७ वैशाख २०८१ शुक्रबार
समाज

हेपाटाइटिस संक्रमणमा पर्ने राजधानीवासीको संख्या बढी

काठमाडौं – बर्खायाम सुरु हुनेबित्तिकै हेपाटाइटिस (जन्डिस) संक्रमणको जोखिम उच्च हुने गरेको छ। काठमाडौंको वातावरण बाह्रै महिना हेपाटाइटिस संक्रमणका लागि अनुकूल रहँदै आए पनि बर्खाका बेला यसको जोखिम तीव्र हुने वीर अस्पतालका चिकित्सकहरूले बताएका छन्। ‘अरू मौसममा पनि हेपाटाइटिसको संक्रमणमा परेका बिरामी आइरहन्छन्, पानी पर्न थालेपछि भने रोगीको संख्या ह्वात्तै बढ्छ,’ वीर अस्पताल कलेजो विभागका प्रमुख डा.अनिलकुमार मिश्रले भने।

डा.मिश्रका अनुसार राजधानीका ढल खुला हुनु र वर्षाको पानी ढलमा मिसिएर खानेपानीको पाइपमा मिसिँदा खानेपानी दूषित बन्न पुग्छ । काठमाडौंका धेरैजसो घर थोरै जग्गामा बनेका हुन्छन्। थोरै जग्गामा बनेका घरमा खानेपानीको स्रोत र सेफ्टी ट्याकी नजिक हुन्छन्। पानी परेको बेला दुवै एकापसमा मिसिएर पानी दूषित बन्छ । दूषित पानी खानामा प्रयोग भएमा र पानी पिउँदा व्यक्तिमा हेपाटाइटिसको संक्रमण हुन्छ। डा.मिश्र भन्छन्, ‘काठमाडौंमा कतिपय ढल खुलै छन्, त्यहाँबाट बगेको पानी खानेपानीको पाइपमा मिसिन पुग्छ।’

बजारमा छ्यापछ्याप्ती खुलेका खानेपानी सेवाद्वारा बिक्रीवितरण हुने जारको पानी पनि सुरक्षित छैन । परीक्षण तथा अनुगमनबिना गुणस्तरहीन पानी वितरण गरिने हुँदा हेपाटाइटिसको संक्रमण बढेको मिश्रको भनाइ छ। ‘हेपाटाइटिस संक्रमण परेकाहरूमा जारकै पानी पिउने पनि हुन्छन्,’ उनले भने।

हेपाटाइटिस संक्रमणका कारण वीर अस्पतालमा पुग्ने ८० प्रतिशत बिरामी जन्डिसको अवस्थामा मात्र उपचार प्रक्रियामा सामेल हुन्छन्। तीमध्ये १० वर्षमुनिका २० प्रतिशत छन् । जन्डिसको लक्षण लिएर आउनेमा ७५ प्रतिशत राजधानीकै छन्। हेपाटाइटिस ‘ए’ संक्रमण भएका दश वर्षमुनिका बालबालिका पनि राजधानीभित्रकै छन्।

चिकित्सकका अनुसार कलेजो खान मन पराउने हेपाटाइटिस भाइरस ‘ए’ र ‘इ’ दिसाजन्य फोहरमा बस्छन्। दिसामिश्रित खाना या पानी प्र्रयोग गरेमा मानिसमा हेपाटाइटिसको संक्रमण हुन्छ। फोहर खाना खाएमा पेट, आन्द्रा हुँदै रगतमा मिसिने र रगतबाट कलेजोमा पुगेपछि भाइरसले कलेजो खान सुरु गर्छ। कलेजो खाने चरणलाई हेपाटाइटिस संक्रमण भनिन्छ । कलेजो खाएपछि पाचन प्रक्रियामा असर पुग्ने, आँखा पहेंलो हुने, खाना अपच हुने जस्ता लक्षण देखिन्छन्। बिरामीको आँखा तथा नङहरू पहेंलो हुने अवस्थालाई जन्डिस भनिन्छ। हेपाटाइटिस ‘ए’ दस वर्षमुनिका बालबालिकालाई हुन्छ भने हेपाटाइटिस ‘इ’ दस वर्षभन्दा माथि उमेरकालाई हुन्छ।

दस वर्षमुनिका बालबालिकामा रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम हुने भएकाले हेपाटाइटिस ‘ए’ ले पनि सजिलै आक्रमण गर्छ। विदेशीमा पनि प्रतिरक्षा क्षमता कमजोर भएकाले सजिलै संक्रमण हुने हेपाटाइटिस ‘ए’ संक्रमण हुने चिकित्सक बताउँछन् । ‘काठमाडौंवासीलाई यो भाइरसले केही गर्दैन्, काठमाडौंबाहिरका र विदेशी पर्यटक आए भने सजिलै आक्रमण गर्छ,’ मिश्रले भने। काठमाडौवासीमा सानैदेखि धाराको पानी पिउने अभ्यास भएकाले उनीहरूको शरीरमा हेपाटाइटिस ‘ए’ भाइरस पचाउने क्षमता शरीरमै बनेको हुन्छ।

हेपाटाइटिस भाइरस संक्रमण भएको तीन सातापछि खान मन नलाग्ने, खाना नपच्ने, पेटको दाहिने कोखा दुख्ने, पिसाब र आँखा पहेंलो हुने, पेट फुल्ने, वाकवाक लाग्ने, थकाइ लाग्ने, कमजोरी हुनेजस्ता लक्षण देखिन्छन्। यी लक्षण देखिएको कतिपयलाई स्वस्थ र सन्तुलित खाना खाने, आराम गर्ने, प्रशस्त पानी पिउने गर्दा बिस्तारै रोग निको हुन्छ । तर, अन्य किटाणुको पनि संक्रमण छ भने परीक्षण गरी औषधि खानुपर्छ। हेपाटाइटिस ‘ए’ र ‘इ’ को औषधि भने अहिलेसम्म बनेको छैन।

इकोला, भिब्रियो, कलेरा र साल्मोनेलाजस्ता किटाणु पानीमै सीमित रहने भएकाले यही मौसममा विभिन्न सरुवा रोग लाग्ने गरेको डा.मिश्रले बताए। भिब्रियो र इकोलाका कारण झाडापखाला हुन्छ। साल्मोनेलाले टाइफाइड हुन्छ। वर्षायामसँगै राजधानीमा पानीका स्रोत दूषित हुन गई बितेका वर्षमा हेपाटाइटिसको प्रकोप नै भएको डा.मिश्रले बताए। काठमाडौं उपत्यकाको हकमा हेपाटाइटिसको जोखिम प्रत्येक वर्ष रहेको उनको भनाइ छ। ‘होस नपु-याए कुनै पनि बेला राजधानीमा यसको प्रकोप फैलिन सक्छ,’ डा.मिश्रले भने।

प्रकाशित: २५ वैशाख २०७५ ०४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App