coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गोली लागेका पाकिस्तानी गृहमन्त्री खतरामुक्त

गोली लागि घाइते भएका पाकिस्तानी गृहमन्त्री अहसन इकबाल (बीच) लाई लाहोर ल्याइएपछि हेलिकप्टरबाट बाहिर निकालिँदै। तस्बिर : पिआईडी

लाहोर – निर्वाचन प्रचारका क्रममा लाहोरमा रहेका बेला आइतबार गोली प्रहार गरिएका पाकिस्तानी गृहमन्त्री अहसान इकबालको अवस्था खतरामुक्त रहेको बताइएको छ।

आइतबार अबेर पञ्जाबस्थित आफ्नो चुनावी क्षेत्रमा आफ्नै दलको चुनावी कार्यक्रममा सहभागी भइरहेका बेला ५९ वर्षीय इकबालमाथि गोली प्रहार भएको थियो। गोली उनको दाहिने पाखुरामा लागेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ। पाकिस्तानको गृहमन्त्रालयले गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उनको पाखुरामा लागेको र हाल उनको लाहोरस्थित एक अस्पतालमा उपचार भइरहेको जनाएको छ। इकबालको स्वास्थ्य खतरामुक्त रहेको पनि गृह मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

गोली लागेका गृहमन्त्री इकबाललाई तत्कालै स्थानीय अस्पतालमा लगिएको थियो। त्यसपछि उनलाई हेलिकप्टरमार्फत् एयरलिफ्ट गरेर लाहोरको अस्पताल लगिएको थियो। गृहमन्त्री इकबालको सत्तारुढ पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)ले सार्वजनिक गरेको फुटेजमा उनलाई हेलिकप्टरबाट स्ट्रेचरमा राखेर ओरालिएको देखाइएको छ। इकबालको स्वास्थ्य अवस्था स्थीर रहेको उनको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

गृहमन्त्री इकबालमाथि गोली प्रहार गर्ने मानिसको नाम ‘अबिद’ भएको र उनको उमेर २० वर्षको रहेको पाकिस्तानी प्रहरीले जानकारी दिएको छ। उनलाई गृहमन्त्रीमाथि दोस्रो गोली प्रहार गर्ने तयारी गरिरहेकै बेला आमसभाको मैदानमा उपस्थित प्रहरी र सहभागीले लडाएर नियन्त्रणमा लिएका थिए। देशकै गृहमन्त्रीमाथि ज्यान लिने उद्देश्यसहित चुनावी अभियानमै गोली प्रहार हुनु देशव्यापी निर्वाचनका लागि खराब संकेतका रूपमा हेरिएको छ। चुनावी प्रतिस्पर्धीले लिनु पर्ने शपथलाई गत वर्ष हतार हतारमा गरिएको सानो संशोधनले ईश्वरको निन्दा गरेकाले आफूले गृहमन्त्रीमाथि गोली प्रहार गरेको विवरण प्रहरीसमक्ष गोली प्रहार गर्ने व्यक्तिले दिएको लाहोरका स्थानीय उपकमिस्नर अली अनन कमारलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

गृहमन्त्रीमाथि चुनावी अभियानमै गरिएको आक्रमणको अमेरिकी राजदूत र फ्रान्सेली दूतावाससहित विश्व समुदायले निन्दा गरेका छन् भने संघीय निर्वाचनको मुखमा भएको बहालवाला गृहमन्त्रीमाथिको आक्रमणले लोकतन्त्रलाई कमजोर पार्ने भन्दै पाकिस्तानी अधिकारीले भने चिन्ता व्यक्त गरेको एएफपीले जनाएको छ।

पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासीले आक्रमणको निन्दागर्दै घाइते गृहमन्त्री इकबालको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले पाकिस्तानी भूमिमा आतंकवाद परास्त भएरै छोड्ने र त्यसका लागि सरकार सक्षम रहेकोसमेत बताएका छन्।

पाकिस्तानमा आगामी महिना संघीय निर्वाचन हुँदैछ। पूर्वप्रधानमन्त्री नवाज शरिफले राजनीति गर्न नपाउने गरी अदालतले नै प्रतिबन्ध लगाएपछि पाकिस्तानको राजनीति अस्थिर बन्दै गएको छ। यस कारण पनि पछिल्लो समयमा पाकिस्तानको सत्ताधारी दल र विपक्षी दलबीच विवाद चुलिएको छ र उनीहरुको यस जुहारीले निर्वाचन हुनेमासमेत आशंका गर्न थालिएको छ।

खराब लक्षण
गृहमन्त्री इकबालमाथि भएको गोली प्रहारको कडा शब्दमा निन्दा गर्दै नोबेल शान्ति पुरस्कार विजेता मलाला योसुफजाईका पिता जियाउद्दिन योसुफजाईले ट्विट गरेका छन्। उनले आक्रमण स्वतन्त्र, निष्पक्ष र पारदर्शी रूपमा हुने ठानिएको आसन्न आम निर्वाचनका लागि खराब संकेत भएको समेत ट्विटमा उल्लेख गरेका छन्।

लाहोरमा उच्च सुरक्षा सतर्कता
बहालवाला गृहमन्त्रीमाथि ज्यानै लिने उद्देश्यसहित गोली प्रहार भएपछि पाकिस्तानको लाहोर प्रान्तमा उच्च सुरक्षा सतर्कता अपनाइएको समाचार एजेन्सी एएफपीले जनाएको छ। साथै देशभरमा सुरु हुन लागेको निर्वाचन प्रचार अभियानमा पनि सतर्कता अपनाउन भनिएको गृह मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै एएफपीले उल्लेख गरेको छ। निर्वाचनको प्रचार अभियान तथा सभा सम्मेलनका समयमा हिंसा हुनसक्ने अनुमानका कारण यस्तो गरिएको बताइएको छ। सबै सुरक्षा निकायलाई सतर्क रहन भन्दै सम्भावित हिंसाको अवस्थालाई मध्यनजर गरी कार्यक्रम सञ्चालन गर्न उच्च सुरक्षा अपनाइएको पाकिस्तानी अधिकारीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ।

प्रकाशित: २५ वैशाख २०७५ ०४:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App