८ वैशाख २०८१ शनिबार
प्रवास

बेल्जियमको स्थानीय निर्वाचनमा क्षेत्रीको उम्मेदवारी

पोखरा– पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङका कृष्ण क्षेत्रीले बेल्जियमको लुभेन सहरको स्थानीय निर्वाचनमा उम्मेदवारी दिएका छन् । बेल्जियमको सबैभन्दा ठूलो राजनीतिक दल एनभिएबाट उम्मेदवारी दिएका क्षेत्री पर्वतको तर्फबाट प्रवासी राजनीतिमा जमेका सफल व्यवसायीसमेत हुन् ।
लुभेनमा व्यवसाय गर्ने क्षेत्रीले आगामी अक्टोबरमा हुने निर्वाचनमा भाग लिनेछन् । हरेक ६–६ वर्षमा लुभेनमा स्थानीय तहको निर्वाचन हुने गर्छ । समानुपातिक प्रणालीबाट उक्त निर्वाचनमा ४७ जना काउन्सिलरहरु निर्वाचित हुने व्यवस्था छ ।
एनभीएले आफ्ना सबै काउन्सिलरहरु पनि टुंगो लगाइसकेको छ भने उनी पार्टीको तर्फबाट सातौँ उम्मेदवारको सूचीमा परेका छन् ।
सबैभन्दा ठूलो राजनीतिक दलबाट प्रबल सम्भावित उम्मेदवारमा छनोट हुनु नै विजयी शृंखला सुरु भएको उनले बताए । क्षेत्रीले भने, ‘विदेशमा पनि नेपालीहरुको अधिकारको निमित्त लड्न पाउन मेरो भाग्य हो भने नेपालीहरुको सेवा गर्नु मेरो जिम्मेवारी हो,’ उनले सबै नेपालीहरुलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा मिनि नेपाल भनिने लुवेन शहरमा बेल्जियमको सबैभन्दा ठूलो र शक्तिशाली पार्टीले एक नेपालीलाई आउट अफ ४७ मा ७ नम्बरमा उम्मेद्वार बनाउनु गर्वको कुरा भएको लेखेका छन् । उनी भन्छन्, ‘चुनाव जीतिएला वा हारिएला आफ्नो स्थानमा छ तर पार्टीले मलाई उम्मेदवार बनाउनु पूरै नेपाली समुदायप्रति सम्मान गरेको हो ।’

काउन्सिलरको रुपमा उम्मेदवारी दिएतापनि बढि मत ल्याउने उम्मेदवार उपमेयरसम्म बन्न सक्नेछन् । उनका अनुसार एनभीए पार्टी २०१२ को निर्वाचनमा १९ प्रतिशत मतसहित दोस्रो स्थानमा रहेकोमा अहिले ३० प्रतिशत सम्म मत ल्याउनेछ । यस्तै मतदाताको संख्या ९० हजार भन्दा बढि रहेको छ ।
उम्मेदवारी दिँदै गर्दा क्षेत्रीले लुभेनमा नेपाली भाषाको संरक्षण गर्न पार्टीमा नै कुरा उठाएको र पार्टीले स्विकृती दिइसकेको बताए । ‘यहाँ बस्ने हामी नेपालीहरुका बालबालिका नेपाली भाषा बोल्न मात्र जानेका छन्, तर लेख्न र अक्षर चिन्न सक्दैनन्,’ उनले भने, ‘नेपाली भएर पनि आफ्नो भाषा चिन्न नसक्नु दुःखको कुरा हो, यसकारण हप्तामा २÷३ दिन नेपाली भाषाको कक्षा सञ्चालन गर्न मैले पहल गर्नेछु ।’

प्रकाशित: २४ वैशाख २०७५ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App