coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

चिया निर्यातमा भारतीय अवरोध

इलाम– नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध गरेको छ। पूर्वको पानीट्यांकीस्थित भारतीय कस्टमले त्यहाँ पुगेका १ कन्टेनर र ११ ट्रक तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै रोकेर राखेको उद्योगीहरूले बताएका छन्। 

भारत र तेस्रो मुलुक पठाइने तयारी चिया बोकेका गाडी सातायता भारतीय कस्टममै रोकिएपछि चिया नष्ट हुने खतरा बढेको उद्योगीले गुनासो गरे। इलाम र झापाका विभिन्न चिया प्रशोधन कारखानाको चिया कोलकाता र तेस्रो मुलुकसम्म पु-याउन पानीट्यांकी पु¥याइएको थियो। ‘कोलकातास्थित सेन्ट्रल फुड ल्याबमा नमुना परीक्षण गराएर मात्र चिया आयात गर्न दिने भारतीय कस्टमको अडानले चिया भरिएका ट्रक सातादेखि रोकिएका छन्,’ सूर्याेदय नगरपालिकाको सुन्दरपानीस्थित गोर्खा टी स्टेटका सञ्चालक उदय चापागाईंले भने, ‘ट्रकमा राखिएको चिया बिग्रिने डर त भयो नै, ट्रकलाई तिर्नुपर्ने ढुवानी खर्च पनि दिनैपिच्छे बढेको बढ्यै छ।’ 

भारतीय कस्टमले अहिले नेपालबाट तयारी चिया लिएर त्यहाँ पुगेका प्रत्येक गाडीबाट आफैं नमुना लिएर कोलकातामा परीक्षण गराउन थालेको छ। परीक्षणको रिपोर्ट आएपछि मात्रै ट्रक छिर्न दिने भारतको पछिल्लो कदमले नेपाली उद्यमीलाई सास्ती भएको उनले बताए। ‘यसअघिसम्म एकपटक नमुना परीक्षणको रिपोर्ट आएपछि ६ महिनासम्म चिया पठाउन पाइने सुविधा थियो,’ उद्योगी चापागाईंले भने, ‘अहिले भन्सारमा पुगेका प्रत्येक ट्रकको चियाको नमुना पानीट्यांकीबाट कोलकाता पठाएर त्यसको रिपोर्ट आएपछि मात्र पठाउन पाइने झन्झटिलो प्रावधान भारतले ल्याएको छ।’ 

भारतले यसअघि पनि विभिन्न समयमा नेपाली अदुवा, अलैंचीलगायतका नगदेबाली आयातमा अघोषित प्रतिबन्ध गरिरहेको थियो। तयारी चियालाई बेला–बेला भारतीय कस्टम पुगेपछि अल्झाउने गरेपनि लामो समय रोकेर राखेको थिएन। पछिल्लो समय नेपाली तयारी चियाको लोगो लागू हुनु र तेस्रो मुलुकमा नेपाली चियाको माग बढेपछि निर्यातमा चाहिँ भारतीय अवरोध हुनुले आफूहरूलाई निरास बनाएको व्यवसायी बताउँछन्। 

साखेजुङको हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिका सञ्चालक कमल मैनालीले चिया निकासीमा अवरोध हुने सम्भावना बढिरहेको बताए। ‘पानीट्यांकीमा तयारी चिया बोकेका ट्रक रोकिनुले नेपाली चियाको बजार सम्भावनालाई अन्योलतिर लाँदैछ,’ उनले भने, ‘मंगलबारदेखि चिया बोकेका ट्रक खुल्ने जानकारी आएपनि अवरोध भने कायमै रहेको सूचना आएको छ।’ उनले भारतीय कस्टमले नेपाली चियाका बिक्रेतालाई १२ दिनसम्मका लागि नेपाली चिया खुलाउने संकेत गरेपनि दीर्घकालीन रूपमा समस्या समाधान नभएको बताए। 

विश्वबजारमा नेपाली चियाको सम्भावना उच्च भएपनि भारतले पटक–पटक गरिरहेको नेपाली कृषिजन्य वस्तुको भन्सार अवरोधप्रति उद्योगी र व्यापारी दिक्क बन्दैछन्। ‘१२ दिनका लागि चिया निर्यात गर्न पाइने भन्नेसम्म त सुनियो तर कहिलेसम्म यस्तो अन्योल सहनुपर्ने हो टुंगो छैन,’ मैनालीले भने। नेपाली चियाको ८० प्रतिशत बजार भारत नै हो। तेस्रो मुलुक पुग्ने नेपाली चिया पनि भारतकै बाटो भएर जाने भएकाले भारतीय कस्टमले चिया रोक्नेबित्तिकै यहाँको उत्पादनको बजार अन्योल हुने देखिएको छ। 

चियामा भएको पछिल्लो अवरोधबारे वाणिज्य सचिवलाई जानकारी गराएको र उनले भारतीय पक्षसँग चिया खुलाउने पहल गरिरहेको जनाएको उद्योगी चापागाईंले बताए। ‘सरकारले चिया निकासी सहज बनाउने प्रयत्न गरेको त भनिरहेको छ तर कहिलेसम्ममा निकासी सहज हुने भन्ने कुनै पत्तो छैन,’ उनले भने। 

प्रकाशित: २५ वैशाख २०७५ १२:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App