८ वैशाख २०८१ शनिबार
समाज

नमुना 'होमस्टे' घलेगाउँमा महोत्सवको रौनक

लमजुङ- सार्क राष्ट्रको नमूना ग्रामीण पर्यटकीय होमस्टे घलेगाउँमा आएका पर्यटक तथा सो क्षेत्रका स्थानीयबासी १९ औं घलेगाउँ महोत्सवको रौनक छाएको छ।

‘ग्रामिण पर्यटन प्रर्वद्धन गरी घलेगाउँलाई सुखी र समृद्ध बनाऔं’ भन्ने मूल नाराका साथ क्व्होलासोथर गाउँपालिका ३ स्थित घलेगाउँमा आईतबार देखि ३ सुरु भएको महोत्सवमा पर्यटक सँगै घलेगाउँ, भुजुङ, घनपोखरा, बाग्लुङपानी र मालिङ क्षेत्रका बासिन्दाहरु रमाईएका हुन् ।

ग्रामिण पर्यटकीय गन्तव्यका रुपमा चर्चित घलेगाउँमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले वर्षेनी महोत्वस गरिदै आईएको क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष एवं घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले बताए । महोत्सवमा घाँटु, सोरठी, सेर्का, घ्याब्रे, कृष्णचरित्र जस्ता परम्परागत गुरुङ सँस्कृतिमा आधारित नृत्य देखाईने, खानाका स्थानीय परिकार तयारी गरी पाहुनालाई खुवाउने, पौराणिक महत्वका हस्तकलाका सामाग्री प्रदर्शनी गरिने पनि घले बताउँछन् । सो अवसरमा मनोरम् हिमश्रृंखला, सुर्योदय र सुर्योस्तको मनोरम् दृश्यावलोकन, परम्परागत भेंडीगोठ, गुरुङजातिको संग्रहालयको अवलोकन, स्थानीय कृषि उपजहरुको प्रद्र्धशनी, वोटानिकल गार्डेन, प्रदेशकै नमुना चिया बगान लगायतको दृश्यावलोकनको पनि व्यवस्था मिलाईएको जनाईएको छ।

समुन्द्री सतहदेखि २ हजार १ सय मिटरको उचाईमा रहेको घलेगाउँका वासिन्दाले गाउँमा सञ्चालित होमस्टेलाई व्यवसायीक बनाउन, स्थानीय गुरुङजातिको कला, संस्कार एवं संस्कृतिलाई जोगाउन महोत्सवले टेवा पुर्‍याउने अपेक्षा स्थानीयले गरेका छन् । घलेगाउँका आसपासका गाउँका बासिन्दा र आन्तरिक तथा वाह्य पर्यटक गरि करिब १ हजार दर्शकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरुको सांगितिक प्रस्तुति समेत गरिने भएको छ । महोत्सवको समापन लगत्तै घलेगाउँमा देशभरीका होमस्टे सञ्चालित गाउँका प्रतिनिधिको सहभागितामा ग्रामिण पर्यटन प्रर्वद्धनका लागि राष्ट्रियस्तरको गोष्ठी गरिने तय भएको पनि पर्यटन व्यवस्थापन समितिका अध्यक्ष घले बताउँछन् । गुरुङ जातिको उद्गमस्थलका रुपमा पुजिएको क्व्होलासोथर क्षेत्रमा घलेगाउँ पर्ने भएकाले महोत्सवका माध्यमबाट घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै माथिल्लो भेग र कास्कीको मादी गाउँपालिकासम्मको पर्यटन विकासको पहल थालिने पनि बताईएको छ ।

०५६ सालदेखि ग्रामिण पर्यटन विकासको पहल थालिएको घलेगाउँमा २०५७ चैत २७ र २८ गते पहिलो महोत्सव गरिएको थियो । सोही वर्षदेखि ग्रामिण पर्यटनको अवधारणा अनुरुप घरबास अर्थात् ‘होमस्टे’ पनि सञ्चालन गरिएको बताईएको छ । घलेगाउँमा कूल १ सय १६ घरधुरी रहेकोमा अहिले करिब ३५ घरमा होमस्टे सञ्चालन गरिएको छ। गाउँमा दलित समुदायको २५ घर रहेकोमा जिल्लामै पहिलो पटक २ घरमा होमस्टे सञ्चालन गरिएको पर्यटन व्यवस्थापन समितिका सचिव उमल विकले बताए । घलेगाउँमा आर्थिक वर्ष ०७३÷७४ मा १० हजार १ सय ७५ र चालु आवको ९ महिनामा १३ हजार ७ सय १४ जना आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरिसकेको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय भुजुङ अन्र्तगत घलेगाउँ चेकपोष्टका स्वास्थ्य सहायक ललिता गुरुङले जानकारी दिइन् ।

झण्डै ७ सय बर्ष पुरानो बस्ती घलेगाउँ प्राकृतिक सुन्दरताले मात्र नभई गुरुङ समुदायको मौलिक कला र सँस्कृतिले पनि निकै अगाडी रहेको छ । सदरमुकाम बेंसीसहरबाट साँढे २ घण्टाको सवारी यात्रा र ५ घण्टाको पैदलयात्रा पछि घलेगाउँ पुग्न सकिन्छ । ३२ किमि दुरीको बेसीसहर भुजुङ सडकमा अहिले स्तरोन्नतिको काम भईरहेको छ । चालु आवमा सो सडकको ४ किमि खण्डमा कालोपत्रे गर्ने तयारीका साथ काम भईरहेको छ।

 

प्रकाशित: २४ वैशाख २०७५ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App