६ वैशाख २०८१ बिहीबार
समाज

रौतहट र सर्लाहीका लाखौँ नागरिक बाढीको उच्च जोखिममा

रौतहटको परोहा नगरपालिकामा पर्ने पोखरीया टोल नजिक लालबकैया नदिमा आएको बाढीले बगाएको बाँध । तस्बिरः मदन ठाकुर/नागरिक

रौतहट- गत साउनमा आएको भीषण बाढीले रौतहटका दुई ठूला नदी वागमती र लालबकैयाले भत्काएका तटबन्ध मर्मत नहुँदा सर्लाही र रौतहटका दर्जनौं वस्ती जोखिममा परेका छन् । सर्लाही र रौतहटका दर्जनौं गाउँका लाखौं बासिन्दा बाढीको उच्च जोखिममा परेका छन्।

गत साउनमा आएको बाढीले रौतहट भएर बग्ने वागमती नदी र लालबकैया नदीको दुवैतिर लगाइएको तटबन्ध ३१ ठाउँमा भत्किएका थिए । भारत सरकारको सहयोगमा निर्माण गरिएका तटबन्ध वैशाख बित्न लाग्दा पनि मर्मत नहँुदा प्रभावित क्षेत्रका बासिन्दा चिन्तामा परेका छन्।

सर्लाहीको बलरा नगरपालिकामा पर्ने सुदामा गाउँका देवेन्द्र साह गत वर्षको भन्दा आधा मात्र बाढी आयो भने पनि आफ्नो गाउँ स्वाहा हुने बताउँछन् । गत वर्ष आएको भीषण बाढीले गाउँ नजिकैको तटबन्ध भत्काएपछि सुदामा गाउँ निकै जोखिममा परेको उनले बताए ।

सुदामा जस्तै सर्लाहीका अन्य गाउँहरू पनि बाढीको उच्च जोखिममा छन् । वागमती नदीको पूर्व सर्लाहीतर्फ धुर्वामा एक सय ५० मिटर, महिनाथपुरमा ८० मिटर, हरकठवा सय मिटर, मानपुरमा एक सय ५० मिटर, मानपुर ढाँवमा एक सय ५५ मिटर, हजरिया मलाह टोलमा ५० मिटर र राजघाट खर्साल टोलमा दुई सय मिटर बाँध पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । वागमती नदीको तटबन्ध भत्किएको नजिकका गाउँका हजारौं बासिन्दा बाढीको उच्च जोखिममा रहेका छन् ।
यसैगरी वागमती नदीको पश्चिमी भाग रौतहटतर्फ बनाइएको तटबन्ध लक्ष्मीपुरमा भत्किएको छ । करिब ६० मिटर लामो तटबन्ध कटानले लक्ष्मीपुर, बलुवा, धर्मपुर, गम्हरिया, संग्रामपुर, गढो, सिँगारमन, गंगापिपरा, माधोपुर लगायतका गाउँहरू बाढीको उच्च जोखिममा परेका छन्।

 भारत सरकारको सहयोगमा निर्माण गरिएका तटबन्ध वैशाख बित्न लाग्दा पनि मर्मत नहँुदा प्रभावित क्षेत्रका बासिन्दा चिन्तामा परेका छन् ।

गढीमाई, माधव नारायण र गौर नगरपालिकाका साथै दुर्गा भगवती गाउँपालिकाका हजारांै नागरिक तटबन्ध मर्मत नहँुदा बाढीको उच्च जोखिममा रहेको दुर्गाभगवती गाउँपालिकाका प्रमुख अरूणकुमार साहले बताए ।वागमती नदीमा लगाइएको तटबन्ध नौ ठाउँमा भत्किएका छन् भने लालबकैया नदीमा लगाइएको तटबन्ध २२ ठाउँमा भत्किएको जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुरले जनाएको छ । वागमती जस्तै लालबकैया किनार नजिकका गाउँका बासिन्दा पनि बाढीको जोखिममा छन्।

बाढीले लालबकैया नदीको पश्चिमी भेग वैरियामा १ सय ५० मिटर, फतुहामा २५ मिटर, पोखरियामा एक सय मिटर, तेजापाकडमा ८० मिटर र ३० मिटर, खोरिया टोलमा १४ मिटर, इनर्वामा एक सय ३२ मिटर, मर्यादपुरमा एक सय ५० मिटर, गम्हरियामा २८ मिटर, वुनियादमा १५ मिटर, लक्ष्मीनियाँमा ३ सय ७ मिटर र २ सय ५० मिटर बाँध भत्किएका छन् । यसैगरी बकैया नदीको पूर्वी तटबन्ध महादेवपटिमा ७५ मिटर, सुवर्णामाइमा ८० मिटर, टिकुलियामा ४० मिटर, जिगड्वामा १ सय ३३ मिटर, मलेनियामा २ सय ५० मिटर, कटहरिया पुलनजिक दुई सय मिटर, मौलापुरमा २ सय ८५ मिटर, देवाहीमा १ सय ८० मिटर र १ सय ५ मिटर बाँध पूरै भत्किएका छन् ।

यसरी वागमती र लालबकैया नदीका दुवै किनारका बासिन्दा बाढीको उच्च जोखिममा पर्दा पनि सम्बन्धित निकायले मर्मतका लागि कुनै चासो नदिएको स्थानीयको आरोप छ ।जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन नम्बर–३ को कार्यालय परवानीपुर बाराका प्रमुख राजकुमार श्रीवास्तव भने लालबकैया र वागमती नदीका ३१ ठाउँमा भत्किाएका तटबन्ध मर्मतका लागि गत ३१ साउनमै विभाग र मन्त्रालयमा रिपोर्ट पठाएको बताउँछन्।

ध्वस्त भएका संरचना मर्मत सम्भारका लागि लागि ठूलो बजेट लाग्ने भएकाले माथिल्लो निकायमा पटकपटक पत्राचार गरिए पनि बजेट अभावका कारण काम अगाडि बढ्न नसकेको उनको भनाइ छ । दुई÷तीन ठाउँमा भने सोमबारदेखि आंशिक रूपमा मर्मतको काम सुरु भएको श्रीवास्तवले जानकारी दिए । त्यसका लागि झन्डै २० करोड रूपैयाँ बजेट इस्टिमेट गरी माथिल्लो निकायमा पठाइएको पनि उनले जानकारी दिए।

बकैया नदीको भसेढवा १ सय २० मिटर, देवाहीको १ सय ५ मिटर, लक्ष्मिनियाको २ सय ५० मिटर र बुुनियादको १५ मिटर बाँध मर्मत गर्न नेपाल सरकारले १ करोड रूपैयाँ पठाइएपछि उक्त स्थानहरूमा गत सोमबारदेखि काम सुरु गरिएको डिभिजन प्रमुख श्रीवास्तवले बताए । यसैगरी वागमती नदीको सर्लाहीतर्फ महिनाथपुरमा ८० मिटर, हरकठवामा एक सय मिटर, मानपुरमा १ सय ५० मिटर र मानपुरकै ढावटोलमा १ सय ५५ मिटर बाँध मर्मत गर्न विभाग र मन्त्रालयमा प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।‘बाँध मर्मतका लागि नेपाल सरकारले बजेट विनियोजन गर्न नसकेकाले भारतीय पक्षसँग पनि कुरा भइरहेको छ,’ श्रीवास्तवले भने, ‘तर लाखौं जनतालाई बाढीको जोखिमबाट बचाउन केन्द्र सरकारले नै भारतसँग अविलम्ब कुरा गर्न जरूरी छ।’

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले लालबकैया र वागमती नदीका बाँध भत्किएका विषयमा स्थानीय बासिन्दाबाट जानकारी हुनेबित्तिकै जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालयका प्रमुखलाई मर्मतका लागि जुट्न निर्देशन दिएको बताए।लालबकैया र वागमतीमा भत्किएका बाँध मर्मत गर्न नेपाल सरकारको बजेटबाट मात्र सम्भव नहुने भएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रदेश–२ का सरकार प्रमुख लालबाबु राउतले बाँध मर्मतका लागि प्राथमिकताका साथ कुरा राख्नुपर्ने स्थानीय बासिन्दा बताउँछन्।


 

प्रकाशित: २६ वैशाख २०७५ ०३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App