६ वैशाख २०८१ बिहीबार
राजनीति

यसरी हुन्छ राष्ट्रियसभा सदस्यको पदावधि कायम

काठमाडौं – सामान्तया राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुने भए पनि पहिलोपटक भने एकतिहाइ सदस्यको दुई वर्ष, अर्का एकतिहाइ सदस्यको चार वर्ष र बाँकी सदस्यको पदावधि ६ वर्ष हुने संवैधानिक व्यवस्था छ। यही प्रयोजनका लागि गोलाप्रथा विधि अपनाई पदावधि निर्धारण गरिने भएको छ।

राष्ट्रिय सभामा ५९ जना सदस्य छन्। तीमध्ये एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ। संविधानको आधारमा राष्ट्रियसभा नियमावली मस्यौदा समितिले गोला प्रथाद्वारा सदस्यको पदावधि कायम गर्नेसम्बन्धी थप व्यवस्था गरेको छ। गोला थुत्ने कार्य कार्य राष्ट्रियसभा अध्यक्षले तोकेको मिति, समय तथा स्थानमा हुनेछ र त्यसको सूचना पाँच दिनअगाबै संसद्का महासचिवले प्रकाशन गर्नुपर्ने मस्यौदामा उल्लेख छ।

पहिलो पटकका लागि गोला प्रथाद्वारा १९ जना सदस्यको पदावधि दुई वर्ष, २० जनाको पदावधि चार वर्ष र बाँकी २० जना सदस्यको ६ वर्ष कायम हुने व्यवस्था संविधानको धारा ८६ (३) को प्रतिबन्धात्मक वाक्यमा छ।

राष्ट्रिय सभामा ५९ जना सदस्य छन्। तीमध्ये एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ।

राष्ट्रियसभा नियमावली मस्यौदामा उल्लेख भएबमोजिम प्रत्येक खण्डका सातवटा गोलामध्ये एकएकवटा गोलामा कुनै पदावधि उल्लेख नगरिएको गोला प्रयोग गरिनेछ। त्यस्तो गोला झिक्ने प्रत्येक समूहका एकएक जना गरी दुईजना सदस्यको हकमा पदावधि पुनः गोलाप्रथाद्वारा कायम गरिनेछ।

गोला थुत्नुअघि समूह विभाजन गरिनेछ। समूह विभाजन गर्दा प्रत्येक प्रदेशबाट निर्वाचित तीनजना महिला सदस्य समूह, सबै प्रदेशबाट निर्वाचित सातजना दलित सदस्य समूह, सबै प्रदेशबाट निर्वाचित सातजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्यको समूह, प्रत्येक प्रदेशबाट निर्वाचित तीनजनाको अन्य सदस्यको समूह र राष्ट्रपतिबाट मनोनीत तीनजनाको सदस्य समूह रहनेछन्।

कुनै काबुबाहिरको परिस्थिति परी गोला थुत्ने समयमा उपस्थित हुन नसक्ने भएमा त्यस्ता सदस्यले अर्को कुनै सदस्यलाई अख्तियारी दिन सक्ने व्यवस्था नियमावलीमा गरिएको छ। तर अख्तियारी नदिएका कारणले गोलाप्रथा रोकिने छैन। सम्बन्धित सदस्य वा निजबाट अख्तियारी प्राप्त सदस्य पनि उपस्थित नभएमा महासचिव वा उनले तोकेको सचिवालयको कुनै अधिकृतले उपस्थित नहुने सदस्यको हकमा सम्बन्धित बाकस वा बट्टाबाट एउटा बल झिक्नेछ। बाकस वा बट्टाबाट झिकेको बलभित्रको गोलामा लेखिएको पदावधिलाई महासचिव वा निजले तोकेको सचिवालयको अधिकृतले पढेर सुनाउनेछ र सोसम्बन्धी अभिलेख तत्काल राखिनेछ।

बल तथा गोला कुन साइजको हुने र कस्तो प्रकारको बाकस वा बट्टामा राख्ने भन्ने सचिवालयले निर्धारण गरेबमोजिम हुनेछ। प्रत्येक समूहको सदस्यको पदावधिका लागि दुई वर्ष, चार वर्ष र छ वर्ष उल्लिखित अक्षरमा कम्प्युटर प्रिन्ट गरिएको समान आकार र रङको काजगलाई कुनै बलभित्र राखी उक्त बललाई समूहअनुरुपको छुट्टाछुट्टै बाकस वा बट्टामा राखिनेछ।

गोलाप्रथा कार्यको संयोजन महासचिव वा महासचिवले तोकेको सचिवालय सचिवले गर्नेछ र महासचिवले सो कार्यका लागि सचिवालयको वरिष्ठ अधिकृत र आवश्यकताअनुसार अन्य कर्मचारीलाई समेत खटाउन सक्नेछ। गोला प्रथाद्वारा कायम भएको सदस्यको पदावधिको विवरणको अभिलेख संघीय संसद् सचिवालयमा रहनेछ । अभिलेखको जानकारी महासचिवले नेपाल सरकार मन्त्रिपरिषद् तथा निर्वाचन आयोगलाई दिनुपर्नेछ। यसलाई राजपत्रमा पनि प्रकाशन गर्नुपर्नेछ। मस्यौदामाथि संशोधन राख्नुपर्नेभए राष्ट्रिसभाका सदस्यलाई २४ र २५ वैशाखको समय दिइएको छ।

प्रकाशित: २५ वैशाख २०७५ ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App