८ वैशाख २०८१ शनिबार
अर्थ

त्रिभुवन विमानस्थलबाट बाहिरिने लगेजलाई दुई एक्सरे

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न विदेशी गन्तव्य जाने यात्रुका ‘लगेज’ अबदेखि दुईवटा एक्सरे मेसिनबाट जाँच हुने भएको छ । यसबाट अनिधिकृत सामान बाहिरिन नपाउने विमानस्थल व्यवस्थापनको दाबी छ।

हाल अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेको प्रस्थान (डिपार्चर) कक्षको मूल ढोकामा एक पटकमात्र यात्रुका लगेज एक्सरे मेसिनबाट जाँच हुँदै आएको छ । आगामी जेठ ७ बाट भने डिपार्चर कक्षमा जाँच गरिएपछि पनि वायुसेवा कम्पनीहरूको काउन्टरबाट ‘पास’ भएका लगेज पुनः अर्को एक्सरे मेसिनबाट जाँच गर्ने निर्णय भएको हो।

‘जेठ ७ बाट विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्ने निर्णय भइसकेको छ र त्यही दिनबाट यात्रुका लगेज पनि दुईवटा एक्सरे मेसिनबाट जाँच गर्ने छौं,’ त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले नागरिकन्युजसँग भने, ‘पहिलो एक्सरे मेसिनमा छुटेका वा नदेखिएका सामान यस्तो व्यवस्थापछि पुनः पत्ता लगाउन सकिने छ।’

महाप्रबन्धक क्षेत्रीका अनुसार हाल एक्सरे मेसिन डिपार्चर कक्षको ढोकामा एकथान मात्र रहेको छ । त्यहाँ यात्रुले लगेज जाँच गराएपछि सिधै वायुसेवा कम्पनीका काउन्टरमा तौल लिन लाने नियम छ । ती काउन्टरमा पुनः सामान खोलेर वा अन्य तरिकाले पुनः जाँच गर्ने गरिएको छैन । तर, जेठ ७ गतेदेखि भने वायुसेवाका काउन्टरबाट सिधै जहाजमा लगिने लगेजलाई जहाज पुग्नुअघि टर्मिनल भवनभित्रै पुनः अर्को एक्सरे मेसिनमा जाँच गरिने छ । ‘हाम्रो निर्णय र भइरहेको तयारीलाई सम्बद्ध वायुसेवा कम्पनीदेखि अन्य निकायले पनि सक्दो सहयोग गरिरहेका छन्,’ उनले भने ।

उनका अनुुसार डिपार्चर कक्षमा दुईथान एक्सरे मेसिन रहने भए पनि आगमन (अराइभल) कक्षमा भने एक्सरे मेसिन राखिएको छैन । विभिन्न विदेशी गन्तव्यबाट त्रिभुवन विमानस्थल आइपुग्ने यात्रुका ‘ह्यान्ड क्यारी’ (हाते झोला) भन्सार कर्मचारीले जाँच गर्ने गर्छन् । यात्रुका लगेज भने जहाजबाट सिधै टर्मिनल भवनभित्र ‘ब्यागेज बेल्ट’ मा आइपुग्छन् । त्यसपछि यात्रुले आ–आफ्ना लगेज लिएर ब्यागेज ट्याग देखाउँदै टर्मिनलबाट बाहिरिने गर्छन् ।

‘विगतमा अराइभल कक्षमा पनि एक्सरे मेसिन राखेर यात्रुका लगेज जाँच गर्ने गरिएको थियो तर, यसबाट काममा धेरै व्यवधान आएपछि बन्द गरिएको थियो,’ क्षेत्रीले भने, ‘अब पनि त्यहाँ एक्सरे मेसिन आवश्यक रहेको र राख्नुपर्छ भन्ने निर्देशन सरकारबाट आयो भने पुनः राख्न सक्छौं । यसबारे फेरि अध्ययन पनि गर्न सक्छौं ।’

त्यसैगरी त्रिभुवन विमानस्थल व्यवस्थापनले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा रहेको चौथो ब्यागेज बेल्ट पनि आइतबारबाट सञ्चालनमा ल्याएको छ । यो बेल्ट लामो समयदेखि बिग्रिएर थन्किएको थियो । चारमध्ये तीनमात्र सञ्चालनमा हुँदा यात्रुले आफ्ना सामान छिटो प्राप्त गर्न समस्या भइरहेको थियो । यात्रुले पनि लामो समयदेखि सबै चारवटै ब्यागेज बेल्ट सञ्चालनमा ल्याउन माग गर्दै आएका थिए । ‘अब भने यात्रुलाई मात्र नभई विमानस्थल व्यवस्थापनलाई पनि ठूलो राहत मिलेको छ,’ महाप्रबन्धक क्षेत्रीले भने, ‘यात्रुले पहिलेभन्दा धेरै नै छिटो आफ्ना सामान पाउन सक्नेछन् ।’

हाल त्रिभुवन विमानस्थलमा १४ देशबाट २८ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन् । विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ । अहिले भने दैनिक साढे १८ घन्टा सञ्चालन भइरहेको छ । आगामी जेठ ७ गतेबाट भने यो समयमा साढे २ घन्टा थपेर दैनिक २१ घन्टा सञ्चालन गर्ने निर्णय भइसकेको छ । जेठ ७ गते बिहान ६ बजे विमानस्थल खुलेपछि एकैचोटि भोलिपल्ट बिहान ३ बजेमात्र बन्द हुने छ । त्रिभुवन विमानस्थल बिहान ११ बाट साँझ ५ बजेसम्म र राति ८ बाट ११ बजेसम्म सबैभन्दा बढी व्यस्त हुने गर्छ । अधिकांश वायुसेवा कम्पनीका उडान–अवतरण यही समयमा हुने गर्छ ।

त्यसैगरी त्रिभुवन विमानस्थलका महाप्रबन्धक क्षेत्रीले विमानस्थल सुधार कार्यक्रमअनुसार अन्तर्राष्ट्रिय टर्मिनल भवनमा १ हजार थान नयाँ कुर्सी थपिएको जानकारी दिए । ती कुर्सी चारवटा ‘स्टेराइल हल’, अराइभल र डिपार्चर कक्षलगायत स्थानमा थपिएको उनले बताए । त्यसबाहेक आन्तरिक टर्मिनल भवनमा पनि थप १ सयथान नयाँ कुर्सी राखिएको उनले बताए ।

त्रिभुवन विमानस्थल पूर्णवातानुकूलित

यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक पूर्णवातानुकूलित भएको छ । विमानस्थल व्यवस्थापनले अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र रहेका सबै पंखा हटाएर ‘सेन्ट्रल एयरकन्डिसन’ जडान गरेपछि पूर्णवातानुकूलित बनाएको हो ।

‘अन्तर्राष्ट्रिय टर्मिनल भवन आइतबारबाट सेन्ट्रल एयरकन्डिसनयुक्त भएको छ,’ विमानस्थलका महाप्रबन्धक क्षेत्रीले भने, ‘अब यात्रुदेखि यहाँ कार्यरत सबै कर्मचारीलाई धेरै सुविधा पुगेको छ।’ त्यसैगरी आन्तरिक टर्मिनल भवनमा पनि पंखा हटाएर एयरकन्डिसन (एसी) जडान गरिएको उनले जानकारी दिए।

 

 

 

 

प्रकाशित: २५ वैशाख २०७५ १२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App