coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कालोपत्रे नहुँदा धुलोले हैरान सर्वसाधारण

नवलपुर–मलंगवा सडकखण्डमा सवारी साधनले उडाएको धुलो छिचोल्दै साइकल यात्री। (तस्बीर : टंक क्षेत्री/नागरिक)

सर्लाही – हरिपुर बजार निवासी सनोज दास ६ किलोमिटर उत्तर पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपुर आउनु प-यो भने हरेक पटक ११ किलोमिटर भन्दा लामो बाटो प्रयोग गर्ने गर्छन्। हरिपुरबाट सोझै आउने नवलपुर–मलंगवा सडकखण्डमा गुड्ने ठूला सवारी साधनले उडाउने अत्यधिक धुलोबाट बच्न उनी थप ५ किलोमिटर लामो मोटरसाईकल यात्रा गर्न बाध्य भएका हुन्।

‘के गर्नु सीधा बाटो हुँदै नवलपुर गयो भने त धुलोले छपक्कै भइन्छ’, उनले गुनासो गरे, ‘त्यही भएर ठूला सवारी साधन नगुड्ने सहायक मार्ग हुँदै नवलपुर आउने गरेको छु।’ छ किलोमिटर उत्तरको नवलपुर पुग्न दास घुमाउरो सहायक मार्ग हुँदै हरिवन तथा लालबन्दी पुग्न ७ किलोमिटर तथा त्यहाँबाट ४ किलोमिटर पूर्व–पश्चिम राजमार्ग छिचोल्न बाध्य छन्।

उत्तरबाट सदरमुकाम मलंगवा जोड्ने मुख्य मार्ग नवलपुर–मलंगवा सडकखण्ड कालोपत्रेका लागि १० वर्षदेखि निर्माणाधीन छ। पटकपटक टेण्डर लाग्ने तर कहिले ठेकेदारले बीचैमा छाड्ने त कहिले सरोकारवाला सरकारी कार्यालयकै उदासिनता एवं अवरोधका कारण २५ किलोमिट ५९४ मिटर सडकखण्डमा कालोपत्रे हुन सकेको छैन। जसका कारण दासले जस्तै आम सर्वसाधारणले सास्ती बेहोर्दै आएका छन् । गन्तव्यमा पुग्न घुमाउरो बाटो प्रयोग गर्दा समयसँगै आर्थिक व्ययभार समेत बढी बेहोर्न सर्वसाधारण बाध्य छन्।

‘यो सडक कालोपत्रे हुने कुरा त ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै होला जस्तो छ’ दासले भने, ‘दुई÷तीन पटक टेण्डर लागे पनि हुन नसकेको कालोपत्रे यो पटक पनि समयमै सम्पन्न होला जस्तो देखिँदैन।’

पछिल्लो पटक नवलपुर–मलंगवा सडकखण्डका आवश्यक स्थानमा नालासहित पुल तथा कल्भर्ट निर्माण एवं कालोपत्रेका लागि २०७३ भदौ ३१ मा सम्झौता भई २०७५ भदौ ३० गते सम्पन्न गर्ने गरी दुई प्याकेजमा काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरका प्रमुख सन्तोष कर्णले जानकारी दिए। कर्णका अनुसार नवलपुर–गैर तथा गैर–मलंगवा सम्मको दुईवटा छुट्टाछुट्टै प्याकेजका लागि निर्माण व्यवसायीसँग ५१ करोड रूपैंयामा सम्झौता भएको छ।

आगामी भदौसम्ममा निर्माण सक्नुपर्ने भए पनि उक्त सडकमा पुल तथा कल्भर्ट निर्माण र माटो हुर्ने कामबाहेक अरू केही भएको देखिँदैन। कतिपय स्थानमा माटो हुरेर छाडिएकाले निर्माणकै लागि प्रयोग भएका ठूला ट्रिपर, बस तथा ट्रकले दैनिक उडाउने अत्यधिक धुलोले सडक आसपासका बासिन्दा मात्र हैन मोटरसाइकल, साइकल एवं पैदल यात्रुसमेत हैरान छन्। निर्माण व्यवसायीले सडकमा दैनिक पानी छर्कनु पर्ने भए पनि सो पालना नगरेको प्रमुख कर्णले आरोप लगाए।

प्रतिनिधि सभा सदस्य प्रमोद साहको पहलमा गत चैत दोस्रो साता जिल्ला प्रशासन कार्यालयमा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल, सरोकारवाला डिभिजन सडक कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, सम्बन्धित ठेकेदारहरू, सञ्चारकर्मी, नागरिक समाजका अगुवा सम्मिलित अन्तरक्रिया कार्यक्रममा नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत नवलपुर–गैर खण्डका ठेकेदार नन्दलाल श्रेष्ठले वैशाख २ गतेबाट कालोपत्रे गर्न सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। तर वैशाख तेस्रो साता बितिसक्दा पनि काम हुने कुनै छाँटकाँट देखिएको छैन।

‘ठेकेदारले गम्भीर भएर काम गरिरहेका छैनन्’, प्रतिनिधिसभा सदस्य साह आक्रोश व्यक्त गर्छन्, ‘अब वर्षायाम सुरु हुने बेला भइसक्यो, चाँडो काम सम्पन्न नगरे फेरि समय गुज्रने स्थिति छ।’ निर्माण व्यवसायीसँग पर्याप्त उपकरणहरूको अभाव देखिएको उनले बताए। ‘एउटै ठेकेदारले थुप्रै ठाउँमा कामको जिम्मा लिएका छन्’, साहले भने, ‘तर उपकरण अभावले काममा निक्कै ढिलासुस्ती भइरहेको छ।’ कालोपत्रे निर्माणबारे बुझ्न पटकपटक फोन सम्पर्क गर्दा सम्बन्धित व्यवसायीहरू फोन नै उठाउँदैनन्।

प्रकाशित: २५ वैशाख २०७५ ०४:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App