coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पूर्व धकेलियो उत्तरी ध्रुव

vQLk_l3OxQg

काठमाडौं- दक्षिण एसियामा गहिरिँदो खडेरीका कारण पृथ्वीको ध्रुवीय प्रणाली प्रभावित भएको अमेरिकी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा) ले जनाएको छ। खडेरीका कारण उत्तरी ध्रुव पूर्वतिर सर्दै गएको वैज्ञानिकको ठहर छ।

नासाको अध्ययनमा दक्षिण एसियाली क्षेत्रमा जमिनमुनि पानीको मुहान सुक्दा निम्तिएको खडेरीले उत्तरी ध्रुव पूर्वतर्फ सरेको पाइएको हो।

नासामा कार्यरत नेपाली वैज्ञानिक सुरेन्द्र अधिकारी र एरिक इभिन्सको यसै महिना साइन्स एडभान्स जर्नलमा प्रकाशित लेखमा जलवायु परिवर्तनका कारण ग्रिनल्यान्डको हिउँ पग्लिएर मात्र नभई दक्षिण एसियामा देखिएको खडेरीलाई समेत यसको कारण औंल्याइएको छ।


Mr. Surendra
USA (University of California)

यी दुवै कारणले पृथ्वीको भार एकबाट अर्को स्थानमा सर्दा ध्रुवीय प्रणाली प्रभावित भएको हो।

पृथ्वीको उत्तरी ध्रुुव पूर्वतर्फ सर्नुको कारणमध्ये दक्षिण एसियामा देखिएको खडेरी पनि हो,' अधिकारीले भाइबरमा नागरिकसँग भने, 'यसअघि ग्रिनल्यान्डको हिउँ पग्लिएकै कारण यस्तो भएको बुझाइ थियो। अध्ययनले दक्षिण एसियामा भूमिगत जलस्रोत सुक्नु पनि त्यसको कारण रहेको देखाएको छ।'

दुई वर्ष लगाएर गरिएको अनुसन्धानमा पृथ्वी पूर्वानुमान गरिएभन्दा बढी नै पूर्वतर्फ ढल्केको निष्कर्ष निकालिएको छ।

'पृथ्वीको तौल एकतिर घट्दा अर्कोतर्फ थुप्रिन्छ। पानी एकातिर सुक्दै अर्कातर्फ थुप्रिँदै गएको छ,' अधिकारीले भने, 'मौसम परिवर्तनका कारण उत्तरी ध्रुव परिवर्तन हुने गरे पनि अहिले यो प्रक्रिया तीव्र भेटिएको छ।'

दक्षिण एसियामा व्याप्त खडेरीले पानीका मुहान सुक्दा करोडौं मानिस प्रभावित छन्। नेपालका कर्णाली तथा मध्य तथा सुदूरपश्चिम क्षेत्रमा भूमिगत जलस्रोत निरन्तर सुकिरहेका छन्। पानीको स्रोत के कारण सुक्दै गयो भन्ने विषयमा भने अध्ययन गर्न बाँकी रहेको अधिकारीले बताए।

'पहिलेभन्दा कम पानी परेर वा पूर्ववत् रूपमा पानी परे पनि बढी उपभोग भएका कारण मुहान सुकेको हुन सक्छ,' उनले भने, 'यस विषयमा अनुसन्धान हुन बाँकी नै छ।'

ठूलो हिउँभण्डार रहेको ग्रिनल्यान्ड भने जलवायु परिवर्तनका कारण पग्लिँदै आएको छ।

'ध्रुवतिर जम्मा भएको हिउँको परिमाण निकै ठूलो छ। २–४ किलोमिटर बाक्लो हिउँ पग्लिँदै पानी बन्न थालेको छ, त्यसले समुद्रको सतह बढाएको छ। यसले पृथ्वीको भार एकबाट अर्को ठाउँ सरेको छ,' अधिकारीले भने।

सन् १८९९ देखि नै वैज्ञानिकले ध्रुव र त्यसको चाल स्पष्टसँग मापन गर्दै आएका छन्। बिसौं शताब्दीसम्म पृथ्वीको भार प्रतिवर्ष केही सेन्टिमिटरका दरले पश्चिम क्यानडातर्फ ढल्किने गरेको पाइएको थियो। २१ औं शताब्दीको सुरुआतदेखि भने पूर्वतर्फ अर्थात् इङ्ल्यान्डतर्फ ढल्किन थालेको अनुसन्धानले देखाएको अधिकारीले बताए।

को हुन् अधिकारी?
नासाको क्यालिफोर्नियास्थित जेट प्रपल्सन ल्याब्रोटरीका वैज्ञानिक सुरेन्द्र अधिकारी पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चार माध्यममा छाइरहेका छन्।

लमजुङ, राइनसका अधिकारीले एरिक इभिन्ससँग मिलेर गरेको जलवायु परिवर्तनसम्बन्धी पछिल्लो अनुसन्धान निष्कर्षले उनलाई चर्चाको शिखरमा पुर्या एको हो।

'संसारभरका सञ्चारमाध्यमबाट अनुसन्धानको विषयलाई लिएर सोधजोख भएको छ। पत्रकार मात्रै नभएर सामान्य मानिसले समेत चासो देखाइरहेछन्,' अधिकारीले नागरिकसँग भने, 'नासाबाट ५० लाख अनुसन्धान भएका छन् तर हामीले पत्ता लगाएको तथ्य एक साताभित्रै सर्वाधिक चासो देखाइएका एक हजार अनुसन्धानको सूचीभित्र परेको छ।'

अनुसन्धान निष्कर्ष सार्वजनिकपछि यति धेरै चासो व्यक्त हुने अनुमान पहिल्यै गरिएको अधिकारी बताउँछन्। 'हाम्रो अनुसन्धानबारे थाहा पाएपछि एक स्विस महिलाले फोन गर्दै यो बिल्कुलै नयाँ विषय भएको बताइन्,' उनले भने, 'पछि बुझ्दै जाँदा ती गृहिणी रहिछन्।'

सन् १९९८ मा सौभाग्य स्कुलबाट एसएलसी दिएका अधिकारीले राजधानीको अमृत साइन्स कलेजबाट आइएस्सी गरेका हुन्।

'कक्षामा सधैं दाजु पहिलो र म दोस्रो हुन्थ्यौंंं,' उनले भने, 'यो क्रम आइएस्सीसम्मै चल्यो। बुबाको चाहना दाजुलाई डाक्टर, मलाई इन्जिनियर बनाउने थियो। त्यसपछि फरक विषय पढ्न थाल्यौं।'

उनले धरानको पूर्वाञ्चल इन्जिनियरिङ कलेजबाट बिई गरे। त्यसपछि बेल्जियमको फ्री युनिभर्सिटीबाट भूगर्भ इन्जिनियरिङमा एमई सकेका अधिकारीले युनिभर्सिटी अफ क्यालगेरीबाट सन् २०१२ मा विद्यावारिधि गरेका छन्।

'पिएचडी सकेर नेपाल फर्किएको दुई महिनाजति भएको थियो, नासाका काम गर्ने अवसर प्राप्त भयो, त्यसपछि यता आएँ,' अधिकारीले भने, 'यति व्यस्त भइयो, बिदा बस्न पनि पाएको छैन।'

जलवायु परिवर्तनले हिमालय क्षेत्रका हिमनदीमा परेको असरबारे अनुसन्धानमा सक्रिय अधिकारीले थपे, 'दुई वर्षपछि फेरि अनुसन्धानको नयाँ निष्कर्ष लिएर आउनेछौं।'

प्रकाशित: २६ चैत्र २०७२ ०७:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App