६ वैशाख २०८१ बिहीबार
खेल

फर्गुसनलाई प्रतिद्वन्द्वीको शुभकामना

लन्डन – अकस्मात् मस्तिष्कघात भएपछि आकस्मिक शल्यक्रिया गराउनुपरेका आफ्ना महान् पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसनको स्वास्थ्यलाभको कामना गर्ने सबै शुभचिन्तकप्रति म्यानचेस्टर युनाइटेडले आभार व्यक्त गरेको छ। 
बेलायती फुटबलको इतिहासमै सबभन्दा सफल प्रशिक्षकको दर्जा पाएका ७६ वर्षे फर्गुसनले युनाइटेडको प्रमुख प्रशिक्षकका रूपमा २६ वर्ष बिताएर २०१३ मा संन्यास लिनुअघि १३ प्रिमियर लिग र २ च्याम्पियन्स लिगसहित ३८ ठूला उपाधि जितेका थिए। 

घरेलु इत्तिहाद रंगशालामा उपाधिको खुसी मनाउन मैदानभित्रै छिरेका सिटी समर्थकहरूले ‘फुटबल अपार्ट गेट वेल फर्गी’ लेखिएका ब्यानर प्रदर्शन गरेर प्रतिद्वन्द्विता बिर्संदै फर्गुसनको स्वास्थ्यलाभको कामना गरेका थिए। 

युनाइटेडले शनिबार शल्यक्रिया गराएका फर्गुसनको अवस्थामा ‘राम्रो सुधार’ भइरहेको बताए पनि थप केही खुलाएको छैन । तर उनको अवस्थामा थप सुधारको आशा बलियो पार्न सघन उपचार कक्ष (आइसियु) मा राखिएको बताएको छ । उनको स्वास्थ्यअवस्थाको विस्तृत जानकारी नगराए पनि युनाइटेडले प्रतिद्वन्द्वी प्रशिक्षकहरू आर्सनलका आर्सेन वेंगर, म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र लिभरपुलका योर्गान क्लोपसहित स्वास्थ्यलाभको शुभकामना दिने सबैलाई धन्यवाद दिएको छ। 

‘शनिबार साँझ सर एलेक्स फर्गुसनको आकस्मिक शल्यक्रिया गर्नुपरेको समाचार थाहा पाएपछि स्वास्थ्यलाभको कामना गर्ने विश्वभरका सबै शुभचिन्तकलाई म्यानचेस्टर युनाइटेड धन्यवाद दिन चाहन्छ,’ क्लबले आइतबार विज्ञप्तिमार्फत भनेको छ, ‘हाम्रै क्लबका भूतपूर्व तथा वर्तमान खेलाडी र प्रशिक्षण टोलीका सदस्यसँगै विश्वभरबाट हाम्रा शुभचिन्तक र मित्रहरूले अनगिन्ती भावुक सन्देश पठाउनुभएको छ । अन्य क्लबका साथै यो सुन्दर खेलका आधिकारिक प्रशासनिक निकाय तथा अधिकारीहरूले पनि निक्कै भावुक भएर फर्गुसनको स्वास्थ्यलाभको कामना गर्नुभएको छ।’

फ्रान्सेली प्रशिक्षक आर्सेन वेंगरले लन्डनको क्लब आर्सनललाई नेतृत्व दिन लागेको २२ वर्ष भइसकेको छ । आर्सनल कार्यकालको सुरुआती पहिलो दर्शक वेंगर र फर्गुसनबीच श्रेष्ठताको चरम प्रतिस्पर्धा थियो । तर पछि दुईबीच राम्रो मित्रता विकास भएको थियो । गत सप्ताहान्तमा आर्सनलको प्रशिक्षकका रूपमा ओल्ड ट्राफोर्डको अन्तिम भ्रमणमा जाँदा वेंगरलाई फर्गुसनले मायाको चिनो प्रदान गरेका थिए। 

‘गत हप्ता मैले उनलाई रंगशालामा भेटेको थिएँ । खेल सकिएपछि उनलाई भेटन म बक्समै पुगेको थिएँ । उनी निक्कै राम्रो शारीरिक अवस्थामा देखिन्थे,’ घरेलु इमिरेट्स रंगशालामा आर्सनल प्रशिक्षकका रूपमा टोलीलाई अन्तिम खेलमा नेतृत्व प्रदान गरेपछि वेंगरले भने, ‘उनले आजकाल धेरै व्यायाम गरिरहेको बताएका थिए । उनी आफ्नो जीवनशैलीप्रति निक्कै खुसी पनि देखिन्थे । तर यस्ता खालका दुर्घटना हुन सक्छन् । हामी उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्न चाहन्छौं । उनी एउटा बलियो र आशावादी मानिस हुन् । त्यसैले चाँडै ठीक भएर हामीमाझ आउनेछन् भन्ने हामीले विश्वास लिएका छौं।’

आइतबारै युनाइटेडको सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीले यसअघि नै जितिसकेको प्रिमियर लिगको उपाधि हात पारेको थियो । बार्सिलोनाबाट स्पेनिस ला लिगा तथा बायर्न म्युनिखबाट जर्मन बुन्डेसलिगाको उपाधि जितिसकेका सिटीका प्रशिक्षक ग्वार्डिओलाले त्यसमा इङ्लिस उपाधि थपेपछि भने, ‘रंगशालामा भएका म्यानचेस्टर सिटीका प्रत्येक समर्थक अहिले फुटबलका एक जना महान् व्यक्तित्वको शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरिरहेका छन् ।’ 
घरेलु इत्तिहाद रंगशालामा उपाधिको खुसी मनाउन मैदानभित्रै छिरेका सिटी समर्थकहरूले ‘फुटबल अपार्ट गेट वेल फर्गी’ लेखिएका ब्यानर प्रदर्शन गरेर प्रतिद्वन्द्विता बिर्संदै फर्गुसनको स्वास्थ्यलाभको कामना गरेका थिए। 

१९८६ मा एबेरडिनबाट युनाइटेड आउँदा फर्गुसनले लिभरपुललाई उछिन्ने भन्दै बताएको लक्ष्य निक्कै चर्चित भएको थियो । इङ्लिस घरेलु फुटबलमा लिभरपुलले बनाएको सबभन्दा सफल टोलीको हैसियत खोसेर उनले युनाइटेड आउँदाको भनाइ पूरा गरेका थिए । लिभरपुलको सफल टोलीको पहिचान पनि युनाइटेडले नै खोसेको थियो। 

यसै गरी लिभरपुलका प्रशिक्षक क्लोपले पनि फर्गुसनलाई ‘एब्सोलुटली दी बोस’ भन्दै उनीप्रति सम्मानभाव दर्साएका थिए । ‘मैले हिजो यो समाचार सुनेपछि पत्याउनै गाह्रो भयो । उनी साँच्चैका ‘बोस’ हुन्,’ आइतबार चेल्सीसँग १–० को पराजय भोगेपछि क्लोपले भनेका थिए, ‘उनी चाँडो ठीक होऊन् भन्ने कामना गर्न चाहन्छु।’

चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले थपे, ‘मैले जीवनमा उनी र उनकी पत्नीजस्ता महान मानिसलाई चिन्ने मौका पाएँ । उनी साँच्चै साधारण मानिस होइनन्, उनी विशेष व्यक्तित्व हुन् । उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’
मस्तिष्कघात भएपछि म्यानचेस्टर नजिकै रहेको चेडलस्थित घरबाट स्थानीय समयअनुसार बिहान ९ बजे उनलाई एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको थियो। 

प्रकाशित: २५ वैशाख २०७५ ०५:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App