार कानुनी प्रक्रियाबाट हुने कामका लागि सर्वसाधारणले 'पहुँच भएका' व्यक्ति खोजी गर्दा ठगी मौलाएको छ। 'पछिल्ला घटनाक्रमले यहाँ ठगीका लागि सबै कागजपत्र बन्न सक्ने देखाएको छ,' ती अधिकारीले भने, 'त्यसैले कसैले अपत्यारिलो र बढाइचढाई कुरा गर्छ, फूर्ति देखाउँछ भने एकपटक राम्ररी सोच्नुपर्छ, त्यसो भए ठगिनबाट जोगिइन्छ।'

प्रकाशित: १४ भाद्र २०७३ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App