coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मेरो कार्यकालमा ‘म्याच फिक्सिङ’ हुँदैन् : एन्फा अध्यक्ष शेर्पा

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याच फिक्सिङ रोक्न तत्काल कानून आवश्यक रहेको बताएका छन्। उनले भने,‘ म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउनको लागि सरोकारवाला निकाय, सरकार र संसदले विशेष पहल लिनुपर्छ।’

उनले अनुशासन कमिटी र एपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतोहरु रोक्ने विश्वास समेत दिलाएका छन्। उनले भने, ‘हामी सबै खेलाडीहरुको गतिविधि नियाल्छौं, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् ? त्यसको विषयमा पनि जानकारी लिन्छौं।’

आइतबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा अध्यक्ष शेर्पाले पछिल्लो समय फुटबलमा ‘म्याच फिक्सिङ’ गरेको आरोप लागेको बताउँदै भने, ‘फुटबलमा नीतिगत पारदर्शिता हुनुपर्छ, हामी अब त्यसैमा केन्द्रित हुन्छौं, यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौं।’ एन्फामा देखिएको अनियमितता रोक्नको लागि आर्थिक नियामावली जारी गरेर पारदर्शिता कायम गर्ने उनको भनाई थियो।
अहिले म्याच फिक्सिङ रोक्नको लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको उल्लेख गर्दै उनले भने, ‘त्यो सफ्टवेयरमार्फत नेचुरल र अननेचुरल गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फत पनि हामी अघि बढ्छौं।’

उनले अहिले आर्थिक नियामावली नभएको स्पष्ट पारे। उनले थपे, ‘अब हामी आर्थिक नियामावली बनाउँछौं, यो नियामावली बन्ने वित्तिकै फुटबलमा देखिएको अनियमितता अन्त्य गर्नको लागि महत्वपूर्ण हुन्छ।’

अध्यक्ष शेर्पाले फुटबल प्रशासनलाई आईटीमा लैजाने पनि विश्वास दिलाए। तल्लो स्तरसम्मै खेलको वातावरण निर्माण गर्नको लागि सोमबार बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने अध्यक्ष शेर्पाले जानकारी दिए।

त्यस्तै ७ वटै प्रदेशमा १४ वटा खेलकुद एकेडेमी निर्माण गरिने पनि उनले जनाए। उनले भने, ‘यी एकेडेमीहरु सञ्चालनमा आएसँगै उमेर समूहका खेलाडीहरु उत्पादन गर्न पनि हामीलाई सजिलो हुन्छ, यसले राष्ट्रिय टिम बनाउन धेरै सजिलो हुन्छ।’

फुटबल खेलाडीलाई बाह्रै महिना खेल्ने वातावरण बनाउने दाबी गर्दै उनले भने, ‘बाह्रौ महिना खेल्ने वातावरण बन्नेवित्तिकै खेलाडीहरुको अभाव पनि हुँदैन, यसले खेललाई पनि गुणस्तरीयता प्रदान गर्नेछ।’
नेपाली फुटबलको विकासको लागि सबै क्लबहरुलाई आर्थिक तथा भौतिक रुपमा दिगो बनाउने आफ्नो लक्ष्य रहेको सुनाउँदै शेर्पाले भने, ‘म छुट्टीको दिनमा पनि स्तरीय लिग खेल खेलाउने तयारीमा छु।’ अझै पनि नेपाली फुटबल खेलाडीहरुले मासिक डेढदेखि २ लाखसम्म कमाउन सक्ने अवस्था रहेको बताउँदै अब एन्फाले व्यवसायिक लिग खेलाउने तयारी गरिरहेको उनले सुनाए।

एन्फाले माथिल्लो श्रेणीको प्रतियोगिता सञ्चालन नगर्दा सयौं खेलाडीहरु यतिवेला बेरोजगार भएको अवस्था कोट्याउँदै अब तत्काल लिग सञ्चालन गरेर खेलाडीहरुलाई बाँच्ने आधार तय गर्ने शेर्पाको विश्वास छ। प्रशिक्षक र रेफ्रीलाई पनि खेलमै आवद्ध भएर बाँच्न सक्ने अवस्थाआफूले सिर्जना गर्ने विश्वास दिलाए।

प्रकाशित: २३ वैशाख २०७५ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App