७ वैशाख २०८१ शुक्रबार
समाज

सेनापीडित महिलाले पाउन सकेनन् अझै न्याय

चितवन – चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन्। 

निकुञ्ज आसपासमा बसोबास गर्ने न्यून वर्गका समुदायका महिला यसबाट पीडित बनेका हुन्। उनीहरुको न्यायका लागि लड्दै आएको मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष छविलाल न्यौपानेका अनुसार पीडित ११६ जना महिलामध्ये २७ जनाको श्रीमान् पहिचान गरी कानूनी न्याय दिलाइएको छ। तीनका ३४ जना सन्तान रहेका छन् । बाँकी ८९ जना आमा र तीनका १४० छोराछोरीले अझै न्याय पाउन नसकेको उनले बताए। 

महासंघको अगुवाइमा नेपाली सेनाको मध्यपृतना हेटौँडामा निवेदन दिएका ५७ जनामध्ये २७ जनाले कानूनी न्याय पाई नागरिकता बनाउने, उपचार र पढाइको सुविधा पाएको न्यौपानेले बताए। 

नेपाली सेनाले विसं २०६८ मा महासेनानीको नेतृत्वमा छानबिन समिति समेत गठन गरी न्याय दिलाउनका लागि पहल थालेको थियो। तर पीडित भनिएका महिलाले आफूले सन्तान जन्माउँदा सम्बन्ध राखेको सेनाको पहिचान गर्न नसक्दा न्याय दिलाउन असहज बनेको न्यौपानेले बताए। निकुञ्जमा घाँस, दाउरा तथा निउरो टिप्न जाँदा सुरक्षामा खटिएका सेनासँग सम्बन्ध हुने र कतिपयले उनीहरुलाई विवाहको प्रलोभनमा पारेर शारीरिक सम्पर्क गर्ने गरेको पीडितको भनाइ छ। 

तीनै सम्पर्कबाट बच्चा जन्मने र केही समयसँगै बसेर सेनाले छाडेपछि उनीहरु बिचल्लीमा पर्ने गरेको देखिएको छ। पीडितको भनाइअनुसार दुई तीन महिनादेखि छ वर्षसम्म सँगै बस्ने र त्यसपछि सम्पर्कविहीन हुँदा उनीहरुबाट जन्मिएका सन्तान र आमाको बिचल्ली हुँदै आएको पाइन्छ। एक पीडितका अनुसार कतिपय महिलाको त जबर्जस्ती करणीबाट सन्तान जन्मिएको र न्याय पाउन नसकेको पनि उदाहरण रहेका छन्। 

न्यौपानेका अनुसार मेघौलीकी एक महिलाको चारजना सैनिकसंगको सम्पर्कबाट छजना बच्चा जन्मिएका छन् भने अर्को एक महिलाको तीनजना सैनिकसँगको सम्पर्कबाट सातजना बच्चा जन्मिएका छन्। ती बच्चा हुर्किइसकेका छन् तर बाबुको पत्तो लाग्न सकेको छैन। 

यसरी जन्मिएका बच्चा ९ वर्ष देखि २३ वर्षसम्म पुगेका न्यौपानेले बताए। उनले भने “कतिपयको त बच्चाले पनि हुर्किएर विवाह गरी सन्तान जन्माइसकेका छन् तर बाबुको टुंगो लाग्न सकेको छैन।” 

एउटै सैनिकबाट तीनजनासम्म सन्तान जन्मिएका पनि छन्। तर ती सैनिक कहाँ छन् भन्ने पत्तो लाग्न सकेको छैन। पीडित महिलामध्ये २१ जना विदेश गएको र अन्य माइती र आसपासका क्षेत्रमा ज्याला मजदूरी गरी परिवार पालिरहेको पाइएको छ। 

निकुञ्ज आसपासको हालको भरतपुर महानगरपालिकाको वडा नम्बर २२ देखि २८ सम्म र माडी नगरपालिकाका महिला पीडित भएका हुन्। न्यौपानेका अनुसार पीडित हुनेमा जनजाति समुदायका ८६ जना रहेका छन् भने दलितका १४ र अन्य जातिका १६ जना रहेका छन्। 

जगतपुरकी एक पीडित महिलाले भनिन् “आफू घाँस दाउरा गर्न जाँदा सम्पर्क बढेसँगै एक बच्चा भयो। पछि बच्चाका बाबु अर्को ठाउँमा सरुवा भएसँगै सम्पर्कविहीन भए । पछि मैले कानूनी न्याय पाएँ र अहिले नागरिकता बन्यो।” 

माडी बगईकी एक महिलाका दुई सन्तान छन्। निकुञ्ज सुरक्षार्थ खटिएको सेनाकै संसर्गबाट ती बच्चा जन्मिएका हुन्। नाम नबताउने शर्तमा उनले भनिन् “विवाह गर्ने भनेर सम्पर्क भएको हो । सँगै पनि बस्यौँ । पछि उनी पनि सरुवा भए र बेवास्ता गरे।” 

अहिले ती महिलाले पनि कानूनी न्याय पाएकी छिन् । बच्चाको जन्म दर्ता भई नागरिकता बनेको छ। कानूनी न्याय पाउन नसकेका अन्यले न त नागरिकता नै पाउन सकेका छन् न त बाबु कोहो भन्ने पहिचान नै गर्न सकेका छन्। 

निकुञ्जमा विसं २०३४ देखि सुरक्षाका लागि नेपाली सेना खटेको हो । त्यसअघि गैँडा गस्तीमार्फत वनको सुरक्षा गरिन्थ्यो । पछिल्लो समय निकुञ्ज सुरक्षामा खटिएका सेनालाई विशेष निगरानी राखेपछि यस्ता घटना नभएको बताइएको छ। महासंघले पीडितलाई न्याय तथा सहयोग जुटाउँदै यस्ता खालका समस्या आउन नदिन जनचेतना जगाउने काम पनि गर्दै आएको जनाएको छ। नारायण अधिकारी /रासस

प्रकाशित: २६ वैशाख २०७५ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App