७ वैशाख २०८१ शुक्रबार
अर्थ

करोडौँ मूल्यका केरा नोक्सान ७० प्रतिशत किसान बिमा बाहिर

कालिका नगरपालिकामा हावाहुरी सहित आएको असिना पानीले नष्ट गरेको केरा बारी तस्विरः सविता/नागरिक

चितवन –आईतबार साँझ परेको असिना पानी र हावाहुरीका कारण पुर्वी चितवनमा गरिएको केरा खेतीमा क्षति पुगेको छ । हावाहुरी सहित आएको असिना पानीका कारण केरा खेतीमा करीब २० करोड बराबरको क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरी पन्तले जानकारी दिए।

कालिका नगरपालिकाको पदमपुर क्षेत्रमा धेरै क्षति भएको छ । कालिका नगरपालिकाको वडा नम्बर २ र ३ मा सम्पूर्ण केरा खेती नै नष्ट भएको अध्यक्ष पन्त बताउँछन् । यस्तै रत्ननगर, चैनपुरमा लगाईएको केरा खेतीमा पनि क्षति पुगेको छ । ‘पुर्वी चितवनमा पुर्वपश्चिम लोकमार्ग देखी उत्तर पट्टीका ठाउँहरुमा लगाईएको केरा बगानमा धेरै नोक्सानी भयो’ उनले भने, ‘एकदम ठूलो क्षति छ।’

भरतपुर महानगरपालिकाको ठिमुराको केरा खेतीमा पनि क्षति पुगेको छ । हावाहुरीका कारण केरा खेतीमा यति ठूलो परिमाणमा क्षति पुगेको पहिलो पटक भएको उनले बताए । यसअघिका वर्षमा बढीमा पाँच करोड मूल्यसम्मको क्षति हुने गरेकामा यो वर्ष अधिक नोक्सानी हुनाका साथै केरा खेती नै ध्वस्त भएको उनी बताउँछन् । बाँकी रहेका थोरै केराका बोटबाट पनि उत्पादन लिन नसकिने अवस्था रहेको छ।   

करीब चार सय किसानले लगाएको केरा खेतीमा क्षति पुगेको अध्यक्ष पन्तले जानकारी दिए । अहिले स्थानिय तहका वडा कार्यालयहरुसँग समन्वय गरेर किसानको बारीमा पुगेर तथ्याङ्क संकलन गर्ने तयारी गरिएको छ । उनी भन्छन्, ‘ठूलो क्षति भएकोले एकिन तथ्याङ्क संकलन गर्नका लागि केही दिन लाग्नेछ।’

केरा खेतीमा पुगेको क्षति संकलन गर्न फारमको ढाँचा तयार गरिएको छ । वडा वडामा पुगेर क्षतिको तथ्याङ्क लिने काम सुरु गरिएको कालिका नगरपालिकाका मेयर गोपी श्रेष्ठले जानकारी दिए । स्थानिय टोल विकास संस्था र नगरपालिकाका प्रतिनिधी मिलेर किसानकोमा पुगेर क्षतिको विवरण संकलन गरिने उनले बताए । विवरण संकलन गर्दा बिमा गर्ने र नगर्ने किसानको बारेमा पनि जानकारी संकलन गरिने छ।

चितवनमा गरिने फलफुल खेती मध्ये धेरै लगानीमा र ठूलो परिमाणमा गरिएको खेतीमा केरा खेती प्रमुख रहेको छ । पुर्वी चितवनका पदमपुर, रत्ननगर पिठुवा, चैनपुर, जुटपानी, पश्चिम चितवनको मेघौली, शुक्रनगर, जगतपुरका साथै ठिमुरा लगायतका ठाउँमा समेत व्यवसायिक केरा गरिन्छ ।  आर्थिक वर्ष २०६६-०६७ मा चितवनमा ६ सय ५० हेक्टरमा केरा खेती गरिएको थियो । केरा खेती गर्ने क्षेत्र हरेक वर्ष बढ्दै गएको पाईन्छ।

यस वर्ष जिल्लामा दुई हजार ६ सय ५० विगाहमा केरा खेती गरिएको संघका अध्यक्ष पन्त बताउँछन् । जिल्लामा ६ सय ३० जना कृषकले केरा खेती गर्छन् । खेती गर्दा आईपर्ने जोखिम कम गर्न बिमाको व्यवस्था गरिएपनि निकै कम केरा खेती गर्ने किसानले बिमा गरेको पाईन्छ । गत वर्ष २२ करोड मूल्य बराबरको केरा खेतीको कृषकले विमा गरेका थिए । यस वर्ष १९ करोड मूल्य बराबरको मात्र विमा गरिएको छ।

५ प्रतिशत भन्दा कमको क्षति भयो भने बिमा दाबी गर्न नपाईने व्यवस्था भएकाले गत वर्ष थोरै नोक्सानी हुँदा धेरै किसानले बिमाबाट सहयोग लिन पाएका थिएनन् । त्यसैले यस वर्ष बिमा गर्ने किसान कम भएका हुन् । ‘त्यो प्रावधान हटाईए पनि धेरै किसानलाई बिमामा समेट्न सकिएन’ अध्यक्ष पन्त भन्छन्, ‘७० प्रतिशत किसानले बिमा गरेका छैनन् ।’
किसानले कृषि बालीको बिमा गरे वापत बुझाउनु पर्ने प्रिमियममा सरकारले ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । असिनापानी, बाढी, खडेरी, बर्षा, पहिरो, भू–क्षय जस्ता प्राकृतिक विपद्बाट कृषिमा पुग्ने क्षतिलाई समेत बिमाले समेट्छ।

बिमा गरेको भए नोक्सानी बेहोर्ने किसानले लागत मूल्य बराबरको राहत बिमाबाट पाउँथे । यस्तो सुनौलो अवसर भएपनि किसानलाई बुझाउन नसकिएका कारण धेरै किसान बिमा आउन नसेकेको पन्तको भनाई छ ।
केरा खेतीमा ठूलो परिमाणमा क्षति पुगेकाले यस बर्ष बजारमा केराको अभाव हुने उनी बताउँछन् । यसअघि एक साता अघि कालिका नगरपालिकामा अज्ञात समूहले केराको बोट फाँडेर करीब ३१ सय बोट केरा नष्ट गरेका थिए । हावाहुरीले केरा खेतीका साथै मकै बाली र  तरकारी एवं फलफूलमा क्षति गरेको छ ।

 

 

प्रकाशित: २५ वैशाख २०७५ ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App