८ वैशाख २०८१ शनिबार
शिक्षा

विद्यार्थीका लागि निःशुल्क, अभिभावकलाई सशुल्क

काठमाडौं – बिहानैदेखि पानीका जार र गेलनको लाइन लागेको छ । कोही काँधमा त कोही सवारी साधनमा पानी बोकेर फर्किंदैछन्। यसरी लाइन लागेको ठाउँ कुनै सार्वजनिक धारा वा कुवा होइन । यो त सिफलस्थित बालव्यवसायी माध्यामिक विद्यालय हो। यहाँ शिक्षा लिन बालबालिका मात्रै होइन, शुद्ध पानी लिन अभिभावक र टोलवासी यसरी नै बिहानैदेखि लाइन लाग्छन्।

बालबालिकालाई शुद्ध पानी खुवाउने उद्देश्यले सुरु भएको पानी शुद्धीकरण प्रविधिबाट अहिले टोलवासीलाईसमेत शुद्ध पानी पु-याइएको छ। सिफलमात्रै होइन, राजधानीका धेरै सामुदायिक विद्यालयले यसरी नै पानी बेचेर आयआर्जनका साथै समाजसेवा समेत गरिरहेका छन्। विद्यालयमा शुद्ध पानीको अभावमा बालबालिका बारम्बार बिरामी हुने विद्यालयमा समेत नआउने घटना बढ्दै गएपछि विद्यार्थीको स्वास्थ्यका लागि सुरुमा स्प्लास नामक संस्थाले उपत्यकाका स्कुलमा अत्याधुनिक प्रविधिसहितको शुद्ध पानीको व्यवस्था गरिदिएको थियो।

विद्यालयमा बढी भएको पानी न्यूनतम मूल्यमा स्कुलका अभिभावक र सर्वसाधारणलाई बिक्रीवितरण गर्न थालिएको थियो। सामुदायिक विद्यालयमा आउने विद्यार्थी धेरैजसो विपन्न समुदायका हुने र उनीहरूका घरमा समेत शुद्ध पानीको अभाव हुन थालेपछि विद्यार्थी विद्यालयबाट पानी लान थालेका थिए। त्यसपछि विद्यालयले अभिभावक र टोलवासीसमेतलाई सुपथ मूल्यमा पानी बिक्री गर्न थालेको थियो । सन् २०१२ देखि सुरु भएको यो अभियानबाट उपत्यकासहित विभिन्न जिल्लाका २ सय ६५ सार्वजनिक विद्यालयमा डिप बोरिङसहित शुद्ध पानीयुक्त फिल्टर जडान गरी बालबालिका र समुदायलाई पानीको प्रबन्ध गरिसकिएको छ। उपत्यकामा ८ वटा सार्वजनिक विद्यालयले बालव्यवसायी माविले जस्तै बिक्री गर्ने गर्छन्।

सिफलस्थित बालव्यवसायी केन्द्रका कक्षा ९ की सुनिता दुलाल स्कुलमा शुद्ध पिउने पानीको व्यवस्थाले परिवारका सबै सदस्य स्वस्थ बनेको बताइन्। सानै कक्षादेखि सोही स्कुलमा अध्ययनरत उनी पाँच वर्षअघिसम्म पेटसम्बन्धी समस्याले पीडित थिइन्। ‘स्कुलमा पहिले शुद्ध पानी नहुँदा धमिलो पानी पिउनु पथ्र्यो। जसले गर्दा कहिले पेट दुख्ने, आउँ पर्ने, झाडापखाला लाग्ने, ज्वरो आउनेलगायतका समस्याबाट पीडित भइरहन्थें। स्कुल पनि आउन सक्दिनथें,’ उनले भनिन्, ‘तर, शुद्ध पानीको व्यवस्था भएपछि ती जम्मै रोग बिसेक भयो।’ शुद्ध खानेपानीकै कारण उनलाई चार वर्षयता पेटसम्बन्धी समस्याले पिरोलेको छैन। औषधि पनि खानु परेको छैन। ‘आमाले घरका लागि यहीँबाटै पानी किनेर लग्नुहुन्छ,’ उनले भनिन्।

स्कुलका विद्यार्थी ‘मेरो विद्यालयबाट उच्च गुणस्तरको सफा पिउने पानी किनौं र विद्यालयलाई स्वच्छ पिउने पानी, सरसफाइ र फोहरमैला प्रबन्धमा मद्दत गरौं’ भन्ने नारासहित स्थानीय समुदायमै प्रचारप्रसार समेत गर्ने गरेका छन्। स्कुलका विद्यार्थी, शिक्षक र कर्मचारीलाई स्कुल परिसरभित्र प्रयोगका लागि शुद्ध पानी नै दिने गरिएको प्रिन्सिपल श्याम भण्डारीले बताए। अभिभावक र स्थानीयका लागि भने न्यूनतम मूल्यमा शुद्ध पानी बिक्री गर्ने गरिएको भण्डारीले बताए । पानी बिक्रीबाट प्राप्त रकम विद्यालयको शैक्षिक सुधार र सरसफाइमा खर्चिने गरेको उनले जनाए।

विद्यालय हातामा बिहान ७ देखि ९ बजेसम्म र दिउँसोमा ३ देखि ६ बजेसम्म पानी बिक्रीवितरण हुन्छ। वितरक शम्भुप्रसाद बास्कोटाका अनुसार १ देखि ५ लिटरसम्म २ रुपैयाँ र २० लिटर पानीको १५ रुपैयाँ तोकिएको छ। पानी बिक्रीबाट आएको कुल ४ लाख रकम कृषि विकास बैंकमा जम्मा गरिएको बाँस्कोटाले बताए। गर्मी बढेसँगै समुदायमा समेत पानीको अभाव हुने भएकाले पानीको बिक्री बढ्ने बास्कोटा बताउँछन्।

बालव्यवसायी विद्यालयजस्तै तिलंगाटार माविका प्रिन्सिपल सरोजकुमार पाण्डेले पनि स्कुलमा पानी प्रशोधन गर्ने आधुनिक प्रविधि सञ्चालनमा आएपछि विद्यार्थी बिरामी हुने दर कम भएको अनुभव सुनाए। उनले विद्यार्थीमात्र होइन, सुपथ मूल्यमा सर्वसाधारणले समेत शुद्ध पिउने पानी पाएकामा खुसी व्यक्त गरे। ‘स्कुलले नानीलाई शिक्षाका साथै स्वास्थ्यको समेत ख्याल राखेको छ,’ पाण्डेले भने।

नानीका लागि सफा पानी नाराका साथ स्प्लास नेपालले सन् २०१२ देखि उपत्यकाका सार्वजनिक विद्यालयमा सफा पिउने पानीको व्यवस्थापनमा लागेको सञ्चालक निर्देशक प्रदीप खड्काले बताए। यो संस्थाले काठमाडौं उपत्यकासँगै दोलखा, पर्वत र कास्कीका २ सय ६५ सार्वजनिक स्कुलमा पानी प्रशोधनका लागि आधुनिक प्रविधिको फिल्टर जडान गरिसकेको छ।

स्कुलमा बोरिङको खर्च स्कुलले व्योहोर्ने हो भने फिल्टर जडानका लागि हुने सबै खर्च स्प्लास नेपालले व्योहोर्ने गरेको छ। ‘सहरी क्षेत्रमा दूषित पानी नै पिउने गरेको एक अध्ययनले देखाएपछि हामी स्थानीयस्तरमै नानीका लागि सफा पानी नारासहित काम थालेको हौं,’ निर्देशक खड्काले नागरिकसँग भने। उक्त संस्थाले उपत्यकाका कुल ५ सय ९३ सार्वजनिक स्कुलमा सन् २०२० सम्म शुद्ध पानीको प्रबन्ध गर्ने लक्ष्य लिएको छ।

उपत्यकामा फिल्टर जडान गरिएका मध्ये ८ वटा विद्यालयले मात्रै पानी बक्री गर्ने अधिकार पाएका छन्। जसमा मदन स्मारक मावि पुल्चोक ललितपुर, महेन्द्र आदर्श विद्याश्रम मावि सातदोबाटो, मेघा मावि भक्तपुर, शिवपुरी मावि महाराजगञ्ज काठमाडौं, गुहेश्वरी मावि सिनामंगल काठमाडौं, बालव्यवसायी मावि सिफल काठमाडौं, तिलंगाटार मावि तिलंगाटार काठमाडौं र बुढानीलकन्ठ मावि काठमाडौं छन्। ‘दातृनिकायले एक वर्षमात्र सहयोग गर्ने भएकाले स्कुललाई आत्मनिर्भर बनाउन स्कुलमा बढी भएको पानी बिक्री गर्न पाइलट प्रोजेक्टका रूपमा हाललाई ८ स्कुल छानिएको खड्काले बताए।

प्रकाशित: २६ वैशाख २०७५ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App