coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

इशनाथ नगरपालिकाका मेयर र अधिकृतविरुद्ध उजुरी

रौतहट – रौतहटको इशनाथ नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै मेयर र कार्यकारी अधिकृत विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरुले छानविन र कारवाहीको माग गर्दै उजुरी गरेका हुन्।

इशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र कार्यकारी अधिकृत रामजी जोशीले नगरपालिकाको विभिन्न शिर्षकको रकम व्यापक अनियमितता गरेको आरोप लगाउदै स्थानीय वडाका जनप्रतिनिधि वडा सदस्य, राजनितिक दल लगायतकाले जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी गरेका हुन् । स्थानीय तहको ऐन कानुनलाई ठाडै उलंघन गरी मेयर र कार्यकारीले विभिन्न शिर्षकमा विनियोजन गरिएको रकममा चरम आर्थिक अनियमितता गरेको आरोप लगाउँदै आवश्यक कारवाहीको माग गर्दै किटानी उजुरी परेको छ ।

वडा नम्वर १, २, ७ र ८ का वडाध्यक्षहरू विगु साह, रामलक्ष्मण साह, शेख अब्दुल खालिफ र शेख चाँद अली लगायत २२ जना सदस्यहरूले पाँच पानाको आरोप पत्र सहित आइतवार प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल समक्ष उजुरी दिएको बताइएको छ।

उक्त आरोप पत्रमा नगरप्रमुख मेहता र निमित्त कार्यकारी अधिकृत जोशीले स्वास्थ्य, कृषि, जिन्सी, विद्युतको पोल, चिम, कम्बल, स्टेशनरी, इन्धन, फर्निचर, सिसि टिभी क्यामरा, मोवाइल, व्याग, गाडी भाडा, घर भाडा, भ्रमणको नाममा भत्ता निकासा, शैक्षिक सामग्री, क्रिकेट टुर्नामेन्ट लगायतका अनेकौं शिर्षकमा करोडौं रुपैया बराबरको आर्थिक अनियमितता गरेको उजुरीमा उल्लेख छ । यस्तै औषधी खरिद वापतको २० लाख भुक्तानी लिइसकेको श्रोतको दाबी छ । भाडाको घरमा सिसि टिभी क्यामरा जडानमा १४ लाख खर्च गरिएको छ । ल्यापटप खरिद भएपनि वडा कार्यालयमा ल्यापटप नरहेको दाबी गर्दै श्रोतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरेको छ । 

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले इशनाथ नगरपालिकामा भएको आर्थिक अनियमितताको विषयमा जनप्रतिनिधिहरुले मेयर र कार्यकारी विरुद्ध लिखित रुपमा उजुरी परेको स्वीकार्दै त्यस उजुरीको विषयमा आवश्यक अनुसन्धान भइरहेको बताए । स्थानीय तहको विषयमा भएको आर्थिक अनियमितता सन्दर्भमा जिल्ला प्रशासन कार्यालयलाई कुनै अधिकार नभएको कारण अख्तियार लगायतका सम्बन्धित निकायमा सिफारिस गर्ने स्पष्ट पारे । 

प्रकाशित: २४ वैशाख २०७५ १०:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App