८ वैशाख २०८१ शनिबार
कला

‘नेपाललाई माया गर्छु’

काठमाडौं– १५ वर्षपछि सोमबार नेपाल आउँदा बलिउड नायिका करिश्मा कपुरको मुहारमा चकमता प्रष्ट देखिन्थ्यो । राजधानीमा सोमबारबाट सञ्चालनमा आएको मेरीगोल्ड सयपत्री ज्वेलर्सको शुभारम्भ गर्न सोमबार बिहान नेपाल आइपुगेकी उनी दिउँसो झण्डै १२ बजे दरबारमार्गमा झुल्किइन्।

दरबारमार्गमा सञ्चालनमा आएको ज्वलेर्सको पानसमा दीप प्रज्वललन गरेपछि उनले उपस्थित दर्शकलाई अभिवादन गर्दै नेपालको तारिफ गरिन् । ‘लामो समयपछि नेपालमा पाइला टेक्दा म एकदमै खुशी छु । मेरिगोल्ड र मेरो पनि आफ्नै किसिमको सम्बन्ध छ,’उनले भनिन्,‘म बलिउडमा चौथो पुस्ताको कलाकार र मेरिगोल्ड पनि अहिले चौथो पुस्तामा हस्तान्तरण भएकाले एउटा अनौठो संयोग पनि मिलेको छ।’

उनले नेपाललाई आफूले सधैं माया गर्ने गरेको बताइन् । ‘नेपाल हिमालको देश हो । यो देश निकै सुन्दर छ । त्यसकारण पनि म नेपाललाई धेरै माया गर्छु,’उनले भनिन्,‘नेपालप्रति मेरो सधैं सद्भाव रहिरहनेछ ।’ व्यापारी सञ्जय कपुरसँग विवाह गरेपछि करिश्मा फिल्मी नगरीबाट टाढिएकी थिइन्।

करिश्माले ज्वेलर्सको शुभारम्भसँगै पसलको अवलोकन पनि गरेकी थिइन् । ज्वेलरीकी सञ्चालिका ज्योत्सना श्रेष्ठले २० वर्षदेखि ग्राहकको सेवा गरिरहेको मेरीगोल्डले आगामी दिनमा अझ परिस्कृत रुपमा सेवा विस्तार गर्दै लैजाने बताइन् । ‘‘बलिउड कलाकारहरुको आगमनले नेपाली परम्परागत गहनाहरुको भारतीय बजारमा पनि प्रबद्र्धन र माग बढ्ने अपेक्षा छ,’उनले भनिन्,‘उहाँहरू आउँदा नेपालको पर्यटन तथा संस्कृतिको समेत प्रचार हुन्छ ।’ नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपाली बजारमा मेरीगोल्डको योगदानको चर्चा गर्दै बलिउडका कलाकार ल्याएर ज्वेलर्स सञ्चालन गर्नु पर्यटनका लागि सकारात्मक कुरा रहेको बताइन्।

ज्वेलर्सका अनुसार मेरीगोल्डले नेपाली परम्परागत गहना, विदेशी डिजाइनका गहना, नेपाली र विदेशी समिश्रण भएका फ्युजन डिजाइनका गहनाहरू निर्माण तथा बिक्री गरिरहेको छ । ज्वेलर्समा सुन, चाँदी, डाइमन्डयुक्त विभिन्न डिजाइनका गहनाहरू तथा विभिन्न किसिमका रत्नहरू बिक्रीका लागि उपलब्ध छन्।

 

प्रकाशित: २५ वैशाख २०७५ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App